१४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक जना निजी विद्यालय सञ्चालक पक्राउ परेका छन्।
यो घटना बाँकेको हो।
गत कात्तिक १४ गते नेपालगञ्जको एक होटलमा लगेर विद्यालय सञ्चालकले छात्रालाई बलात्कार गरेको आरोप छ। बलात्कार आरोपमा कोहलपुर नगरपालिका वडा नम्बर २ का ४२ वर्षीय विद्यालय सञ्चालक पक्राउ परेका छन्।
छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर आफूमाथि विद्यालय सञ्चालकले बलात्कार गरेको जाहेरी दिएकी थिइन्।
जाहेरी आएपछि आरोपित व्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक नवीन चापागाईंले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
त्यस्तै कोहलपुर नगरपालिका २ बर्दहवाका २४ वर्षीय सन्दीपकुमार थारू पक्राउ परेका छन्।
१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा थारूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गत कात्तिक १९ गते राति करिब ११ बजेतिर खेतमा पुर्याएर आफूलाई बलात्कार गरेको युवतीको भनाइ छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टराईका अनुसार बुधबार जाहेरी आएपछि थारूलाई पक्राउ गरिएको बताए। यस घटनामा पनि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।