नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले एक जना शिक्षकलाई पक्राउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-४ काहालान्चका २८ वर्षीय शिक्षक छन्। निजी विद्यालयमा पढाउने शिक्षकको प्रहरीले परिचय खुलाएको छैन।
नाबालिकाले अनलाइनमार्फत अध्ययन गर्न फेसबुक खोलेकी थिइन्। उक्त फेसबुकमा राखेका तस्बिरहरू ती शिक्षकले डाउनलोड गरेका थिए।
नाबालिकाको नक्कली फेसबुक आइडी बनाएर अश्लिल तस्बिरमा नाबालिकाको अनुहार जोडेर, अश्लिल गतिविधिका कन्टेन्ट लेखेर चरित्र हत्या गरेको प्रहरीले जनाएको छ।
यसरी चरित्र हत्या गरेको भन्दै नाबालिकाका अभिभावकले ब्युरोमा निवेदन दिएका थिए।
त्यसको अनुसन्धान र प्राविधिक विश्लेषण गर्दा ती शिक्षक रहेको खुलेको हो।
ब्युरोले ती शिक्षकलाई सोमबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको छ।