दुई वटा नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरी वन कार्यालयलाई बुझाएको छ।
आइतबार बिहान साढे १ बजेतिर महाराजगंज नगरपालिका-६ सानो बुटनिया गाउँस्थित उखुबारी क्षेत्रमा दुई वटा निलगाई फेला परेको हो।
गोली चलेको आवाज सुनेर प्रहरीलाई स्थानीयले खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक इश्वर लौडारीको नेतृत्वमा १२ जनाको टोली घटनास्थल पुगेको थियो। त्यो टोलीले राति नै उखुबारी क्षेत्रबाट शिवराज नगरपालिका-२ हरहवाका ५२ वर्षीय फरहान खानलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी निरञ्जन भट्टले सेतोपाटीलाई बताए।
बा १७ च ८९० नम्बरको निलो हाइलक्स गाडी नजिकै एउटा निलगाई गोली हानेर मारेको अवस्थामा फेला परेको थियो। त्यसको नजिकै उखुरबारीमा अर्कौ नीलगाई पनि मरेको फेला परेको थियो।
प्रहरीले यूपी ३२ एके ३६३० नम्बरको भारतीय नम्बर प्लेटको भ्यान र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
एसपी भट्टका अनुसार घटनास्थलबाट ६ राउन्ड गोली र त्यसमा प्रयोग भएको खोका ४ थान फेला परेका छन्।
घटनास्थलको प्रकृति र अवस्था विश्लेषण गर्दा झन्डै १२/१४ जनाको समूह शिकारका लागि गएको हुन सक्ने अनुमान गरिएको छ।
पक्राउ परेका खानलाई वन ऐन अन्तर्गत कानुनी कारबाही गर्नका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटामा बुझाइएको एसपी भट्टले बताए।