'फ्लू भ्याक्सिन' भनेको फ्लू हुनबाट जोगाउने एक किसिमको सुइँ हो। रूघा लाग्ने, खोकी लाग्ने, मौसम परिवर्तन भएर जसलाई चाँडो घाँटी खसखसाउने, आँखा चिलाउने, नाक बन्द हुने, नाकबाट पानी आउने खालका समस्याहरू हुन्छन् अथवा ज्वरो आउने हुन्छ त्यसलाई फ्लू भनिन्छ। यी सबै खालका समस्याबाट जोगिन फ्लू भ्याक्सिन लगाइन्छ।
फ्लूको कारण धेरै हुन्छ। यो विभिन्न अवस्थामा भर पर्छ। फ्लू भ्याक्सिन हामीले नेपालमा लगाउने समय भनेको सेप्टम्बरदेखि फेब्रुअरीको बीचमा हो। यो भ्याक्सिन प्रत्येक वर्ष लगाउनु पर्छ। सेप्टम्बरमा लगाएको सबभन्दा राम्रो हो।
जसले सुगर, प्रेसर, थाइरोइड लगायतका दीर्घ रोगको औषधि खाइरहेका छन्, उनीहरूले यो खोप लगाउँदा राम्रो हो। त्यस्तै जसलाई एलर्जीको समस्या छ अनि जसको उमेर ४० माथि छ भने पनि उनीहरूले यो खोप लगाएको राम्रो हो।
अहिलेको नयाँ प्रोटोकल अनुसार चाहे मुटु, किड्नी, कलेजो चाहे छाती लगायतका जुनसुकै समस्याको औषधि खाइरहेको छ भने सबैलाई यो खोप लगाउन सिफारिस गरिन्छ।
हामीले के बुझ्नुपर्छ भने फ्लू भ्याक्सिन लगाउँदैमा फ्लू नै नहुने भन्ने हुँदैन। कुनै समस्या हुनबाट जोगाउनको लागि खोप लगाउनु भनेको हुँदै नहुने भन्ने होइन। जसले खोप लगाएको हुन्छ, उसलाई केही न केही फाइदा गर्छ। तर सबैलाई फाइदा गर्छ भन्ने हुँदैन। यद्यपि लगाउँदै नलगाउनेभन्दा खोप लगाएकालाई केही फाइदा हुन्छ।
यो खोप राम्रो स्वास्थ्य संस्थामा पाउन सकिन्छ। चिकित्सकको सल्लाहमा मात्र यो खोप लगाउनु पर्छ। खोप लगाउन मन लाग्दैमा स्वास्थ्य संस्थामा गएर सिधै लगाउने भन्ने हुँदैन। अर्को कुरा सबैलाई यो खोप लगाउन जरूरी समेत छैन।
कतिपयले नबुझिकन जथाभावी खोप लगाएको पाइन्छ। यो खोपको बेफाइदा भन्ने त छैन। कहिलेकाहीँ एलर्जी हुन्छ अनि कसैलाई नमिलेर इमर्जेन्सी अस्पताल भर्ना गर्न समेत पर्न सक्छ। त्यसैले चिकित्सकसँग परामर्श नगरिकन यो खोप लगाउन हुँदैन भनिएको हो।
फ्लूका कारणले विभिन्न खालका समस्या हुन्छन्। सुरूआती ज्वरोमा सिटामोल, एन्टी एलर्जी खाएर ४८ घण्टामा निको नभएमा चिकित्सकलाई भेट्नु पर्छ। किनकि कतिपय अवस्थामा निमोनिया भएर समस्या हुनसक्छ। सिटामोलभन्दा माथिको औषधि खानुपर्ने भएमा चिकित्सकले नभनी खान हुँदैन। कहिलेकाहीँ आफूखुसी औषधि खाएर अप्ठ्यारो पर्यो भने चिकित्सकले चाहेर समेत उपचार नहुन सक्छ। अर्को कुरा गुगलले भनेकै आधारमा औषधिको प्रयोग गर्नु हुँदैन। गुगलमा लेखिएका मेडिकल टर्मिनोलोजी मेडिकल नपढेकालाई बुझ्न गाह्रो हुन्छ।
नेपालमा औषधि बेच्नको लागि गतिलो प्रोटोकल नहुँदा धेरै समस्या आइरहेको छ। सिटामोल, एन्टी एलर्जी, कफ सिरपसम्म मेडिकलमा किन्दा ठिकै हुन्छ। तर मेडिकलमै एन्टिबायोटिक किनेर खानु नराम्रो हो। एन्टिबायोटिकले निको भयो भने त ठिकै छ तर ठिक भएन भने चिकित्सकलाई समेत अप्ठ्यारो पर्छ। उसले बिरामीको समस्या पहिचान गर्न सक्दैन भने उपचार पनि नहुन सक्छ। यो/यो औषधि चिकित्सकको प्रेसक्रिप्सनबिना दिने र अर्को नदिने भन्ने कुनै उल्लेख नगरेका कारण धेरै समस्या परिरहेको छ।
(छाती रोग विशेषज्ञ डा. सुरजकुमार गुप्ता नर्भिक अस्पतालमा कार्यरत छन्।)