काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले कडाइका साथ लागेकाे छ।
काठमाडौंमा २०७४ साल वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिए पनि प्रभावकारी पालना नभएकाले त्यसलाई कार्यान्वयन गर्न ट्राफिक महाशाखाले कडा निर्देशन दिएकाे हाे।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा ‘नो हर्न’ कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाउँदै आइरहेकाे भए पनि त्यति प्रभावकारी हुन सकिरहेको थिएन।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिनाेद घिमिरेले आर्थिक वर्ष ०८०/०८१ मा नाे हर्नमा १० हजार १२३ जना र आर्थिक वर्ष ०८१/०८२ काे पुस सम्ममा मात्रै १० हजार १९९ जनालाई कारबाही गरिएकाे बताए।
ट्राफिक प्रहरीले याे आर्थिक वर्षकाे साउनमा १५ सय १८, भदौमा ४ सय २७, असोजमा २ सय ६२ कात्तिकमा २ हजार ५ सय ५२, मंसिरमा २८ सय ९० र पुसमा २५ सय ५० जनालाई 'नाे हर्न'मा कारबाही गरिसकेकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख घिमिरे भन्छन्, 'सवारीको गम्भीर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ। यस्ता जोखिमयुक्त मोडहरूमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ।'
ट्राफिक प्रहरीले ठूला र मालबाहक सवारी साधनमा प्रेसर हर्न बजाउँदै अरूलाई डिस्टर्ब गर्ने सवारी साधनहरूलाई समेत निगरानीमा राखेकाे छ।
अनावश्यक रूपमा हर्न बजाए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ काे दफा १६४ (ग) अनुसार ट्राफिक प्रहरीले पहिलाे पटक हर्न बजाएमा ५०० दाेस्रो पटक १ हजार र तेस्राे पटक कारबाही परेमा १५०० सम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ।
‘नो हर्न’ को नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शववाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा भने लागू हुने छैन।
ट्राफिक प्रहरीले उपत्यकामा सञ्चालन हुने सवारी साधनकाे प्रदुषण समेत कडाइसाथ चेक गरी कारबाही अभियान सञ्चालनकाे तयारीमा रहेकाे जनाएको छ।
यात्रु र सवारी चालकलाई जनचेतनाका माध्यमबाट सुरक्षित र दुर्घटना न्यूनीकरण गर्न विशेष अभियान समेत सञ्चालन गर्ने जनाएको छ।