गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले तीन वर्षे रणनीतिक योजना बनाउन थालेको छ।
संस्थाले सन् २०२५ देखि २०२७ सम्मका लागि रणनीतिक योजना बनाउन थालेको हो। यसका लागि संस्थाले विभिन्न सरोकारवाला निकायसँग छलफल गरिरहेको छ।
शिक्षा, जीविकोपार्जन, बालसंरक्षक, जलवायु परिवर्तन लगायतका मुद्दाहरूमा भएका कमीकमजोरी र यसमा सेभ द चिल्ड्रेनले गर्नुपर्ने कामका बारेमा रणनीति तयार पार्न लागिएको हो।
शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशस्तरीय गोष्ठी आयोजना गरिएको छ।
प्रदेश सरकार, गैरसरकारी संस्था, प्रदेशमा रहेर काम गरिरहेको नागरिक समाज संस्था लगायतसँग शुक्रबार छलफल गरिएको हो।
छलफलका क्रममा सरोकारवालाहरूले वर्तमान समयर परिस्थितिअनुसार संस्थाले काम गर्नुपर्ने सुझाव दिएका छन्।
तीनै तहका सरकारसँग समन्वय तथा सहकार्य गर्दै नीति निर्माण, नीति परिवर्तन, बजेट कार्यान्वयनका क्षेत्रमा संस्थाले काम गर्नुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन्।
कर्णाली प्रदेशका साविक कर्णालीका जिल्ला तथा अन्य जिल्लाहरूका दुर्गम क्षेत्रमा पुगेर संस्थाले काम गर्नुपर्नेमा उनीहरूको जोड छ।
पछाडि पारिएका वर्ग, समुदायलाई विशेष रुपमा सम्बोधन गर्न सरोकारवालाहरूले संस्थालाई सुझाव दिएका छन्। विविध क्षेत्रमा काम गर्नेक्रममा सचेतनामूलक कार्यक्रमहरूलाई नियमितता दिनुपर्ने उनीहरुले सुझाव दिएका छन्।
संस्थाले हालसम्म यो क्षेत्रमा काम गरेको अनुभव र सरोकारवाला निकायबाट आएका सुझावका आधारमा आगामी रणनीति तयार पारिने बताए।
सरोकारवालाहरूले दिएका सुझाव संस्थाले संस्थाले तयार पार्ने भावी योजनाका लागि महत्वपूर्ण रहेको उनले बताए।