आफ्नो घरमा पानी तान्ने चापाकल नहुँदाको हलसैरदेवी सदालाई बिहान उठ्नेवित्तिकै तनाव हुन्थ्यो। छिमेकको कलमा पानी भर्न जाँदा कति गाली खाइने हो भन्ने पीरले उनले रित्तो गाग्री उठाउँथिन् र गह्रौँ पाइला लिएर चापाकलतिर लाग्थिन्। कसैगरी उनले कथित उपल्ला जाति भनिनेहरूको सामान छोइन् भने अनेक गाली भेट्नुपर्थ्यो। अपमान भरिएको मन र पानी भरिएको गाग्री लिएर घर फिर्नुपर्थ्यो।
सात/आठ वर्ष अघि उनको घरमै कल राखे। दिनदिनैको गाली खान त परेन तर कथित उपल्लो जातको पछौटेपनको सिकार हुनु परिरह्यो। छिमेकीकहाँ होस् वा गाउँको चियापसल/ होटलमा जाँदा उनीहरू अलग्गै बसेर खानुपर्थ्यो। पैसा तिरेपनि भाँडा आफै माझ्नुपर्थ्यो।
तिनै हलसैरदेवीको परिवार अहिले होटल चलाउँछ। दुई वर्ष भयो होटल चलाएको। यो होटलमा खाना खान पालो कुर्नुपर्छ। खान आउनेले जात सोधेको उनलाई थाहा छैन।
पहिले उनीमाथि छुवाछुत र विभेद गर्नेहरू पनि उनको होटलमा आएर उनले पकाएको खान्छन्। त्यतिखेर सदाको मनलाई शान्ति मिल्छ।
हलसैरदेवीलको लहान नगरपालिका–१५, हात्तीदहमा छ। हात्तीदह चुरे पहाड फेदको ‘कोइरालो खोला सामुदायिक वन’ भित्रको सिमसार क्षेत्र संरक्षण गरी विकास गरिएको ‘इको टुरिजम’ क्षेत्रमा छ।
वन क्षेत्रमा सालको एउटा रूख वरिपरि फलामको खाँबाखुट्टीमा जस्तापाताको बार लगाएर होटेल संरचना बनाइएको छ। होटलको नाम हो ‘ट्री हाउस’। वनमा कंक्रिटको संरचना बनाउन नपाउने नियमका कारण फलाम र जस्तापाताको संरचना बनाउनु परेको हो।
भुइँ तलामा खानाका परिकाहरू बन्छन्। माथिल्लो तलाको आधाभाग खुला छ। ग्राहकले इच्छाअनुसार भुइँतला र माथिल्लो तलमा बसेर खान पाउँछन्।
हलसैरदेवीका छोरा बद्रीका अनुसार होटलको संरचना तयार गर्न कम्तीमा ८ लाख रुपैयाँ खर्च भयो।
उनले भने, ‘त्यो बेला यहाँ (हात्तीदहमा) बिजुली थिएन। जेनेरेटर भाडामा ल्याएर वेल्डिङको गर्नुपर्दा अलिक बढी खर्च भयो।’
बद्रीका अनुसार होटलमा शाकाहार र मांसहार दुबै किसिमका परिकार पाइन्छ। दिउँसो शाकहारीका लागि मधेशका प्रख्यात परिकार आलुचप, कचरी, चना, मुरही बनाइन्छ।
मांसहार मनपराउनेका लागि माछा र मासुका परिकार बन्छन्।
सबै परिकार हलसैरदेवी र उनका परिवारजनले बनाउँछन्। उनीहरू कसैले पनि कुनै तालिम लिएका छैनन्। आफ्नै तरिकारले परिकार बनाउन जानेका हुन्।
‘सुरुमा त अप्ठ्यारै भयो। आफ्नै तरिकारले बनाउँदै सिक्यौं,’ हलसैरदेवीले भनिन्, ‘घरमा पकाउने र होटेलमा पकाउने तरिका अलिक फरक हुँदो रहेछ। हाम्रो होटलमा खाने सबैले मन पराउनुहुन्छ।’
कतिय ग्राहक आफै माछामासु लिएर आउँछन् र पकाउन दिन्छन्। ग्राहकको इच्छाअनुसार यस्तो सेवा पनि दिने गरेको बद्रीले बताए।
पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गरेको हात्तीदहमा एउटा सभाहल पनि छ। त्यहाँ हुने कार्यक्रमका सहभागीहरूका लागि पनि ‘ट्री हाउस’ मै चियाखाजा र खाना बन्छ।
बद्रीका अनुसार चाडपर्व र मानिसहरू घुम्न आउने समयमा दैनिक कम्तीमा २० हजार रुपैयाँको व्यापार हुन्छ। कहिले त दिनमै ८० हजार रुपैयाँको व्यापार पनि भएको छ। अहिले अफ सिजन हो तैपनि दिनको कम्तीमा ५ हजारको बिक्री हुन्छ।
उनी भन्छन्, ‘दिनको ५ हजार (रुपैयाँ) भन्दा कमको व्यापार त भएको छैन। व्यापार बढ्दा फाइदा पनि बढ्छ।’
यो होटल बद्रीले एकैचोटी खोलेका होइनन्।
‘कोइरालो खोला सामुदायिक वन’ को सिमसार हात्तीदहमा ‘इको टुरिजम’ सुरु भएपछि करिब ५ वर्षअघिदेखि घुम्न जानेको संख्या ह्वात्तै बढ्यो। त्यही मौकामा बद्रीले हात्तीदह क्षेत्रमा त्रिपाल टाँगेर बिस्कुट, चाउचाउ, चटपटे, पानी इत्यादि खानेकुरा बेच्न थाले।
केही दिनपछि आमाबुबालाई पसलमा राखेर आफू अर्को काममा लागे।
बिस्तारै पर्यटकहरूका लागि खाजा र खान चाहिने देखियो। त्यही आवश्यकताको मौकाका बद्रीले २०७८ सालमा होटल चलाउने विचारले आमाबुबासँग सल्लाह गरे।
त्यसैअनुसार अघि बढेर एउटा सानो होटल चलाउन अनुमति लिए। तुरुन्तै काम सुरु गरे। होटल खुल्यो।
उनले भने, ‘पर्यटकलाई सुविधा हुन्छ, हामीलाई पनि आम्दानी हुन्छ भनेर होटेल खोलेका हौं। यहाँ होटेल खोलेर हामी बस्न थालेपछि पर्यटकलाई देखाउन राखिएका वन्यजन्तुको चोरी पनि रोकियो।’
आमाबुबा होटल चलाउँछन्। बद्री लहान नगरपालिका १६ नम्बर वडा कार्यालयमा ‘सहायक कम्प्युटर अपरेटर’ पदमा कार्यरत छन्।
‘कोइरालो खोला नमुना समुदायिक वन तथा हात्तीदह सिमसार पर्यटकीय क्षेत्र संरक्षण समिति’ का अध्यक्ष रुद्रनारायण चौधरीका अनुसार यहाँ दैनिक चार/पाँच सय मानिस घुम्न आउँछन्। सिजनमा निकै बढी हुन्छन्, भिडभाड हुन्छ।
डिभिजन वन कार्यालय, लहान नगरपालिका, वन तथा भूसंरक्षण विभाग, चुरे राष्ट्रपति तराई मधेस विकास समिति र बृहत् जलाधार कार्यालयको सहयोगमा हात्तीदहलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको हो।
डेढ दशकअघि कोशी टप्पुबाट आएको एउटा हात्तीले यस क्षेत्रमा दुई जनालाई मारेको थियो।
संरक्षण समितिका अध्यक्ष चौधरीका अनुसार मानिस मारिएपछि गाउँका बासिन्दा र प्रहारीहरू हात्ती खोज्न सामुदायिक वनभित्र पसे। खोज्दै जाँदा सिमसार क्षेत्रभित्र एउटा दहमा हात्ती बसेको देखे। त्यही बेलादेखि यो ठाउँको नाम हात्तीदह रहेको हो।
दहको लम्बाइ करिब ७ सय मिटर छ, हात्ती डुब्ने गरी पानीको गहिराइ छ। हात्तीदह नजिकै मिनी चिडियाखाना पनि छ जहाँ भालु, बँदेल, अजिंगर, मयूर लगायतका जनावर छन्।
आर्थिक वर्ष २०७५/७६ मा हात्तीदहलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सुरु गरिएको थियो।
