पाल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पाल्पाको बग्नासकाली गाउँपालिका वडा नम्बर ४ मलेङ स्थिति भित्री कच्ची सडक खण्डमा आइतबार साँझ पौने आठ बजेतिर जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी स्याङ्जा कालिगण्डकी गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी १८ वर्षीया एलिसा सारूको मृत्यु भएको हो।
तानसेनबाट भालेबासतर्फ जाँदै गरेको लु १ ज १७२४ नम्बरको जिप उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिन जाँदा जिपमा सवार सारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा सवार पाल्पा बगनासकाली गाउँपालिका ४ भालेबासकी अन्दाजी ३६ वर्षकी निता दर्लामी गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि तानसेनतर्फ पठाइएको प्रहरीले जनाएको छ। अरू तीन जना यात्रु सामान्य घाइते भएका छन्।
जिपमा चालक सहित ९ जना यात्रु सवार रहेको र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।