प्रायः खाली देखिने काठमाडौंको खुलामञ्चमा पछिल्लो केही दिनदेखि बिहानैदेखि चहलपहल बढेको छ।
बिहान आठ नबज्दै महानगरले सिपमूलक तालिम दिइरहेको स्थान खुलामञ्चमा मानिसहरू पुग्ने गरेका छन्।
शुक्रबार बिहानै सिप सिक्न पुगेकाहरू बाहिर बसिरहेका थिए। जसै ८ बज्न लाग्यो सबैजना एकाएक चनाखो भए।
भित्र जाने ढोका खुल्ने बित्तिकै उनीहरू कुदाकुद गर्न थाले। अगाडि पुगेकाले सिट ओगटिहाले, ढिलो पुग्नेहरू पर्खिबसे।
कक्षाकोठामा जो पहिला पुगेर सिटमा बस्यो उसले सो समयमा सिक्न पाउने व्यवस्था भएको हुँदा उनीहरू त्यसरी चनाखो भएका रहेछन्।
सोही भीडमा काभ्रेस्थलीमा डेरामा बस्दै आएकी सुमिना पनि थिइन्। उनी कफी बनाउने सीप सिक्न बारिष्टाको कोठामा पसिन्। उनी महानगरले दिँदै आएको बारिष्टासम्बन्धि सिप सिक्न त्यहाँ पुगेको सातौं दिन भयो।
सुमिना सीप सिक्न पाएकोमा निक्कै खुसी पनि रहेछिन्।
प्रसन्न हुँदै भनिन्- ‘म आएको त यहाँ आज सात दिन भइसक्यो। बारिष्टा सिकिराछु।’
महानगरले सिप तालिम दिँदै छ भनेर कसरी थाहा पाउनुभयो? जवाफमा उनले आफू त्यहाँ सम्म पुग्नुको रोचक घटना सुनाइन्।
काठमाडौं महानगरले सिप सिकाउँदैछ भन्ने कुरा सुमिनाले विदेशमा रहेको भिनाजुबाट थाहा पाएकी थिइन्।
‘खासै म्यासेज नपठाउने भिनाजुले हातमा सिप भयो भने काम लाग्छ, फारम भर भनेर पठाउनुभएको थियो,’ उनले भनिन्, ‘निःशुल्क दिइने तालिमको लिस्ट दिखेपछि त स्क्याम नै होला भन्ने लाग्यो।’
स्क्याम नै होला भन्ने सोचेर सिन्धुपाल्चोकककी २३ वर्षीया सुमिना दनुवारले दुई दिनसम्म फारम भरिनन् पनि। तर भिनाजुले स्क्याम होइन भनेर पटकपटक सम्झाएपछि मात्रै आफूले फारम भरेको उनी सुनाउँछिन्।
‘भिनाजुले गर्दा फारम भरेँ तर स्क्याम गरेर कतै मेरो सबै विवरण गलत प्रयोग होला कि भन्ने भय भयो,’ उनले भनिन्, ‘जब महानगरबाटै फोन आयो अनि मात्र ढुक्क भएँ।’
सात दिने बारिष्टा तालिम थप गरी १४ दिने बनाइएको छ। यसले गर्दा सिप सिक्न आउनेलाई सजिलो भएको उनी बताउँछिन्।
यस्तै तनहुँ बन्दिपुरका २२ वर्षीय सन्तोष नेपाली सिसिटिभी सम्बन्धी सिपका सिक्न काठमाडौं आएको ६ दिन भयो।
तालिम अवधिभरका लागि भनेर उनी बागबजारस्थित होस्टलमा बसिरहेका छन्। त्यहीबाट खुल्लामञ्च आऊजाऊ गर्छन्।
‘अहिले सिप सिक्नै बागबजारस्थित एक होस्टलमा बसिरहेको छु,’ उनले भने, ‘सिसिटिभी कसरी फिट गर्ने के कसो हो भनेर अलिअलि जानेँ। राम्ररी जान्न त यहाँ केही घन्टा सिकेर मात्रै हुँदैन। फिल्डमा गएर काम नै गर्नुपर्छ।’
सन्तोषलाई पहिलेदेखि नै मोबाइल रिपियरिङ सिक्न मन थियो। त्यसका लागि उनले सिक्ने ठाउँ पनि खोजे। तर तनहुँमै राम्रो तालिम दिने ठाउँ उनले भेटेनन्। तर जब यता सिप सिकाइँदैछ भनेर थाहा पाए तब सिसिटिभीसम्बन्धि सिप सिक्न आएको उनी बताउँछन्।
सिपमा निखार ल्याउन अब तनहुँमै यही काम गर्दै हात बसाउने उनको योजना छ।
स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेका सन्तोषको कलेज छुटिरहेको छ। तर उनी आफूलाई मन लागेको सिप सिक्न पाएकोमा दंग छन्।
काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमा सिपमूलक तालिम दिइने भनेर राखेपछि आफूले पनि अनलाइन फारम भरेको उनी बताउँछन्।
सोही समूहमा महेन्द्रनगरका ५० वर्षीय पदमराज पाण्डे पनि छन्। १७ वर्ष यही क्षेत्रमा काम गरिसकेका उनी पनि सिप सिक्न आएको थाहा पाएपछि हामी उनका बारेमा बुझ्न थप उत्सुक भयौं।
तपाईंले त १७ वर्ष यही क्षेत्रमा काम गरिसक्नुभएको रहेछ। किन सिक्न आउनुभयो नि? हामीले सोध्यौं।
‘सिप भनेको सिकेर कहिले सकिन्नँ,’ उनले भने, ‘झन् टेक्नोलोजिको क्षेत्रमा त दिनहुँ परिवर्तन भइरन्छ। केही नयाँ कुरा सिक्न पाइन्छ कि भनेर आएको,' उनले भने।
अर्को कोठामा प्लम्बिङ सिकिरहेका तनहुँका भीमबहादुर गुरूङ पाइप काट्दै थिए। हातमा कुनै सिप भएपछि बेरोजगार बस्न नपर्ला कि भनेर सिप सिक्न आएको उनले बताए।
‘घरमा बेरोजगार भएर बस्नुपरेको छ,’ उनले भने, ‘यता महानगरले सिप सिकेपछि जागिर पनि दिन्छ भनेर सुनेको छु। त्यही भएर सिप सिक्दै छु।’
बेरोजगारीबाट उन्मुक्ति पाइने आशामा सिप सिक्न आएको भीमबहादुर बताउँछन्।
प्लम्बिङ कक्षाको केही अगाडि सिलाई कक्ष छ। त्यहाँ चितवनकी ४२ वर्षीया राधिका कुवँर पेटिकोटको कटिङको लागि शिक्षिकालाई कुर्दै थिइन्।
लुगा सिलाउने मेसिनमा खुट्टा नराखेकी राधिका अहिले मेसिन चलाउन जान्ने भएकी छिन्।
महानगरले दिइरहेको सिप तालिमबारे छोराले भनेको राधिका बताउँछिन्।
‘ममी घरमा दिनभर यसै बस्नुको सट्टा बरू महानगरले दिने सिपमूलक तालिममा केही सिक्नु,’ छोरा रञ्जितको भनाइ उदृत गर्दै उनले भनिन्, ‘त्यहाँ बरू सिरानीको खोल सिलाउनै मात्र जान्नुभयो भने पनि काम लाग्छ।’
त्यसपछि छोराले नै सबै फारम भरिदिए।
यसो त राधिका एक महिने तालिम भनेर सिक्न आएकी थिइन्। तर अहिले आएर १५ दिने बनाउँदा आफूहरूले सबै कुरा सिक्न नसक्ने बताउँछिन्।
‘फारम भर्ने बेला एक महिने तालिम भनेर भरेको तर अहिले १५ दिनको हो भनिरहनुभएको छ,’ उनले भनिन्, ‘दिनमा तीन घण्टाको क्लास हुन्छ। यति छोटो समयमा कसरी सिक्नु? बरू अझ समय बढाएर तीन चार थरी कोर्स दिए त हुन्थ्यो नि!’
