चौध किलो सुन बरामद भएको घटनाको अनुसन्धान गर्न बनेको छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई प्रतिवेदन बुझाएको छ।
आइतबार दिउँसो प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेलाई प्रतिवेदन बुझाएका हुन्।
गत मंसिर २१ गते फ्लाई दुबईमार्फत काठमाडौं आइपुगेका गोरखाका चन्द्र घलेबाट १४ किलो सुन बरामद भएको थियो। उक्त सुन बरामद भएपछि पाण्डेले भन्सार अधिकृत पौडेलको नेतृत्वमा ६ सदस्यीय समिति बनाएका थिए।
समितिले १३ दिन अनुसन्धान गरेपछि नौ जनालाई पक्राउ गरेको छ। एक जनालाई तारेखमा राखिएको छ। कतिपय मानिसहरू अनुसन्धानको घेरामा तानिए पनि पक्राउ परेका छैनन्।
अनुसन्धान समितिले सुन तस्करी गरी ल्याउने व्यक्तिहरूको भ्रमण समय र तालिका, कल विवरण, विमानस्थलको सिसिटिभी क्यामरा फुटेजको विश्लेषणका साथै विमानस्थलमा खटिने कर्मचारीहरूको व्यवहार अध्ययन लगायत काम गरेको थियो।
पक्राउ परेका व्यक्तिहरूको ह्वाट्सएप च्याट लगायत पनि समितिले विश्लेषण गरेको छ।
प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार नागरिक उड्डयन प्राधिकरणसँग सिसिटिभी फुटेज माग गर्दा पछिल्लो २१ दिनको मात्रै प्राप्त भएको थियो। त्यसलाई पनि आधार बनाएर अनुसन्धान गरिएको उनले बताए।
'त्यसभन्दा अगाडिको फुटेज राखेको पाएनौं,' उनले भने, 'कम्तीमा तीन महिनाको फुटेज हुनुपर्ने हो। किन नराखेको भनेर सोधेका छौं।'
मंसिर २१ गते चन्द्र घले पक्राउ परेपछि त्यही राति समितिले मीनबहादुर घलेलाई पक्राउ गरेको थियो। त्यसपछि अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्न थालिएको हो। पक्राउ पर्नेमा अधिकांश कर्मचारीहरू छन्।
यस प्रकरणमा पक्राउ पर्नेमा चन्द्रजस्तै भरियाको रूपमा खटिएका कृष्णकुमार श्रेष्ठ पनि छन्। उनी काठमाडौंको चप्पल कारखानास्थित एक म्यानपावर कम्पनीमा एजेन्टका रूपमा काम गर्थे।
त्यस्तै विमानस्थलको एयर साइड क्षेत्रमा कार्यरत रमेश देउला पक्राउ परेका छन्। उनी कार्यालय सहयोगीका रूपमा चिया पकाउने, कार्यक्षेत्रमा मरेका जनावरहरू हटाउने लगायत काम गर्थे। करिब तीस वर्षदेखि उनी विमानस्थलमा कार्यरत छन्।
नागरिक उड्डयन प्राधिकरणमार्फत २०३२ सालमा करारमार्फत सेवामा प्रवेश गरेका रमेश २०७३ सालमा अवकाश लिएका थिए। त्यसपछि पनि उनी करारमै काम गर्दै आएका छन्।
विमानस्थलमा प्लम्बिङको काम गर्ने शेरबहादुर बस्नेत पनि पक्राउ परेका छन्। त्यसैगरी नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा कार्यरत कार्यालय सहयोगी पदमा कार्यरत लेकबहादुर तामाङ भन्सार कार्यालयको हिरासतमा छन्। उनले भिआइपीको ढोका खोल्ने-बन्द गर्ने र प्रशासनिक काममा पनि सघाउँथे।
प्राधिकरणकै वरिष्ठ सहायक एयर कन्डिसनर चलाउने/मर्मत गर्ने व्यक्ति राधाकृष्ण श्रेष्ठलाई पनि पक्राउ गरिएको छ। त्यसैगरी एयर कन्डिसनर मर्मत गर्ने अनिल श्रेष्ठ, विमानस्थल कार्यालयमा हाउस-किपिङको काम गर्ने गणेश चेपाङ, प्लम्बर कपिल ओझा र सरसफाइ सुपरभाइजर सुशीला पाण्डे पक्राउ परेका छन्।
यो घटना संलग्नता देखिएका डिबी भन्ने डनबहादुर गुरूङ हाल फरार छन्। उनकी श्रीमतीको पनि यसमा संलग्नता आशंका गरिएको छ। तर उनी बिरामी भएकाले तारेखमा राखिएको छ।
गोप्य सूचनाका आधारमा सुन बाहिरिन नपाउँदै चन्द्र घलेलाई विमानबाटै पक्राउ गरिएको थियो।
कसरी हुन्थ्यो दुबई-काठमाडौं-भारत सुन तस्करी?
