धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा ८० बिघा आँपबगैंचा फाँडेर ‘सौर्य प्लान्ट’ स्थापनाको तयारी भएको छ।
काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा मुख्य कार्यालय रहेको ‘जन्दादेवी सोलार प्रालि’ लाई जग्गा भाडामा दिन थालेपछि किसानहरू आलोचनाको निशानामा परेका छन्।
चित्रपुर आँपको पकेट क्षेत्र हो। सोलार प्लान्टका लागि आँपका करिब ६ हजार बोट काटिने छन्।
सरकारी अधिकारी र केही व्यक्तिले सौर्य प्लान्ट स्थापना रोक्ने प्रयास गरेका छन्। यस्तो प्रयासमा लागेकाहरूले पर्यावरण विनाशको चिन्ता गरेका छन्।
उता बगैंचावाला किसानहरूले सोलार प्लान्टका लागि जग्गा भाडामा दिनुलाई ठूलो अवसर मानेका छन्।
कुल ५० मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने आयोजनाका लागि केही किसानले ३० वर्ष जग्गा ठेक्कामा दिने सम्झौता गरिसकेका छन्। केही किसान ठेक्का प्रक्रियामा छन्।
प्रारम्भमा प्रतिकट्ठा वार्षिक ८ हजार रुपैयाँ दिने र दुई–दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने सम्झौता छ।
बगैंचा फडानी गरेर जग्गा भाडामा नदिन अभियान चलाउनेप्रति किसानहरू क्रुद्ध छन्। वातावरणको कुरा गरेर केही व्यक्तिले आफूहरूलाई अवसरबाट बञ्चित गर्न खोजेको उनीहरूको आरोप छ।
‘आँप नबिकेर किसानले हरेक वर्ष क्विन्टलका क्विन्टल बजारमै फाल्नुपरेको छ। कहिलेकाहीं ठेक्का लिने व्यापारी पैसा नदिई भाग्छ,’ स्थानीय आँपकिसान देवेन्द्र सिंह भन्छन्, ‘हरेक वर्ष हावाहुरी र असिनाले क्षति गर्छ। किसानले राहतका नाममा एक रुपैयाँ पनि पाउँदैन।’
उनका अनुसार यसैकारणले किसानहरू निराश भएका छन्।
उनको प्रश्न छ, ‘हामी कंगाल भइरहनुपर्ने हो? आफ्नो जग्गा ठेक्कामा (भाडामा) दिन नपाउने हो? हामी भोकै बसेर पर्यावरण जोगाउनुपर्ने हो?’
आँप बगैंचाबाट किसानलाई नोक्सान हुँदा किसानका पक्षमा कहिल्यै नबोल्ने व्यक्तिहरू अहिले पर्यावरण भनेर कराउन थालेको उनको आरोप छ।
‘मिहिनेत गरेर बिरुवा लगायौं, हुर्कायौं, फलायौं। यी रूख काट्नुपर्दा हामीलाई भन्दा धेरै दुःख कसलाई लागेको होला र,’ उनले भने, आँपबगैंचा हाम्रो गाउँको पहिचान पनि हो तर पहिचानले पेट चलेन। बालबच्चालाई खुवाउन र पढाउन ऋण गर्नुपरेको छ। ऋण तिर्न जग्गा बेच्नुपर्ने भइसक्यो।’
देवेन्द्र चित्रपुरका सबैभन्दा पुराना आँपकिसान हुन्। गाउँमा सबैभन्दा पहिले उनका बाजे रघुनन्दन महतोले आँपबगैंचा बनाएका थिए। अरू किसानले उनको अनुकरण गरे।
बटेश्वर गाउँपालिका–१ मा मात्रै कम्तीमा पाँच सय बिघा जमिनमा आँपबगैंचा रहेको अनुमान छ।
यति बेला देवेन्द्रको पाँच बिघा जमिनमा आँपबगैंचा छ। यसमध्ये दुई बिघा जमिन सौर्य प्लान्टले भाडामा लिन लागेको ८० बिघा क्षेत्रफलमा पर्छ।
