ललितपुरको मितेरी सहकारीको करोडौं बचत हिनामिना गरेको आरोपमा व्यवस्थापक ज्योति गुरूङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एसपी होविन्द बोगटीले केही दिनअघि उनीहरूविरूद्ध रेड कर्नर नोटिस जारी भएको सेतोपाटीलाई जानकारी दिए।
महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिना भएको थियो।
रेड कर्नर नोटिस जारी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन्।
यद्यपि धनराजले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको थियो। ज्योति र धनराजको सम्बन्धविच्छेद २०७६ सालमा भए पनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू फेला परेका थिए।
यो सहकारीका अध्यक्ष कुम्मराज गुरूङ हुन्। उनले संसदीय विशेष छानबिन समितिमा पनि बयान दिएका थिए। बयानका क्रममा उनले ज्योति व्यवस्थापक रहेको र उनले सहकारीको बचत रकम नै लगेको बताएका थिए।
यो पनि: एक महिना अघिसम्म सहकारीमा श्रीमती ज्योतिको ऋण तिर्दै थिए धनराज गुरूङ