छानबिन समितिले अहिलेसम्म घटनाका मुख्य व्यक्ति मीनबहादुर घले रहेको जनाएको छ। उनीबाहेक नेपालबाट मुख्य भूमिका निर्वाह गर्ने डनबहादुर (डिबी) गुरूङ छन्।
समितिका संयोजक प्रमुख भन्सार अधिकृत मणिराम पौडेलका अनुसार मीनबहादुरले भारतीय मूलका दुई जना व्यक्तिसँगको मिलेमतोमा दुबईबाट काठमाडौंमा सुन भित्र्याउने गरेको देखिएको छ।
'गुरू' भनिने र अर्का अंकित अग्रवाल नामका भारतीय नागरिकले नेपालमा सुन पठाउँथे। उनीहरूको वास्तविक पहिचान भने खुलिसकेको छैन। समितिले मीनबहादुर र अंकितबीच कुराकानी भएको च्याट पाएको छ।
'अंकित अग्रवाल भन्ने व्यक्तिको नाम पनि गलत भन्ने बुझिएको छ। उनको परिचय थप अनुसन्धानको विषय हो,' पौडेलले भने।
त्रिभुवन विमानस्थलभित्र मिलाउनुपर्ने सबै 'सेटिङ' भने डिबीले गरेको देखिन्छ।
मीनबहादुर र डिबीसँगै 'सुन भरिया' चन्द्र र कृष्णकुमारले कयौं पटक दुबई आउजाउ गरिसकेका छन्। पछिल्लो समय मात्रै उनीहरूले १३८ किलो सुन भित्र्याएको देखिएको अधिकृत पौडेलले बताए।
सन् २०१४ यता मीनबहादुर ३६ पटक दुबई-काठमाडौं आउजाउ गरिसकेका छन्। उनी आफैं समेत भरिया भएर काठमाडौंमा सुन भित्र्याएका छन्।
यस्तै सन् २०१७ यता चन्द्र घले ६० पटक आउजाउ गरिसकेका छन्। अर्का भरिया कृष्णकुमार पनि सन् २०१५ यता ६६ पटक आउजाउ गरिसकेका छन्।
'उनीहरूले कतिपटक सुन ल्याएको हो भनेर स्वीकार गरेका छन्। त्यसैका आधारमा हामीले सुन कति भित्रियो भन्ने एउटा आकलन गरेका हौं,' अधिकृत पौडेलले भने, 'पहिलेपहिले आफ्नै कामले पनि गएको भनेका छन्।'
कृष्णकुमारले छानबिन समितिलाई दिएको बयानअनुसार दुबईको भिसा दिलाउने काम मीनबहादुरले नै गरिदिन्थे। त्यसका लागि उनले दुबईमा रहेका अंकितसँग सम्पर्क गर्थे।
भिसा लागेसँगै कुनै रेस्टुरेन्ट वा बाटोमा बोलाएर मीनबहादुरले त्रिभुवन विमानस्थलमा रहेको अपांगमैत्री शौचालयभित्र रहेको ढोकाको साँचो दिने गरेको कृष्णकुमारको बयानमा उल्लेख छ।
भिसाका कागजात, ५ रियाल/दिराम रकम पनि बुझाउने गरेको अनुसन्धानमा देखिन्छ। त्यो रियाल वा दिराम भने कोडका रूपमा प्रयोग भएको देखिएको छ।
यसरी सुन ल्याउने भरियाले दुबईबाट नेपाल फर्किने दिन, उडानभन्दा केही घन्टा अगाडि मात्र सुन पाउने गरेका थिए।
'नेपाल फर्किने दिन उडान समयभन्दा तीन-चार घन्टा पहिले दुबईमा अपरिचित व्यक्तिले यो ठाउँमा आउनू भनेर फोन गरेर बोलाउँथे,' कृष्णकुमारले बयानमा भनेका छन्, 'त्यहाँ पुगेर मैले नेपालबाट बोकेर लगेको ५ रियाल देखाएपछि १४ किलो सुन उनीहरूले दिन्थे। आधा सुन कम्मरमा भिर्ने मनी पर्समा र आधा झोलामा राखेर प्लेनमा चढ्थेँ।'
कृष्णकुमारले १४ किलोको दरले सात पटक सुन ल्याइसकेको स्वीकार गरेका छन्।
