अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ७५ दिनको समय दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
शपथग्रहणपछि राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाल्दै टिकटकलाई ७५ दिनसम्मको समय दिने निर्णय गरेका हुन्।
टिकटकले सो प्लेटफर्म अमेरिकालाई बेच्नुपर्ने वा प्रतिबन्ध गर्नुपर्ने बाध्यता छ।
पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा कंग्रेसबाट पारित भई हस्ताक्षर भएको यो कानुन ७५ दिने अवधिमा लागु नहुने ट्रम्पले बताएका छन्।
राष्ट्रपति भवन ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले टिकटकबारे धेरै धनाढ्यहरूले सम्पर्क गरी चासो व्यक्त गरेको पनि बताए।
सन् २०२० को पहिलो कार्यकालमा ट्रम्प आफैं पनि टिकटकलाई प्रतिबन्ध लगाउने पक्षमा थिए। यसबारे पत्रकारले उनलाई प्रश्नसमेत सोधेका थिए।
जबाफ दिँदै उनले भने, ‘किनकी म आफैले प्रयोग गर्नुपर्नेछ।’
उनले टिकटकलाई संयुक्त उद्यमको रूपमा ५० प्रतिशत अमेरिकाको र ५० प्रतिशत चिनियाँ माउ कम्पनी बाइटडान्सले सञ्चालन हुने गरी पार्टनरसिपको योजना रहेको पनि बताए। यसबारे अन्य कुरा नखुलाएको बिबिसीले जनाएको छ।
गत शनिबार साँझदेखि अमेरिकामा टिकटक चल्न छाडेको थियो। तर केही समयपछि नै ट्रम्पले यसमा कार्यकारी आदेश दिने भनेपछि पुन: सञ्चालनमा आएको थियो।
बाइडेनको प्रशासनले टिकटक चीनले जाजुसी गर्ने माध्यम र राजनीतिक हेरफेरका लागि प्रयोग गरेको बताउँदै आएको थियो।
विपक्षीहरूले भने यसलाई स्वतन्त्रताको हकको रूपमा चल्नदिनुपर्ने तर्क गर्दै आएका थिए।
टिकटकको माउ कम्पनी बाइटडान्सले यसको स्वामित्व अमेरिकालाई बेच्नुपर्ने नभए प्रतिबन्ध लगाउने भनिएको कानुनलाई बेवास्ता गर्दै आएको थियो। तर गत शुक्रबार सर्वोच्च अदालतले पनि प्रतिबन्ध लगाउन आदेश दिएको थियो। आदेशपछि टिकटक बन्द पनि भएको थियो।
तर बाइडेन प्रशासनले कार्यान्वयनको जिम्मा आउने प्रशासनले हेर्ने भन्दै पन्छिएको थियो।
टिकटकका कार्यकारी प्रमुख शाउ जी चिउ पनि ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए। उनीसँगै इलन मस्क, मार्क जुकरबर्ग र जेफ बेजोस पनि सहभागी थिए।