युट्युब भ्लगर रतन कार्कीले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्ष्य गर्दै दिएको अभिव्यक्तिमा माफी मागेका छन्।
काठमाडौंको दशरथ रंगशालामा साफ च्याम्पियनसिप नेपाल-बंगलादेशबीच फाइनल खेलमा २-१ ले नेपाल पराजित भएको थियो।
पराजित भएपछि जापानमा रहेका रतनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली रंगशालामै भएको र 'आक्रमण गर्ने' भन्ने खालको अभिव्यक्ति दिएका थिए।
यसको भिडिओ भाइरल बनेपछि नेपाल प्रहरीको साइबर ब्युरोले उनीमाथि निगरानी बढाएको थियो। यस्तै प्रधानमन्त्री ओलीमाथि उच्छृंखल टिप्पणी गर्नेहरूमाथि पनि प्रहरीले निगरानी बढाएको थियो।
यसबारे समाचार बाहिरिएपछि उनले सामाजिक सञ्जालबाट माफी मागेका हुन्।
'हिंसात्मक शब्द बोल्न पुगेछु, त्यसका लागि सबैसँग क्षमा चाहन्छु,' उनले लेखेका छन्, 'दर्शकलाई हँसाउने उद्देश्यले बोल्दा कमीकमजोरी भएको हो। कुनै पनि राजनीतिक व्यक्तिसँग वा कुर्सीमा बसेका कसैले मलाई नै प्रहार गर्यो जस्तो चाहिँ नलिनु। किनकी मैले व्यक्तिगत रूपमा यसलाई सक्काउनुपर्छ भन्ने देखिए पनि मेरो आसय त्यस्तो थिएन। त्यस्तो भनेर मैले गलत गरेँ।'