उनका अनुसार दुई बिघाको आँपबाट वर्तमान मूल्यमा उनी मुस्किलले साढे दुई लाख रुपैयाँ पाउँछन्। यति जमिन चारपटक जोत्न ३२ हजार रुपैयाँ खर्च हुन्छ। बोटमा ‘कपर पेन्ट’ गर्न वर्षको २२ हजार रुपैयाँ खर्छ हुन्छ।
मलखादमा करिब १५ हजार रुपैयाँ लाग्छ। वर्षको चारपटक विषादी छर्किनु पर्छ। फुल्नुअघि नै व्यापारीले बगैंचा किनेन भने विषादीमै ८० हजार रुपैयाँ खर्च हुन्छ।
यसपालि दुईपटक देवेन्द्रले नै विषादी छरे। त्यसपछि दुईपटक व्यापारीले छर्यो।
यसपालि उनले दुई बिघाबाट सबै खर्च कटाएर मुस्किले साढे एक लाख रुपैयाँ बचाए। उनी भन्छन्, ‘अरू किसानले दुई बिघाबाट मेरो जति आम्दानी गर्दैनन्।’
दुई बिघा जग्गा सोलार प्लान्टलाई भाडामा दिँदा देवेन्द्रले श्रम र खर्चबिना पहिलो वर्षमै सोझै ३ लाख २० हजार रुपैयाँ पाउँनेछन्।
उनले आँपखेतीमा भोग्नु परेका दुःखका कथा समेत सुनाए। पोहोर साल चित्रपुरमा ठूलो हावाहुरीसहित असिनापानी आयो। त्यसले झन्डै आधा आँप झरेर बर्बाद पार्यो। केही रूख पनि ढाल्यो।
सरकारी मान्छे हेर्न आए। क्षतिको जानकारी लिए तर किसानले केही पनि पाएनन्।
‘सांसद, सिडिओ (प्रमुख जिल्ला अधिकारी) कृषिका ठूला कर्मचारी सबै आएका थिए। राहत दिन्छौँ भनेर के के लेखेर लगेका थिए तर एक रुपैयाँ पनि आएन,’ देवेन्द्रले भने, ‘अनुगमनमा गएको भनेर सबै कर्मचारी र नेताले भत्ता खाए होला तर यहाँका किसानले केही पनि पाएनन्।’
उनले यसपालि पनि क्षति बेहोर्नुपर्यो। हावाहुरीले २५ प्रतिशत आँप झारेको उनले बताए। जेठमा खडेरीले मालदह र बमोई आँप झर्यो।
‘खडेरीले ८० प्रतिशत मालदह र ५० प्रतिशत बमोई आँप बर्बाद भयो। सिँचाइको सुविधा भएन,’ उनले भने, ‘बचेको आँप पनि सस्तो भाउमा बेच्नुपर्यो।’
भारतीय आँपको निर्बाध आयातले नेपाली किसान मर्कामा पर्ने गरेको देवेन्द्रको भनाइ छ।
‘आँप किन्न भारतबाट पनि व्यापारी आउँथे। मेरै घरमा बस्थे,’ उनले भने, ‘अहिले त भारतीय आँप हिमालसम्म पुग्छ। हाम्रो आँप भन्दा सस्तोमा पाइन्छ।’
भारतीय आँप सस्तो हुनुको पनि खास कारण छ। उनका अनुसार भारतमा किसानले डिजेलमा ८० प्रतिशत अनुदान पाउँछन्। मलखाद र विषादी पनि सस्तो छ। यसरी भारतीय किसानको लागत कम पर्ने भएपछि आँप सस्तो हुन्छ।
नेपालमा मल र विषादी पनि भारतबाटै आउने भएकाले महँगो पर्छ। सरकारको कुनै अनुदान छैन।
देवेन्द्र भन्छन्, ‘हाम्रो लगानी भारतका किसानको भन्दा दोब्बर हुन्छ। सरकारलाई कर बुझाउनुपर्छ तर सरकारले कुनै सहयोग गर्दैन।’
किसानप्रति नेपाली राज्य गैरजिम्मेवार बनेको उनको आरोप छ।
उनको प्रश्न छ, ‘हामीप्रति राज्यको कुनै जिम्मेवारी छैन? किसानलाई राज्यको कुनै पनि सहयोग चाहिँदैन?’
