तीनकुने घटनामा पक्राउ परेका थप ११ जना हाजिर जमानीमा छुटेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ११ जनालाई मंगलबार हाजिर जमानीमा छाडिएको एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार योसँगै हाजिर जमानीमा बस्नेहरू २१ जना पुगेका छन्।
रौतहट औराया घर भई काठमाडौंको जडिबुटी बस्ने १९ वर्षीय इरफान खान, सिन्धुपाल्चोक का ४९ वर्षीय गणेशबहादुर गुरूङ, काभ्रेका २३ वर्षीय विवेक खनाल, बाराका ३० वर्षीय उपेन्द्र शाह, दोलखाका १९ वर्षीय शरून थापा र कैलालीका १९ वर्षीय गणेश प्याकुरेल छुटेका हुन्।
उनीहरू सबै जना चैत १५ गते पक्राउ परेका थिए।
त्यस्तै रामेछापका २० वर्षीय स्टन लामा, सुनसरीका ४२ वर्षीय एलिसा राई र सुर्खत घर भई ललितपुरको गोदावरी बस्ने ३२ वर्षीय भविन्द्र बिसी पनि जमानीमा छुटेका हुन्।
उनीहरू चैत १६ गते पक्राउ परेका थिए।
त्यस्तै धनुषाका १९ वर्षीय आशिककुमार महतो र सर्लाहीका १८ वर्षीय गोविन्द राय पनि छुटेका छन्।
एसपी बोहराका अनुसार विभिन्न व्यक्तिहरूको बयान लिएर आवश्यकता परेको बेलामा हाजिर हुने गरी छाडिएको हो।
त्यसअघि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा महामन्त्री धवलश्मशेर राणालाई पनि वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो। उनको मुखमा देखिएको क्यान्सरको उपचारका लागि छाडिएको हो। उनले भारतका अस्पतालमा उपचार गर्दैछन्।
त्यसअघि प्रहरीले ९ जनालाई हाजिर जमानीमा राखेको थियो। चैत २६ गते सिन्धुलीकी १५ वर्षीया किशोरी र सिन्धुलीकै किशोरलाई छाडेको थियो।
देवबहादुर थापा मगर, राज ठाकुर, प्रसिद्द मल्ल, नवीन ढकाल, आलोक पराजुली, बरूण यादव र रञ्जित बस्ने यसअघि नै छुटेका हुन्।
चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको थियो। तर उक्त प्रदर्शन भड्किँदा दुई जनाले ज्यान गुमाएका थिए।
त्यस घटनामा संलग्नहरूलाई प्रहरीले विभिन्न समयमा पक्राउ गर्दै आएको छ। अहिले जिल्ला प्रहरी परिसरको हिरासतमा ६४ जना छन्।