चौधरीका अनुसार पर्यटकीय क्षेत्रको रूपमा विकास भएपछि भने समितिले नै दैनिक कम्तीमा १२ हजार रुपैयाँ आम्दानी गर्छ। गएको जनवरी १ का दिन तीन लाख रुपैयाँ आम्दानी भएको थियो।
यहाँ मानिसहरू घुमफिरका अतिरिक्त पिकनिक, जन्मदिनको उत्सव र संस्थागत बैठकका लागि पनि आउँछन्।
यता होटल सुरु गरेपछि हलसैरदैवीको दिनचर्या बदलिएको छ। लवाइखवाइ पनि फेरिएको छ। दिनभरि मजदुरी गरेर जीवन चलाउने गरेको उनको परिवारका सदस्यहरू आफ्नै काममा व्यस्त रहने गरेका छन्। खानलाउनका निमित्त मजदुरी गर्न जानुपरेको छैन।
होटल सुरु गरेपछि हलसैरदेवी र उनका श्रीमान् मजदुरीमा जानुपरेको छैन। जंगलमा दाउरा खोज्न पनि जानुपरेको छैन।
श्रीमान्–श्रीमती एकाबिहानै गाउँका मानिसहरूका साथ चुरेको जंगलतिर दाउरा खोज्न जान्थे। भात र रोटी बोक्थे। जंगलमै खान्थे र बेलुकातिर दाउरा लिएर फर्किन्थे।
हलसैरदेवीले भनिन्, ‘म ४०–५० किलो दाउरा बोक्थें। मेरा श्रीमान् अझै बढी बोक्थे। लहान बजारमा बेचेर पैसा बनाउँथ्यौं र घर चलाउँथ्यौं।’
उनका अनुसार एक भारी दाउरा ३ सय देखि ६ सय रुपैयाँसम्ममा बिक्थ्यो। भारीको अनुमानित तौल र दाउराको गुणस्तरअनुसार मूल्य पाउँथे।
दाउरा खोज्न नजाँदा खोलामा बालुवा चाल्ने र गाडीमा गिटीबालुवा लोड गर्ने काम गर्थे।
आफ्नो बस्तीमा छुवाछुतको चर्को विभेद भोग्नुपरे पनि होटल चलाउँदा त्यस्तो अनुभव नभएको बद्रीको भनाइ छ। अझै पनि पुरानो जानपहिचानका कतिपय व्यक्ति भने आफ्नो होटलमा नपसेको उनले बताए।
बद्री भन्छन्, ‘गाउँतिरका कोहीकोही पुराना मान्छे हाम्रो होटलमा आउँदैनन् तर हामीलाई त्यसले केही पनि असर परेको छैन।’
कुराको सिलसिलामा हलसैरदेवीले आफ्नो परिवारले भोगेको छुवाछुतको कहर सुनाइन्।
‘मेरा श्रीमानलाई गिरहत (जमनिदार) ले पातमा खान दिन्थे। पानी भर्न जाँदा आफ्नै कल (पानी तान्ने) गाड्नू भन्थे। सबैले पानी भरेपछि अन्तिममा मेरो पालो आउँथ्यो,’ उनले भनिन्, ‘गाउँको होटेलमा हामीलाई कागजमा खानेकुरा दिन्थे। अरूलाई प्लेटमा दिन्थे।’
आफैले होटल सुरु गरेपछि उनको मनमा खुसी छाएको छ।
मुस्कुराउँदै उनले भनिन्, ‘दलित भनेर हेप्ने मुखिया पनि हाम्रो होटलमा आउँछन्। प्रहरीका हाकिम र सरकारी कर्मचारी पनि आउँछन्। न्यायाधीश आएका छन्। सबैले बराई (तारिफ) गर्छन्।’
बद्रीले पनि छुवाछुतको अनेक विभेद भोगे।
‘म एकपटक मेरा साथीसँग उसको ससुरालीघर गएको थिएँ। मलाई केराको पातमा खाना दिइएका थिए,’ उनले भने, ‘अझै पनि यस्ता मान्छे छन् तर होटलमा हामीलाई कुनै समस्या परेको छैन।’
छुवाछुतको भेदभाव र अपमानले कहिलेकाहीँ बद्रीको दिक्दार हुन्थे। किन जन्मेँ हुँला सम्मको सोचाइ आउँथ्यो। आजकाल उनको मन बदलिएको छ।
भन्छन्, ‘अहिले बिस्तारै मान्छेको सोचाइ पनि परिवर्तन हुँदै गएको गएको छ। छुवाछुत छ तर घट्दै गएको छ।’