रोजगारीको प्रलोभनमा पारी साइबर दास बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले कैलाली टिकापुर घर भई काठमाडौंको ज्ञानेश्वर रातोपुल बस्ने २२ वर्षीय सन्देश शाहीलाई पक्राउ गरेको हो।
उनले एक पुरूषलाई कम्बोडियामा मासिक एकदेखि साढे एक लाखसम्म आम्दानी हुने भनेर प्रलोभनमा पारेको एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
गत माघ १६ गते काठमाडौंदेखि नेपालगञ्जको नाका हुँदै ती पुरूषलाई लखनऊ पुर्याएका थिए। त्यहाँबाट विमानमा मलेसिया ट्रान्जिट हुँदै कम्बोडिया पुर्याएको ती पुरूषको भनाइ छ।
चिनियाँले सञ्चालन गरेको अवैध कम्पनीमा बन्धक बनाएर अरूलाई क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाउने काम दिएका थिए। त्यसरी कम्तीमा १० जना भारतीय नागरिकहरूसँग केटफ बनेर एक महिनामा २० लाख भारू ठग्ने काम दिइएको थियो।
त्यसरी उनीहरूलाई १३ देखि १५ घण्टासम्म साइबर दास बनाएर श्रम शोषण गरेको ब्युरोले जनाएको छ।
प्रहरीले यसरी मानव बेचबिखन गरेको आरोपमा शाहीलाई मंगलबार पक्राउ गरेको हो। थप अनुसन्धानका लागि ५ दिनको म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।