काठमाडौं महानगरपालिकाको बाल उद्धार कार्यदलले दोस्रो चरणको बाल उद्धार कार्यक्रमको सुरूवात गरेको छ।
मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित आईएस मम एण्ड खाजाघरमा जोखिमपूर्ण अवस्थामा श्रममा संलग्न गराइएको अवस्थामा १४ वर्षीय बालकको उद्धार गरेको हो।
काठमाडौं महानगरपालिका बागमती श्रम तथा रोजगार कार्यालय सेवा,बालबालिका खोजतलास सेवा (१०४) को संयुक्त टोलीले उद्धार गरेको हो।
उद्धार पश्चात बालकलाई अस्थायी संरक्षण मनोविमर्श स्वास्थ्य उपचार लगायतका सेवा प्रदान गर्ने गरी अस्थायी संरक्षणमा सिफारिस गरेको महानगरपालिकाले जनाएको छ।
योसँगै काठमाडौं महानगरपालिकाले २५ बालक र २७ बालिका गरी कुल ५२ जना बालबालिकाको उद्धार गरेको छ।
महानगरपालिकाले पहिलो चरणमा उद्धार भएका सबै बालबालिकाको घटना व्यवस्थापन कार्य सकाएपछि दोस्रो चरणको बाल उद्धार कार्य सुरू गरेको हो।