चन्द्र घलेले पनि मीनबहादुरको निर्देशन बमोजिम यसैगरी सुन लिन्थे र ल्याउँथे। चन्द्रले तीनपटक सुन भित्र्याएको स्वीकार गरेका छन्। पहिलो पटक दुई पोका, दोस्रो पटक चार पोका र अहिले ७ पोका सुन लिएर आएको उनले स्वीकार गरेका हुन्।
दुबईमा बस्दासम्म कृष्णकुमार र चन्द्र होटलमा बस्थे। सुन लिइसकेपछि उनीहरू फ्लाई दुबईमार्फत काठमाडौं आउँथे। विमानस्थलबाट ओर्लिनबित्तिकै ती 'सुन भरिया' आगमन कक्ष पुग्थे र अध्यागमन डेस्कको अपांगमैत्री शौचालय छिर्थे। त्यहाँभित्र पाइपिङ र प्लम्बिङको प्वाइन्ट छोप्न राखिएको ढोका खोलेर सुन राख्थे।
प्लम्बिङ काम गर्ने शेरबहादुर बस्नेतले उक्त च्याम्बरजस्तो ठाउँको ढोकाको अरू चाबी बनाएका थिए। साँचो बनाउने ठाउँमा लगेर बनाएका ती नक्कली चाबी शेरबहादुरले विमानस्थलमा कार्यालय सहयोगीका रूपमा काम गर्ने रमेश देउला, लेकबहादुर तामाङ र मीनबहादुर समेतलाई उपलब्ध गराउँथे।
मीनबहादुरले पाएको साँचो भने भरियालाई दिएर पठाउँथे।
'शौचालयभित्रको चेम्बरमा राखेर ताला लगाएर जान्थे,' प्रमुख भन्सार अधिकृत पौडेलले भने, 'भरिया आएर सुन छाड्यो कि छाडेन भनेर बुझ्ने काम भने शेरबहादुरले गर्थे।'
सुन छाडेपछि चन्द्र वा कृष्णकुमार सामान्य प्रक्रियाबाट निस्किन्थे। त्यसपछि कार्यालय सहयोगी लेकबहादुरले शौचालयबाट सुन निकालेर भिआइपी कक्ष हुँदै माथिल्लो तलामा रहेको अर्को शौचालयमा गएर वरिष्ठ सहायक राधाकृष्णलाई बुझाउँथे। उनलाई सुन आउँदैछ भन्ने जानकारी कार्यालय सहयोगी रमेश देउलाले दिन्थे।
'ल्याएको सुन लेकबहादुरले लिइसकेपछि मलाई फोन गरेर जानकारी गराउँथे,' राधाकृष्णले बयानमा भनेका छन्, 'म विमानस्थल उड्डयन कार्यालय नजिकै रहेको शौचालयमा गएर लेकबहादुरलाई पर्खी बस्थेँ। लेकबहादुरले सुन ल्याएपछि अनिल श्रेष्ठले गोप्य बाटो खोलिदिन्थे।'
राधाकृष्णले उक्त भवनको सबभन्दा माथिल्लो तला हुँदै अन्तर्राष्ट्रिय टर्मिनल भवनबाहिर रहेको शौचालयको छेउमा रहेको सरसफाइ कार्यालय छेउको सिँढी हुँदै सुन बाहिर निकाल्थे। त्यो क्षेत्रमा हाल सिसिटिभीले काम नगरेको अनुसन्धानले देखाएको छ।
यसरी भित्रबाट बाहिरसम्म पुर्याउन विमानस्थलकै कर्मचारी अनिलले सहयोग गरेको भन्सार अधिकृत पौडेलले बताए।
सुन लिएर बाहिर निस्किएका राधाकृष्णलाई रमेश देउला बाहिर मोटरसाइकलमा कुरेर बस्थे।
'बाहिर निस्केपछि नेपाल राष्ट्र बैंकको एटिएम हुँदै जान्थेँ। रमेश देउला मोटरसाइकलमा पर्खिरहेका हुन्थे। मलाई देखेपछि आउँथे र हामी सुन सम्बन्धित मानिससम्म पुर्याउँथ्यौं,' राधाकृष्णले आफ्नो बयानमा भनेका छन्।
