काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एयर इन्डिगो एयरलाइन्सको विमानको सिटमा एक किलो सुन फेला परेको छ।
बुधबार बिहान ११ बजे भारतको दिल्ली भई काठमाडौं आएको फ्लाइट ६ इ ११५१ इन्डिगो एयरको सिटमा एक किलो ७० ग्राम सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए।
इन्डिगो एयरको सिट नम्बर २७ चार्लीको पछाडि, २८ चार्लीको अगाडि रहेको सिटमा भएको पकेट (खल्ती) को तलपट्टी बेवारिसे अवस्थामा कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन फेला परेको हो।
त्यसमा तीन वटा सिक्री, ६ वटा आयातकार टुक्रा (एउटा सानो र पाँच वटा ठूला बिस्किट), त्रिभुज आकारका दुई वटा टुक्रा र दुई वटा सिक्री जोड्ने रिङ फेला परेको हो।
बरामद भएको सुनको तौल १ किलो ७० ग्राम रहेको प्रहरीले जनाएको छ।