मेरूदण्डको नशा च्यापिने रोग धेरैलाई हुनसक्छ।
कुरकुरे हड्डी पछाडि सरेर नशामा दबाब सृजना भएपछि नशा च्यापिने हुन्छ। यो बाहेक नशा च्यापिनुका अरू कारण पनि हुन्छ।
कहिलेकाही क्यान्सरले गर्दा नशा च्यापिन्छ भने कहिलेकाहीँ संक्रमण अनि उमेर बढ्दै जाँदा यस्तो हुन्छ।
नशा च्यापियो भने बिरामीलाई, ढाड, गर्धन दुख्न सक्छ। नशा च्यापिने बित्तिकै दुःखाइ ढाडबाट खुट्टातिर सर्छ। यदि तल्लो भागको ढाडमा नशा च्यापिएको छ भने त्यस्तो हुन्छ। गर्धनको नशा च्यापिएको छ भने त्यो दुखाइ गर्धनबाट हाततिर फैलिन्छ।
ढाड र गर्धनको दुःखाइ हात र खुट्टामा फैलिने बित्तिकै चुप लागेर घरमा या अफिसमा बसिरहन हुँदैन। मेरूदण्ड रोग विशेषज्ञलाई देखाउन जरूरी हुन्छ। स्वास्थ्य परीक्षणपछि एक्सरे र एमआरआई गरेपछि कुन नशा कहाँ च्यापिएको भन्ने थाहा हुन्छ। सबभन्दा पहिला समस्या पत्ता लगाउनुपर्छ। त्यसपछि उपचार गर्न सजिलो हुन्छ। ९० देखि ९५ प्रतिशतलाई अपरेसन चाहिँदैन। औषधि र थेरापी गरेपछि निको हुन्छ। २ देखि ३ प्रतिशतलाई मात्रै अपरेसन चाहिन्छ।
बिरामीलाई दुःखाइ उग्र रूपमा छैन, दिशा पिसाबमा समस्या छैन, धेरै कमजोरी छैन भने २,३ महिना दबाइ र थेरापी गर्नुपर्छ। त्यो बीचमा पनि भएन भने मात्रै सर्जरी गर्नुपर्छ।
आफैँले औषधि पसलमा गएर दबाइ खान हुँदैन। लामो समयसम्म खायो भने किड्नीलाई समेत असर गर्छ।
मेरूदण्डको नशा च्यापिने समस्या कम गर्न आफ्नो दैनिकीमा भर पर्छ। शारीरिक व्यायामको कमी, खानपान र धुम्रपानको कुलतले यस्तो हुन्छ। स्वस्थ जीवनशैली अपनायो भने केही हदसम्म कम हुनसक्छ।
मेरूदण्ड नशा च्यापिने समस्या किन हुन्छ, यसको उपचार कसरी गर्ने भन्ने लगायतका विषयमा केन्द्रित रहेर राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत मेरूदण्ड रोग विशेषज्ञ (स्पाइन सर्जन) प्रा.डा गौरवराज ढकालसँग हामीले भिडिओ कुराकानी गरेका छौं।