गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आकलनको औपचारिक सुरूआत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट बुधबार सुरू गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा रोशी गाउँपालिका– २ नारायणटारमा आयोजित कार्यक्रममा प्रभावित परिवारको लगत संकलन कार्यक्रम सम्पन्न निस्सा वितरण गर्दै गृहमन्त्री लेखकले नागरिकको निजी आवास पुनर्निर्माणको काम सुरू भएको बताए।
गत असोजको दोस्रो सातामा गएको बाढीपहिरोले मुलुकका विभिन्न ठाउँमा क्षति पुर्याएकोमा अब त्यसको पुनर्निर्माण गर्ने काम द्रुत गतिमा सुरू भएको उनको भनाइ छ।
‘मनसुनजन्य विपदबाट निजी घरहरूको क्षति भएको छ, हामी त्यसको पुनर्निर्माणको काम सुरू गर्दैछौं,’ उनले भने, ‘आजदेखि काभ्रे जिल्लाभरि क्षति भएको घरहरूको विस्तृत क्षति आकलन गर्ने काम प्रारम्भ भएको छ।’
सो क्रममा पूर्ण रूपमा क्षति भएका घरको पुनःनिर्माण गर्ने र आंशिक रूपमा क्षति भएको घरको प्रबलीकरण (मर्मतसंभार पुनर्निर्माण) गर्ने कार्य प्रारम्भ गर्ने भनेर आफूहरू रोशी आइपुगेको लेखकको भनाइ थियो।
बाढीपहिरोबाट सबभन्दा बढी प्रभावित भएको जिल्ला काभ्रेपलाञ्चोक र त्यसमा पनि रोशी गाउँपालिका बढी प्रभावित क्षेत्र भएकाले विस्तृत क्षतिको आंकलन यहीबाट सुरूआत गरेको गृहमन्त्री लेखकले बताए।
‘अब काभ्रेपलाञ्चोक जिल्लासँगै असोजमा भएको मनसुनजन्य विपदबाट क्षति पुगेका अन्य जिल्लाहरूको क्षतिग्रस्त निजीहरू घरहरूको विस्तृत क्षतिको आकलन गर्ने कामको प्रारम्भ गर्ने भएको छ,’ उनले भने, ‘बजेटको व्यवस्थापन, कानून, नीति निर्देशिकाहरू परिवर्तन गर्नुपर्ने र प्रारम्भिक क्षतिको विवरण भर्ने काममा ढिलाइ भएको कारण विस्तृत क्षतिको आकलन गर्ने काममा ढिलाइ भएको हो।’
उनले क्षतिको आकलन सम्पन्न भएसँगै अब छिट्टै पुनर्निर्माणको काम समेत प्रारम्भ हुने बताए।
बाढीपहिरोबाट रोशी गाउँपालिकाको ५६३ निजी घरहरू क्षतिग्रस्त बनाएको गाउँपालिकाले जनाएको छ।
क्षतिग्रस्त नागरिकको घर अस्थायी वा स्थायी निर्माण गर्नका लागि प्राधिकरणबाट रकम प्राप्त गर्न अनिवार्य रूपमा गाउँपालिका र प्राधिकरणबाट खटिएका प्राविधिकबाट विस्तृत क्षति आकलन गर्नुपर्ने प्रावधान रहेको छ। रोशी गाउँपालिकामा पालिका र प्राधिकरणबाट गरी १८ जना प्राविधिक जनशक्ति परिचालन भएको छ।