उनीहरू दुई जनाले कहिले वनकाली त कहिले धुम्बाराही पुगेर डिबी गुरूङलाई सुन बुझाउँथे। डिबीको घर त्यो सुन मीनबहादुरले लिन्थे। त्यसपछि भारतीय नागरिक अंकित अग्रवालले पठाएका व्यक्तिलाई सुन बुझाउने गरेको मीनबहादुरले बताएका छन्।
त्यसरी सुन लिन आउने व्यक्तिहरू को हुन् भन्ने खुलिसकेको छैन। तिनै व्यक्तिबाट मीनबहादुरले ९ लाख रूपैयाँ बुझेको पनि बयानमा भनेका छन्। उक्त रकममध्ये ५ लाख रूपैयाँ डिबीलाई एयरपोर्टको सेटिङ मिलाउन दिएको मीनबहादुरले बताएका छन्। ६० हजार रूपैयाँ भरियालाई दिने र एक-एक लाख डिबी र मीनबहादुरले बाँड्ने गरेको पनि अनुसन्धानमा देखिन्छ। यस्तै बाँकी रकम भने भिसा प्रक्रियामा खर्च भएको देखिएको छ।
यसरी भित्रिने सुन भारतमा पुग्ने भए पनि कुन ठाउँमा कसरी बेचिन्छ भन्ने भन्ने खुलेको छैन।
थप अनुसन्धानका लागि सिआइबीलाई बुझाउने तयारी
भन्सार कार्यालयले यसको अनुसन्धान भन्सार ऐनअनुसार अघि बढाएको थियो। कार्यालय प्रमुख टोकराज पाण्डेका अनुसार यसमा समयावधि २५ दिनको मात्रै हुन्छ। त्यसअनुसार नै समितिले अनुसन्धान गरेको हो।
तर यसको अनुसन्धान सकिएको छैन। संगठित रूपमै सुन तस्करी हुँदै आएको देखिन्छ। संगठित अपराधमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बुझाउने तयारी गरिरहेको भन्सार अधिकृत मणिराम पौडेलले बताए।
यस प्रकरणमा संलग्न व्यक्तिहरूमाथि अन्य कसुरमा पनि अनुसन्धान गर्नुपर्ने हुनसक्ने पौडेल बताउँछन्। कृष्णकुमारबाट विभिन्न व्यक्तिहरूका प्रहरी चारित्रिक प्रमाणपत्र, मेडिकल रिपोर्ट लगायत कागजात बरामद भएका छन्। त्यसमा पनि अनुसन्धान गर्नुपर्ने अधिकृतहरू बताउँछन्।
यसको अनुसन्धान गर्न बनेको छानबिन समितिले विमानस्थलमा सुधार गर्न राय-सुझाव समेत दिएको छ। यस्ता संगठित अपराध अनुसन्धान गर्न २५ दिनको समय अपुग हुने समितिले बताएको छ। यसका लागि कम्तीमा ९० दिन राख्नुपर्ने भनिएको छ।
कतिपय कर्मचारीले आफ्नो व्यक्तिगत सवारीसाधन मोटरसाइकल, स्कुटर तथा कार सुरक्षा जाँच केन्द्र भन्दाभित्र लगेर एयर साइड क्षेत्रमा लगेको पनि समितिले जनाएको छ। त्यसरी भित्र प्रवेश गर्न पाउने भएकाले त्यो बाटो पनि प्रयोग गरी तस्करी भएको हुन सक्ने समितिको ठहर छ।
भिआइपी कक्ष प्रवेश गर्नुअघि एक्सरे स्क्यानरबाट भिआइपीको हाते झोला स्क्यान गरी पास गरिन्छ। तर अन्य समयमा भिआइपी कक्ष बन्द हन्छ। त्यस बेला त्यो कक्ष खोल्ने व्यक्तिले समेत 'अराइभल' शौचालयबाट सुन ल्याउने गरेको देखिएको हो।
त्यसलाई मध्यनजर गरेर त्यहाँ २४ सै घन्टा प्रहरी र भन्सार कर्मचारी खटाउनुपर्ने पनि राय दिइएको छ। सिसिटिभी निगरानी नभएका ठाउँहरूमा निगरानीको व्यवस्था मिलाउन पनि राय दिइएको हो।