स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताएका छन्।
चालु आर्थिक वर्षका लागि मन्त्रालय आफैले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन बिरामीहरूको उपचार निःशुल्क गर्नेगरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाइ थियो।
मंगलबार अपराह्न जलन पीडितहरूसँगको छलफलमा उनले जलन पीडितका लागि उपचार सेवाको बिस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको पनि बताए।
हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरेको भए पनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्याउने योजना तय गरिएको पनि मन्त्री पौडेलले बताए।
उनले भने, अहिले हामीले यो ८ वटा अस्पताललाई नै परिपत्र गरिएको छ कि कस्मेटिक बाहेक जलनका सबै बिरामीको उपचार शुल्क मन्त्रालयले व्यर्होर्छ। त्यसअनुसार व्यवस्थापन गर्नू/गराउनू भनेर हामीले सम्बन्धित अस्पतालहरूलाई परिपत्र गरिसकेको अवस्था छ। यो वर्षका लागि मन्त्रालय आफैले स्रोत सुनिश्चित गरेको छ। आगामी वर्षदेखि यो बजेट नै विनियोजन भएर आउँछ।’
मन्त्री पौडेलले जनशक्तिको अभावमा पनि नेपालमा जलनका बिरामीहरूको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पुर्याउने सम्भावना नभएको पनि स्पष्ट पारे।
यस्तै पीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेहरूका लागि निःशुल्क उपचारको व्यवस्था गरिदिएको भन्दै जलन पीडितहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन्।
मन्त्रालयमा गएका जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, सांसद विन्द्यवासिनी कंशाकार सहितका जलन पीडितहरूले विगतमा पटक पटक उठाउँदै आए पनि जलन पीडितका पक्षमा महत्वपूर्ण निर्णय गरेको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिएका हुन्।
आफै जलन पीडित सांसद कंशाकारले भनिन्, ‘विगतमा मैले धेरै स्वास्थ्य मन्त्रीसँग भेटेर कुरा गरेँ। संसदमा प्रस्ताव पनि दर्ता गराएँ। तर सुनुवाइ भएको थिएन। तर, अहिले स्वास्थ्य मन्त्रीज्यूले हामीले लामो समयदेखि उठाएको जलन पीडितका पक्षमा निर्णय गरिदिनुभयो। यहाँलाई धन्यवाद।’
जलन पीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएका अभियान्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताए।