गत साउन १५ गते साँझ पौने सात जति बजेको थियो। दाङको राप्ती गाउँपालिका–२, लालमटियाकी ३८ वर्षीया राधिका बुढाथोकी गोठमा बाख्रालाई घाँस दिँदै थिइन्।
अचानक उनलाई दाहिने खुट्टामा काँडाले घोचेजस्तो भयो। निहुरिएर हेर्दा पैतालाको माथिल्लो भागमा थोरै रगत बगेको थियो। उनले काँडाले नै घोचेको अनुमान गरिन्। यति भएको पाँच मिनेटजति पछि उनलाई पेट दुखेजस्तो भयो। रिँगटा पनि लाग्यो।
उनका श्रीमान महेन्द्र घरमै थिए। हतारहतार नजिकैको मेडिकलमा पुर्याए। त्यहाँका स्वास्थ्यकर्मीले घाउ हेर्नासाथ विषालु सर्पले टोकेको र शरीरमा विष फैलिएको अनुमान गरेर तुरून्तै सर्पदंश उपचार केन्द्र पुर्याउन भने।
राधिकाको अवस्था जटिल बन्दै गयो। लालमटियाबाट कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्र पुग्न करिब डेढ घण्टा लाग्थ्यो। श्रीमतीलाई गाडीमा राखेर बाटो लागेपछि महेन्द्रले उपचार केन्द्रमा फोन गरेर बिरामीको अवस्थाबारे जानकारी गराए।
व्यवस्थापक नवीन भण्डारी उपचार केन्द्रमै थिए। अवस्था गम्भीर रहेको थाहा पाएर उनी चिकित्सक र आवश्यक औषधीसहित बाटोमै उपचार सुरू गर्ने उद्देश्यले चन्द्रौटातर्फ गए।
राति पौने आठ बजेतिर राधिकालाई लिएर महेन्द्र चन्द्रौटा पुगे। उपचार टोली पनि पुगिसकेको थियो। राधिकालाई रगतसहितको बान्ता भएको थियो। उनी बेहोस थिइन्। शरीर लुलो भएको थियो।
केन्द्रको टोलीले चन्द्रौटाकै एउटा मेडिकलमा राखेर एन्टीस्नेक भेनम दिएर उपचार सुरू गर्यो। राधिकाले सर्पले टोकेको एक घण्टामा पहिलो भेनम पाइन्। उनलाई चन्द्रौटामै दुई वटा भेनम दिइयो।
त्यसपछि उपचार केन्द्रमा पुर्याइयो। उनको उपचार ७२ घण्टासम्म चल्यो। यस अवधिमा १६ वटा एन्टीस्नेक भेनम दिइयो। शरीरमा विषको असर हराउँदै गयो तर सर्पले टोकेको घाउमा संक्रमण भयो।
सर्पदंश उपचार केन्द्रले उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पठायो। त्यहाँ ५१ दिन बस्नुपर्यो। अहिले राधिका स्वास्थ्य लाभ गर्दै छिन्। सर्पले टोकेको खुट्टामा दुईपटक शल्यक्रिया र एकपटक प्लास्टिक सर्जरी भएको छ।
महेन्द्र भन्छन्, ‘विषको असर शरीरबाट हटिसकेको छ तर खुट्टाको घाउ अझै पूरा निको भएको छैन।’
चिकित्सकले लक्षणका आधारमा राधिकालाई गोमन सर्पले नै टोकेको हो भनेका थिए।
राधिकाको गाउँमा सर्पले टोकेका बिरामीलाई झारफुक गर्ने चलन पनि छ। महेन्द्र झारफुकतर्फ लागेनन्।
उनले भने, ‘अझै पनि सर्पले टोकेको बिरामी झारफुकबाट निको हुन्छ भन्ने अन्धविश्वास छ। म त्यातिर लागिनँ। श्रीमतीलाई तुरून्तै अस्पताल लगेँ।’
एक महिनाअघि अर्घाखाँचीको छत्रदेव गाउँपालिका, सिउँडेनीकी ४२ वर्षीया शान्ता भुसाललाई हातको औँलामा सर्पले टोक्यो।
बिहान ११ बजेतिर खाना खाएर घरको पाली सरसफाइ गर्दै थिइन्। अचानक हातमा केहीले टोक्यो। शान्ताले मुसो देखेकी थिइन्। त्यही मुसाले टोक्यो होला भन्ठानिन्। केही बेरमा त्यही ठाउँमा सर्प देखिन्। उनी झसंग भइन् र सर्पले टोकेको अनुमान गरिन्।
