नेपालका अग्रणी स्त्री तथा प्रसूति रोग विशेष डा. भोला प्रसाद रिजाललाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले सम्मान गरेको छ।
अस्पतालको २८ औं वार्षिक साधारण सभाको अवसरमा उनलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को 'संस्थापक तथा संरक्षक' विशेष सम्मानबाट सम्मानित गरेको हो।
डा. रिजाललाई काठमाडौंको धुम्बाराहीस्थित होटल रामादा-अकामामा आयोजित विशेष समारोहमा अस्पतालका सञ्चालकहरू, शेयरधनीहरू तथा उच्च व्यवस्थापनका माझ ॐ हस्पिटलका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले माला तथा दोसल्ला पहिर्याएर कदरपत्र हस्तान्तरण गरी सम्मानित गरेका थिए।
अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले सम्मान पत्र वाचन गरेका थिए भने अस्पतालका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतले माला तथा खादा पहिर्याएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
ॐ हस्पिटल आफूले जन्माएको सन्तान सरह लाग्ने भएकाले आफूलाई अत्यन्त प्यारो लाग्ने गरेको र यसका हरेक सुख दु:खमा आफू जानकार रहेको भन्दै डा. रिजालले यसको हितमा सधैं साथ रहेको र भविष्यमा पनि रहिरहने जिकिर गरे।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनसँगै नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रबाट उनकै नेतृत्वमा स्थापना भएको तत्कालीन ॐ नर्सिङ होम पछि २०५२ सालदेखि ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा रूपान्तरित भई विगत ३५ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।