नक्कली कागजात तयारी पारेर कोशीका मन्त्री समेतको मिलेमतोमा जापान पुगेको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार साँझ बागबजारबाट दुई जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।
प्रहरीले गुडी राई र नवीन राईलाई पक्राउ गरेको बताएको छ।
उनीहरूले नक्कली परिचय पत्र बनाउन सहयोग गरेको प्रहरीको भनाइ छ।
योसँगै यस घटनामा पक्राउ पर्नेको संख्या ९ पुगेको छ।
जापानमा हुने इन्टरनेसनल कन्फेरेन्स अन ओपन एक्सेस ठू कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका लिलाबल्लभ अधिकारीसहित चार जना कात्तिक ११ गते हिँडेका थिए।
उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।
नेपालको अध्यागमन विभागले उनीहरूमाथि अनुसन्धान गर्न भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो। त्यसपछि थप तीन जना, हेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो।
परिसरले सुरूमा यसको अनुसन्धान कीर्ते कसुरमा अघि बढाएको थियो। तर पूर्वमन्त्री एवं कोशी प्रदेश सांसद समेत रहेका अधिकारी पक्राउ परेसँगै मानव बेचबिखन तथा ओसारपसार कसुरमा पनि अनुसन्धान अघि बढाएको हो।