उनका भतिज टोपबहादुर थापा गोरुसिंगे सर्पदंश उपचार केन्द्रनजिकै कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, वसन्तपुरमा बस्थे। भतिजलाई फोन गरेर सर्पले टोकेको जानकारी गराइन्। टोपबहादुरले झारफुकमा नलागी जतिसक्दो छिटो गोरुसिंगे आउनू भने।
केही गाउँलेले झारफुकबाटै निको हुन्छ भनेका थिए। कसैको कुरा नसुनी औँलाको फेदमा कपडाको धरोले बाँधेर उनी तुरून्तै बाटो लागिन्।
गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा पुग्दासम्ममा पनि शरीरमा विष थिएन। सर्प विषालु थियो कि थिएन भन्ने थाहा भएन।
उपचार केन्द्रले उनलाई अब्जरवेसनमा राख्यो। राति उनलाई पेट दुख्यो। आँखा धमिलो भयो। बोली लरबरियो। यस्तो लक्षण देखिएपछि सर्प विषालु नै थियो भन्ने पुष्टि भयो।
उनले उपचार केन्द्रबाट चार दिनमा बिदा पाइन्। सात वटा एन्टिस्नेक भेनम दिनुपर्यो। टोपबहादुरका अनुसार हाल शान्ताको शरीरमा विषको असर छैन तर औँलो बढी कसेर बाँधेको हुनाले त्यसमा रक्तसञ्चार बन्द भयो। अहिले औँलाको उपचार चल्दैछ।
बुद्धभूमि नगरपालिका–४ का इन्द्रमणि बेलबासे यही असोज पहिलो साता मामाघर गएका थिए। आँगनमा कुर्सीमा बसेकै अवस्थामा सर्पले दुईपटक टोक्यो।
पहिलो पटक केहीले घोचेको जस्तो भएको थियो तर उनले वास्ता गरेनन्। फेरि त्यस्तै भएपछि कुर्सीमुनि हेरे। गोमन सर्प रहेछ।
मामाका छोरा रूपक खनाल आँगनमै थिए। गाडीमा राखेर तत्कालै सर्पदंश उपचार केन्द्रतर्फ दौडाए, १४ मिनेटमै उपचार सुरू भयो।
त्यतिन्जेलमै इन्द्रमणिको शरीरमा विष फैलिसकेछ। बाह्र घण्टाको उपचारपछि केन्द्रले लुम्बिनी प्रादेशिक अस्पताल पठायो। त्यहाँ चार दिन उपचार गरेपछि उनको शरीरमा विषको असर कम हुँदै गयो।
सर्पले टोकेको घाउमा संक्रमण भयो। त्यसको उपचार चल्दै छ।
उनी भन्छन्, ‘घाउ वरिपरि कालो भएको छ। ज्यान जोगियो। खुट्टो पूरा निको अझै केही दिन लाग्छ भनेका छन्।’
विषालु सर्पले टोकेका उपर्युक्त घटनामा समयमै सर्पदंश उपचार केन्द्रमा पुगेका बिरामीहरू बाँच्न सके।
धेरैजसो टोकेको वा घोचेको जस्तो भए पनि सर्प नदेखेको अवस्थामा वास्ता हुँदैन। कतिपय व्यक्ति त सर्पले टोकेको थाहा पाएर झारफुकतिर लाग्छन्। यसरी उपचारमा ढिलो हुन्छ र बिरामीको ज्यान जान्छ।
गत असार २५ गते कपिलवस्तुको बुद्धभूमि गाउँपालिका–१ मा राति सुतेकै ठाउँमा विषालु सर्पले टोकेर ११ वर्षका र ९ दाजुभाइको ज्यान गयो। सर्पले टोकेपछि अभिभावकले झारफुक गराएका थिए।
यही असोज १६ गते बाणगंगा नगरपालिका–९, भलवाड जिनुवाका आठ वर्षका र तीन वर्षका दिदीबहिनीलाई राति सुतेको ठाउँमा सर्पले टोकेको थियो।
राति १२ बजेतिर टोकेको भए पनि अभिभावकले बिहान चार बजेतिर मात्रै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुर्याएका थिए। समयमा उपचार नपाउँदै दुबै जनाको मृत्यु भयो।
सर्पदंश उपचार केन्द्र, गोरुसिंगेका व्यवस्थापक भण्डारीका अनुसार केन्द्रले उपचारसँगै सर्पको टोकाइबाट जोगिने उपायबारे जनचेतना अभिवृद्धिको काम पनि गर्छ। झारफुकमा नलाग्न पनि सम्झाउँछ तै पनि धेरैलाई झारफुकमा विश्वास छ।