खास गरी मधेश प्रदेशका किसानले राज्यको सहयोग नपाएको देवेन्द्रको गुनासो छ।
‘६ वटा प्रदेशमा फलफूल विकास कोष छ, मधेशमा छैन। अरू प्रदेशका किसानले प्रोत्साहन पाएका छन्,’ उनको प्रश्न छ, ‘मधेशका किसानले किन पाएनन्? हामीमाथि किन भेदभाव?’
देवेन्द्रका अनुसार तराईका किसानहरू तरकारीखेती र अन्नखेती छोडेर आँपखेतीमा लाग्दै छन्। धनुषाको ढल्केवरबाट पूर्वतर्फ सप्तकोशी नदीसम्म आँपखेती विस्तार हुँदै छ।
भारतीय आँपको आयात पनि हरेक वर्ष बढ्दै छ।
‘नेपालका किसानले राज्यबाट सुविधा पाउँदैनन्। कोल्ड स्टोर छैन। उद्योगधन्दा पनि छैनन्,’ उनी भन्छन्, ‘आउने दिनमा आँपले बजार पाउन मुस्किल पर्छ अनि किसानलाई दशा लाग्छ।’
यस्तो अवस्थामा सौर्य प्लान्ट चित्रपुरका किसानका लागि राम्रो अवसर हो भन्ने देवेन्द्र ठहर छ।
‘हामीले बिरुवा लगाएर अक्सिजन उत्पादन गरिदियौँ। स्वच्छतामा योगदान गर्यौं तर राज्यबाट के पायौं?’ प्रश्न गर्दै उनले भने, ‘यहाँ जंगली जनावरले पनि दुःख दिन्छ। जिल्लादेखि केन्द्रसम्मका नेताहरूकहाँ धाउँदा पनि राहत मिलेन। मलाई १५ लाख (रुपैयाँ) कर्जा छ। भाडामा दिन नपाउने हो भने ऋण तिर्न जग्गा बेच्नुपर्छ। पर्यावरणले किसानको ऋण तिर्दैन।’
यसपालि चित्रपुरका किसानले आँपमा औंसा किराको प्रकोप पनि झेल्नुपर्यो। असार अन्तिम सातादेखि साउन दोस्रो सातासम्ममा औंसा किराले आधाभन्दा बढी आँप झार्यो।
चित्रपुरका किसान रामदायाल महतो र कपिलदेव महतो पनि देवेन्द्र जस्तै पीडित किसान हुन्। औंसा किराले आँप झारेपछि यसपालि उनीहरूको आम्दानी शून्य भयो।
यसरी आँपखेतीमा हैरान भएका चित्रपुरका किसानहरू सोलार प्लान्ट कम्पनीले चाहे जति जग्गा भाडामा दिन तयार छन्। प्रतिकट्ठा ८ हजार रुपैयाँ भाडा पाउने भएपछि किसानहरूले यसलाई ठूलो अवसर मानेका हुन्।
कम्पनीले केही परिमाण बिजुली निःशुल्क दिने पनि किसानहरूको भनाइ छ। सोलार प्लान्टमा आवश्यक जनशक्ति भर्ना गर्दा जग्गा भाडामा दिने किसानलाई प्राथमिकतामा राख्ने आश्वासन छ।
जल्दादेवी सोलार प्रालिका इन्जिनियर अभिषेक पराजुलीका अनुसार प्लान्टबाट उत्पादन हुने सौर्य विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्ने छ। कम्पनीलाई प्राधिकरणको ढल्केवर सब स्टेशननजिक हुने गरी चित्रपुरका किसान मात्र जग्गा भाडामा दिन तयार भएको उनले बताए।
उनले भने, ‘यहाँको जग्गा हामीलाई निकै महँगो पर्यो तर आँप बगैंचाको जग्गा लिनु हाम्रो पनि बाध्यता भयो।’
उनले सौर्य प्लान्टले पर्यावरणमा असर नपर्ने जिकिर गरे।