दुई दशकअघिको कुरा हो।
एक दिन सञ्जीवनी लामा टिभी हर्दै थिए। नेपाल टेलिभिजनमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको संगठन 'ब्लु डाइमन्ड सोसाइटी' (नील हिरा समाज) का हालका अध्यक्ष उमेश पाण्डे र अर्का व्यक्ति शारीरिक बनावटभन्दा फरक खालको लुगा लगाएर नाचिरहेको दृश्य देखाइएको थियो।
सञ्जीवनीले आफूजस्तै हुन् कि भन्ने ठानेर टेलिभिजन कार्यक्रम हेरिरहे। नाचेको दृश्य सकिएपछि कुराकानी सुरू भयो जसमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका बारेमा चर्चा गरिएको थियो।
उक्त कार्यक्रम हेर्दा सञ्जीवनीलाई आफूजस्ता व्यक्ति अरू पनि हुँदा रहेछन् भन्ने लाग्यो। कुराकानीको अन्तिममा 'थप केही बुझ्नु परे सोसाइटीको कार्यालयमा आउनुहोला' भनिएको थियो। फोन नम्बर पनि दिइएको थियो।
सञ्जीवनी त्यस बेला काठमाडौंको स्यूचाटारस्थित अमरज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्थे। ब्लु डाइमन्ड सोसाइटीको कार्यालय लाजिम्पाटमा थियो। उनलाई त्यहाँ जान मन लाग्यो तर गइहाल्न सकेनन्।
'काठमाडौं आएर पढ्न थालेको तीन वर्ष मात्र भएको थियो। घरबाट स्कुल आउने–जानेबाहेक अन्त कतै घुमेको थिइनँ। त्यहाँ जाऊँ भनेर घरमा कसैलाई सोध्दा गाली गर्लान् भन्ने डर लाग्यो। त्यसैले जाने कुरा सोचिनँ,' उनले भने।
बरू त्यसपछि उनले यो समुदायबारे थप खोजी गर्न थाले।
'स्कुलमा मलाई कतिपय साथीहरू छक्का, हिजडा, नमूना भनेर गिज्याउँथे,' उनले भने।
सञ्जीवनीको शारीरिक रूपमा केटा थिए। स्वभाव केटीको जस्तो थियो। पहिरन पनि केटीकै जस्तो मन पराउँथे।
आफू लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा पर्ने पक्का भएपछि पनि उनले कसैलाई केही नभनी एक वर्ष बिताए।

२०६३ सालमा एसएलसी परीक्षा दिएपछि भने हिम्मत गरेर उनी ब्लु डाइमन्ड सोसाइटीको कार्यालय पुगे। त्यहाँ उनले आफ्नो जस्तो स्वभावका अरू मान्छे पनि भेटे। उनीहरूसँग कुरा भयो।
'आफ्नो सबै कुरा सुनाएपछि म पारलिंगी रहेछु भन्ने थाहा पाएँ,' उनले भने, 'उहाँहरूकै सल्लाहमा म महिलाको पहिरन लगाएर हिँड्न थालेँ। त्यसपछि नाम फेरेर सन्ध्या राखेँ।'
पुरूषका रूपमा जन्मिए पनि उनलाई आफ्नो यौनिक तथा लैंगिक पहिचान महिला नै भएको पक्का भयो।
यसबारे परिवारमा पनि सबैलाई जानकारी भयो। उनलाई घरमा नरमाइलो मान्ने हुन् कि, गाली गर्ने हुन् कि भन्ने पनि लागेको थियो। तर त्यस्तो केही भएन। घरका सबैले छोरालाई छोरीका रूपमा स्वीकार गरेर उनको खुसीमै साथ दिए।
परिवारको साथ पाएपछि सन्ध्याले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूसँग भेटघाट बढाइन्।
उनका केही साथीहरू शरीरको बनावट बदल्न हर्मोन खान्थे। उनले पनि आफू केटीजस्तो देखिन १८ वर्षको उमेरदेखि हर्मोन खान थालिन्। हर्मोनको प्रभावले केही फरक अनुभव भयो।
'शरीरमा बिस्तारै रौं कम हुँदै गए। छाला नरम बन्दै गयो,' उनले भनिन्।
बिस्तारै सन्ध्याले पूर्ण रूपमा आफूलाई महिलाकै रूपमा चिनाउन थालिन्। पढाइ पनि अघि बढाइन्।
तर सन्ध्या कागजी रूपमा पुरूष नै थिइन्, सरकारी प्रमाणहरूमा 'पुरूष' उल्लेख थियो। उनी महिला पहिचान हुने गरी नागरिकता प्रमाणपत्र बनाउन चाहन्थिन् तर त्यसो हुन सकेन। जन्मदर्ता र शैक्षिक प्रमाणपत्रमा 'पुरूष' नै भएकाले नागरिकता पनि त्यसै अनुसार बन्यो।
