यात्रुसँग विवाद गरी औंला भाँचेर भागेको आरोपमा प्रहरीले राइड सेयरिङ सेवाका चालकलाई पक्राउ गरेको छ।
नवलपरासी घर भई टोखा नगरपालिका बस्ने २६ वर्षीय जोन तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनलाई प्रहरीले बुधबार काठमाडौंको बानियाँटारबाट पक्राउ गरेको हो।
एसपी अधिकारीका अनुसार घटना गत चैत १४ गते दिउँसो काठमाडौं महानगरपालिका-११ थापाथलीमा भएको थियो।
केशव घिमिरे नामका यात्रु राइड सेयरिङ एप इनड्राइभमार्फत् मोटरसाइकल चढेर कलेजबाट थापाथली जाँदै थिए।
थापाथलीको नर्भिक छेउमा पुगेपछि चालक तामाङले अर्कै बाटो लग्न खोजे। त्यही विषयमा दुई जनाबीच त्यहीँ विवाद भएको थियो।
यात्रु घिमिरेले प्रहरीलाई खबर गर्ने भन्दै तामाङको मोटरसाइकलको चाबी निकालेका थिए। चाबी खोसाखोस गर्ने क्रममा घिमिरेको दाहिने हातका तीन वटा औंला भाँचिएको एसपी अधिकारीले बताए।
यसरी घटना भएपछि घिमिरेले प्रहरी वृत्त सिंहदरबारमा निवेदन दिएका थिए।
पक्राउ परेका तामाङमाथि प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान भइरहेको छ।