अदालतले बोलाएको समयमा बयान दिन नगएपछि एक जना वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन्।
डिभिजन वन कार्यालय दाङ (देउखुरी) ले राजपुर गाउँपालिका–७ का वडाध्यक्ष पुष्कर वलीसहित उनका सहोदर दाइ घनबहादुर वली र घनबहादुरका छोरा तिलक वलीलाई मंगलबार पक्राउ गरेको हो।
वन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी छोटेलाल चौधरीका अनुसार जिल्ला अदालतले तोकेको समयमा बयान दिन उपस्थित नभएकाले उनीहरूलाई मंगलबार नियन्त्रणमा लिनुपरेको हो।
उनका अनुसार सामुदायिक वनको काठ काटेको आरोपमा उनीहरूलाई बयानका लागि बोलाइएको थियो। मंगलबार ढिलाइ भएकाले अब उनीहरूलाई बुधबार पुनः अदालतमा पेस गरिने भएको छ।
आर्थिक वर्ष २०७९/२०८० मा सिक्टा गाउँदेखि भित्री सिक्टासम्म विद्युत तार विस्तार गर्ने क्रममा राप्ती किनार सामुदायिक वनमा तारमुनि परेका साल, ढौंटी, खयर प्रजातिका करिब ७४ वटा रूख वडाध्यक्षले वन कार्यालयसँग समन्वय नगरी काट्न लगाएको आरोप छ।
त्यसरी मनोमानी रूख काटेर नस्ट गरेको भन्दै उनीहरू विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उजुरीपछि अख्तियारले छानबिन गरी पठाउन पत्राचार गरेको थियो।
अनुसन्धान क्रममा रूख काटिएको प्रमाण फेला परेको थियो।
यो मामिलामा वडाध्यक्ष वली, उनका दाइ र भतिजसहित राप्ती किनार सामुदायिक वनका अध्यक्ष पदमबहादुर खड्का, भूपलाल बोटे र बालाराम कुमाल पक्राउ परेका थिए। वडाध्यक्ष वलीहरूलाई भने आवश्यक परेका बेला बयानका लागि उपस्थित हुने भनेर छाडिएको थियो। तर तोकेको समयमा बयानका लागि उपस्थित नभएपछि पुनः नियन्त्रणमा लिनुपरेको वन अधिकृत चौधरीले बताए।
'तीन जनालाई बयानका लागि अदालतमा बोलाउँदा आलटाल गरे। फोन सम्पर्कमा आएनन्। त्यसैले वन कार्यालयका पदाधिकारी र प्रहरीसहित सिक्टा पुगेरै नियन्त्रणमा लिनुपरेको हो,' चौधरीले भने।