सन्ध्या महिलाकै स्वरूपमा कलेज जान्थिन्। कलेजमा उनका साथीहरू भने बनेनन्।
'अनुहारमा खासै रौं थिएन। पहिरन र मेकअपले केटी नै देखिन्थेँ। तर कागजातमा केटाको पहिचान छ भनेर साथीहरू फरक व्यवहार गर्थे। कलेजमा धेरै साथी भएनन्। आफ्नो समुदायका साथीसँग मात्र नजिक भएँ।'
सन्ध्या ब्लु डाइमन्ड सोसाइटीमा जोडिएपछि विभिन्न कार्यक्रमहरूमा जान थालिन्। केही दिनपछि उनले त्यही संस्थामा काम गर्ने अवसर पाइन्। काम सुरू गरेपछि आफ्नो समुदायका मान्छेलाई नजिकबाट चिन्न र उनीहरूको भावना बुझ्न पाइन्।
उनका केही साथीहरू बैंकक गएर पुरूष जननेन्द्रीय फेरे, स्तन राखे। उनीहरू दुरूस्तै केटी देखिए। सन्ध्यालाई पनि रहर लाग्यो। तर लाग्ने खर्च जुटाउने आँट आएन।
उनले पैसा कमाएर लिंग परिवर्तन गर्ने अठोट गरिन्।

अन्ततः २०७२ सालमा अरू केही साथीहरूसँग सन्ध्या बैंकक गइन्। साढे दुई लाख रूपैयाँ खर्चमा स्तन राखेर आइन्। फेरि २०७४ सालमा बैंककमै शल्यक्रियाबाट महिला जननेन्द्रीय बनाएर आइन्। त्यसमा २२ लाख रूपैयाँ खर्च भयो।
'त्यो पैसा जुटाउन परिवारजन, साथीहरू र ब्लु डाइमन्ड सोसाइटीले सहयोग गरेको थियो,' उनले भनिन्।
स्तन राख्दा खासै समस्या नभए पनि जननेन्द्रीय परिवर्तन गर्दा एक वर्षसम्म समस्या झेल्नुपरेको उनले बताइन्।
'लिंग परिवर्तन गरेपछि घाउ निको हुन एक वर्ष लाग्यो। हिँडडुल गर्न, भित्री वस्त्र लगाउन, पिसाब फेर्न निकै समस्या भयो,' उनले भनिन्, 'लिंग परिवर्तन गर्नेहरूमा धेरैजसो पिसाब थुनिने, नली सुन्निने समस्या आउने रहेछ।'
शल्यक्रियाबाट महिला भए पनि उनलाई समस्याले छाडेको छैन।
दैनिक हर्मोन खानुपर्छ। घाउ पाक्छ कि भन्ने डर हुन्छ। भावनात्मक र यौन सम्बन्धमा पनि रूचि कम हुँदै गएको उनले बताइन्।
'शल्यक्रियापछि शरीर प्लास्टिकको पुत्ला जस्तो भएको महसुस गरेँ। हरेक पाइलामा औषधि र हर्मोनको सहारामा आफूलाई जिउँदो राखेकी छु,' उनले भनिन्, 'महिला भएपछि अरूले सोध्ने प्रश्नले मन झन् भारी हुन्छ। बिहे भएको छ कि छैन, छोराछोरी कति छन्, श्रीमान के गर्छन् भनेर सोधिरहन्छन्।'
उनी यस्ता प्रश्नबाट बच्ने प्रयास गर्छिन्। निकट साथीहरू र आफन्तबाहेक अरूसँग भेटघाट र कुराकानी गर्न इच्छा गर्दिनन्। आफ्ना समुदायका साथीबाहेक अरूसँग घुलमिल हुन पनि मन गर्दिनन्।
'पहिला त मलाई सुन्दर केटी बनेपछि जीवनसाथी पनि पाइन्छ भन्ने आशा थियो। तर ३६ वर्षको उमेरसम्म पनि चित्तबुझ्दो कोही भेटेकी छैन,' उनले भनिन्, 'जीवनसाथी नभेटिएकोमा खासै दुःख लागेको छैन। तर महिला बनेर पनि आमा बन्न नसक्दा धेरै नै दुःख लाग्दो रहेछ।'
उनका अनुसार शरीरको बाहिरी बनावट महिलाको जस्तै भए पनि पाठेघर हुँदैन। महिनावारी हुँदैन। त्यसले गर्दा बच्चा जन्माउन सकिँदैन।
शरीरको बनावट फेर्ने शल्यक्रियाबारे चर्चा भए पनि यसबाट आउने समस्या बारेमा कसैले जानकारी नगराएको सन्ध्याको भनाइ छ।
'साथीहरूको लहलहैमा लागेर धेरैले सर्जरी गराउन थालेका छन्। तर स्वास्थ्य धेरै महत्त्वपूर्ण हुन्छ भन्ने बुझाउन आवश्यक छ,' उनले भनिन्, 'सर्जरीले महिलाजस्तो मात्र बनाउने हो, महिला नै बन्न सकिँदैन। मलाई लिंग परिवर्तन गरेकोमा पछुतो लागेको छ। दुई–चार दिन सुन्दर देखिनेबाहेक अरू केही अर्थ रहेन।'