अहिले आमाछोरा नै महानगरले दिइरहेको सिपमूलक तालिममा सहभागी भएका छन्। उनका छोरा भने आर्ट एण्ड स्कल्पचरको सिप सिकिरहेका छन्।
डिल्लीबजारकी २४ वर्षीया सरिस्ना नकर्मी आर्ट क्लास सकेर सामान प्याक गर्दै थिइन्। हामीले उनलाई रोकेर सोध्यौं- यहाँ कसरी आउनुभयो नि?
जबाफमा सरिस्नाले भनिन्- ‘सानैदेखि चित्र कोर्न रूची थियो,’ उनले भनिन्, ‘सिक्छु भनेर भनेँ तर सधैं सानीआमाको उदाहरण देखाउँदै सिक्न पठाउनुभएन।’
सरिस्नाका अनुसार उनकी सानीआमा थान्का पेन्टर थिइन्। विभिन्न कारण सानीआमाले पेन्टिङबाट ब्रेक लिनुपर्ने स्थिति आएपछि उनी बताउँछिन्।
सोही कारणले गर्दा उनले आफ्नो रूचीलाई सीमित राख्नुपर्यो। तर महानगरले सञ्चालन गरिरहेको तालिमबाट धेरै औपचारिक शिक्षा लिन पाएकोमा उनी दंग छिन्।
त्यसो त भविष्यमा कलाकारिता क्षेत्रमा नै केही गर्ने इच्छा भएको सरिस्ना बताउँछिन्।
गोरखाकी ४० वर्षीय कृष्णकुमारी नेपाल कुमाललाई पहिलेदेखि नै फेसन डिजाइनिङ सिक्न मन थियो। तर घरको आर्थिक अवस्थाका कारण उनले आफ्नो आकांक्षा श्रीमानलाई सुनाइनन्। थाती राख्न बाध्य भइन्।
'टेलरिङ त धेरै अगाडि सिकेको थिएँ,' उनले भनिन्, 'तर कुनै एक डिजाइनिङ मात्र सिक्न कम्तिमा दुई हजार लाग्छ। त्यो त हामीले सक्दैनौं। त्यसमाथि घरमा एकजना मात्र कमाउने मान्छे छ। एकजनाले कमाएको पैसाले घरधन्दा धान्नै गाह्रो छ, यी त परका कुरा भए।'
तर जब बहिनीले यस सिपबारे सुनाइन्। उनी मख्ख परिन्। अहिले उनी आफ्नी बहिनी अनुषा नेपाल पाठकसँगै फ्यासन सिकिरहेकी छिन्।
वैसाख १९ गतेबाट सुरू भएको सिप मेलामा विभिन्न पेसा सम्बन्धित तालिम दिइरहेको छ। महानगरले दुई हजार ८१ जनालाई नि:शुल्क विभिन्न सिप सिकाउने योजना बनाएको छ।
'शिक्षालाई सिपसँग', 'सिपलाई श्रमसँग' र 'श्रमलाई उत्पादनसँग' जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउने महानगरको योजना हो।
महानगरले सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको बताउँदै आएको छ।
रोजगार क्षेत्रमा देखिएको खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सिप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यावसायिक तालिमको आवश्यकता महसुस गरेर मेला गरिएको हो।
मेलामा तालिमका लागि १० विधामा ३० पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेको छ।
तालिमका कक्षाहरू कुनै १५ दिने छने भने कुनै एक महिने छ। दिनहुँ फास्टफुड एण्ड कुकिङ र बेकरीका कक्षाहरु ४/४ घण्टा सञ्चालन भइरहेका छने भने अन्य कक्षा ३/३ घण्टा भइरहेका छन्।
महानगरले अटो मोबाइल रिपेयरिङ, निर्माण क्षेत्र, हस्पिटालिटी, सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी), मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन लगायतको तालिम दिइरहेको छ।