दाङको दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय युवा छविलाल डाँगी छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमिल्सिनाका अनुसार भरूवा बन्दुक प्रहारबाट कुसारीको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा डाँगी शनिबार पक्राउ परेका हुन्।
घटनापछि उनी फरार थिए। 'मृतकसंगै रहेको र घटनापछि फरार रहेका भनिएकामध्य एक जनालाई हामीले नियन्त्रणमा लिएका छौं ,' एसपी तिमिल्सिनाले भने।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता विनोद खत्रीका अनुसार सुरुमा कुसारी रुखबाट लडेर घाइते भएको सूचना प्रहरीले प्राप्त गरेको थियो। उक्त सूचना कुसारीसँगै भएका साथीहरूले दिएको खत्रीले बताए।
अनुसन्धानका क्रममा कुसारीको घुँडा, तिघ्रा लगायतमा शरीरका विभिन्न भागमा चोट देखिएको थियो। कुसारीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल उपचाकार लागि ल्याइएको थियो । एसपी तिमिल्सिनाका अनुसार कुसारीमाथि माघ ३ गते दिउँसो करिब ३ देखि ४ बजेको बीचमा गाली प्रहार भएको थियो ।
उनको तुलसीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँके रेफर गरिएको थियो।
सोही राति पुर्याएको केही बेरमै बाँकेमा चिकित्सकले प्रेमबहादुरलाई मृत घोषणा गरेका थिए । माघ ४ गते प्रेमबहादुरको शव फिर्ता ल्याइएको थियो।
एसपी तिमिल्सिनाले प्रेमबहादुरको बन्दुकले गोली हानी हत्या भएको र उनको हत्याको कारण खुल्न बाँकी रहेको बताए ।
‘संगै रहेका भनिएका एक जना पक्राउ परेपनि अर्का एक जनाको खोजी भइरहेको छ,’ उनले भने ।
चोरी शिकार गर्न गएका बखत प्रेमबहादुरलाई साथीहरुले हानेको बन्दुकको गोली लागेको हो वा रिसिवी साँध्न उनीहरुले योजनाबद्ध रुपमा प्रेमबहादुर माथि गोली प्रहार गरेका थिए भन्ने कुरा पत्ता लगाउन प्रहरी अनुसन्धानमा लागि परेको छ ।