भारतको जम्मू-काश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव बुटवल -११ कालिकानगर ल्याइएको छ।
आमा, बहिनी र ज्वाईं सहित घुम्न भन्दै कश्मिर गएका सुदिपको मंगलबार आतंककारीहरूको आक्रमणमा परेर मृत्यु भएको थियो।
सुदिपको मृत्युपछि बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९:३० बजे नयाँ दिल्लीबाट लखनउ सम्म हवाई जहाजमा ल्याइएको थियो। लखनउबाट नेपाल भारत सुनौलीसम्म र सुनौलीबाट घरसम्म नेपालको एम्बुलेन्समा ल्याइएको हो।
लखनउबाट सुनौलीसम्म भारतको उत्तरप्रदेशको एक जिल्लाका डिएमले सुदीपको शव र उनीसँगै गएका आफन्तलाई लिएर आएका थिए। शव ल्याउनका लागि बुटवल -१४ का वडाध्यक्ष समेत रहेका सुदीपका काका दधिराम न्यौपानेसहितका परिवारका अन्य सदस्य सुनौली पुगेका थिए।
त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी प्रमुख रन्जितसिंह राठौर समेतको सुरक्षा टोलीले सुनौलीदेखी बुटवल घरसम्म शव ल्याइपुर्याएको प्रहरी प्रमुख राठौरले जानकारी दिए।
अहिले सुदीपको घर बुटवल कालिकानगरस्थित मनकामनापथमा शोकाकुल अवस्थामा उनका आफन्त र स्थानीयको भिड लागेको छ।
सुदीपको शव आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने बुटवल उपमहानगरपालिका ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए।