खानेपानी मन्त्री प्रदीप यादवले आफू नागरिकको सेवाका लागि सधैं तम्तयार रहेको र आफ्नो उद्देश्य देश विकास तथा नागरिकको हित हुने काममा खटिनु रहेको बताएका छन्।
आज पर्सा जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देश विकास र नागरिकको सेवा गर्नु नै आफ्नो प्रमुख उद्देश्य अनि लक्ष्य रहेको बताए।
'म नागरिकको सेवामा खटिएको सेवक हुँ, देशको विकास र नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष्य हो, ' उनले भने, 'मैले जति सक्छु नागरिकको सेवाका कामहरू गर्दै आएको छु। नागरिकका खानेपानीको समस्या समाधान गर्नु मेरो प्रमुख लक्ष्य हो। जो म अन्त्य गराएरै छाड्ने छु।'
मन्त्री यादवले आफू खानेपानी मन्त्री भएपछि देशका विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा स्थलगत रूपमा खानेपानीका समस्याका विषयमा जानकारी लिएको र कतिपय ठाउँहरूमा अहिले पनि नागरिकले खानेपानी डोकोमा बोक्नुपर्ने बाध्यता रहेको पाएकाले त्यसका निकट भविष्यमै समाधान गर्ने प्रण गरेको दाबी गरे।
'जलस्रोतको धनी देशमा पानी देऊ सरकार भन्दै नागरिकले आन्दोलन गर्नुपर्ने अनि डोकोमा पानी बोकेर खानुपर्ने अवस्था आफैमा दु:खद हो,' उनले भने, 'अब त्यसको अन्त्य गराउनका लागि एक घर, एक धाराको व्यवस्था गर्न म लागि परेको छु।'