उनी भन्छन्, ‘झारफुकले सर्पले टोकेको निको हुँदैन,अस्पताल लैजानुपर्छ भन्ने चेतना ग्रामीण क्षेत्रमा कम देखिन्छ। झारफुकमा लाग्दा अकालमा ज्यान जाने गरेको छ। मृत्यु हुनेमा बालबालिका धेरै हुन्छन्।’
सर्पदंशको उपचारपछि पनि निकै लामो समय विषको असर रहन सक्छ। यसमा पनि झारफुक गराउने चलन छ।
‘गोमन र करेत सर्पले टोकेकोमा उपचारपछि पनि लामो समयसम्म शरीरमा विषको प्रभाव रहन सक्छ,’ भण्डारी भन्छन्, ‘झारफुकमा विश्वास गर्नेहरू अस्पतालबाट गएपछि पनि झारफुक नै गराउँछन् र त्यसैबाट निको भएको विश्वास गर्छन्।’
भण्डारीका अनुसार झारफुकमा लागेर उपचारमा ढिलो भएका कारणले गत आर्थिक वर्ष (२०७९/८०) मा सर्पले टोकेका ११ जनाको बाटोमै मृत्यु भयो। दुई जनाको उपचारको क्रममा मृत्यु भयो।
उपचारमा नलैजाँदै मृत्यु भएको घटनाको रेकर्ड सर्पदंश उपचार केन्द्रमा वा अस्पतालमा हुँदैन।
सर्पदंश उपचार केन्द्र, गोरुसिंगेमा गत वर्ष ७४३ जना बिरामी आएका थिए। तीमध्ये १६९ जनालाई विषालु सर्पले टोकेको थियो। यीमध्ये पनि ६९ जनालाई मात्र एन्टिस्नेक भेनम दिनुपरेको थियो।
भण्डारी भन्छन्, ‘विषालु सर्पले टोकेको भए पनि शरीरमा विष फैलिएको छैन भने एन्टिस्नेक भेनम दिनुपर्दैन।’
केन्द्रले गत वर्ष ११ जनालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको थियो। बालबालिकाको शरीरमा धेरै विष फैलिएको भए आइसियूमा राख्नुपर्ने हुन्छ। केन्द्रमा आइसियूको सुविधा छैन।
गत साउनयता उपचार केन्द्रमा सर्पदंशका साढे चार सय जति बिरामी आएका छन्। तीमध्ये १७ जनालाई मात्र एन्टिस्केन भेनम दिनुपर्यो, ९ जनालाई थप उपचारका लागि रेफर गर्नुपर्यो। एक जनाको उपचारकै क्रममा मृत्यु भयो।
भण्डारीले सर्पदंश उपचार केन्द्र, गोरुसिंगेमा व्यवस्थापक भएर काम गरेको १२ वर्ष भयो। उनका अनुसार सर्पले टोकेको शंका हुनासाथ उपचार केन्द्र जानुपर्छ। यसो गर्ने हो भने अत्यन्त कम संख्यामा मात्रै मृत्यु हुन्छ।
गोरुसिंगेको सर्पदंश उपचार केन्द्र नेपाली सेना र बुद्धभूमि नगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरेका छन्। उपचारको काम नेपाली सेनाको प्राविधिक टिमले गर्छ। अन्य व्यवस्थापनको जिम्मा नगरपालिकाले लिएको छ।
यो केन्द्रमा कपिलवस्तु गुल्मी, अर्घाखाँची, प्युठान र दाङ जिल्लाका बिरामी आउँछन्। छिमेकी देश भारतबाट पनि आउँछन्। यस केन्द्रमा एक वर्षमा सात सय जनासम्मले उपचार पाएका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालमा पनि गत वर्ष सर्पदंशका ६९६ जना बिरामी आएका थिए। तीमध्ये ८५ जनालाई विषालु सर्पले टोकेको थियो। अस्पतालका सूचना अधिकारी डा. नेत्र रानाका अनुसार उपचारका क्रममा ११ जनाको मृत्यु भयो।
गत असारमा सर्पदंशका १६८ जना बिरामी लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए। तीमध्ये १९ जनालाई विषालु सर्पले टोकेकोमा दुई जनाको मृत्यु भएको थियो। गत साउन र भदौमा मात्र ३०३ जना सर्पदंशका बिरामी आए, तीमध्ये ५४ जनालाई विषालु सर्पले टोकेको अस्पतालले जनाएको छ।