आमा, हजुरआमा र आफन्तजनले दुई वर्ष उमेरका रोहनको शव घेरेका थिए। अर्धचेत अवस्थाकी पुनिता मुखिया छोराको शव काखमा राखेर सुम्सुम्याउँदै र चुम्दै थिइन्। हजुरआमा अनिता मृत नाति छातीमा टाँस्दै सास फर्काउन घरिघरि मुखमा हावा भर्ने प्रयास गर्दै थिइन्।
हजुरआमाको प्रयास सफल भएन, रोहनको सास फर्केन। आधा घण्टाअघि मात्रै दूध चुसाएर खेल्न पठाएकी पुनितालाई छोराको मृत्यु भयो भन्ने विश्वास थिएन। हजुरआमाको मनले पनि नातिको मृत्यु स्वीकार गरेको थिएन।
जनकपुरधाम उपमहानगरपालिका–२५, केउटानी टोलका रञ्जित मुखिया र पुनिताका छोरा रोहनको शुक्रबार बिहान घरअगाडिको ढलान सडकमा नाली निर्माणका क्रममा बनाइको चेम्बर (मंगाल) मा जमेको गहुँत र पानीमा डुबेर मृत्यु भएको थियो।
बिहान ६ बजेतिर पुनिता रोहनलाई हजुरआमाका अगाडि छाडेर खाना बनाउने तयारीमा लागेकी थिइन्। हजुरआमा अनिता नातिको ख्याल राख्दै भैंसीका लागि कुटी काट्न थालिन्। कुटी काट्नु भनेको घाँस र पराल मिसाएर छोटोछोटो टुक्रा गर्ने काम हो।
त्यही बेला अचानक एउटा सानो बिरालो आयो। रोहन बिरालोसँग खेल्न थाले। हजुरआमा केहीबेर काममै मग्न भइन्। नातिको आवाज नसुनेपछि अलिक ठूलो स्वरले बोलाइन् तर रोहन बोलेनन्, आएनन् पनि। नाति घरभित्र नभेटेपछि अनिता छिमेकीका घरतिर गइन् तर रोहन कतै भेटिएनन्। टोलमा बच्चा हराएको भन्ने हल्ला फैलियो। आधा घण्टासम्म रोहन भेटिएनन्।
साढे ६ बजेतिर छिमेकी अमृता मण्डल सडक छेउमै बाँधेको भैंसीलाई घाँस दिन आइन्। त्यही बेला उनले रोहन चेम्बरमा डुबेको देखिइन्।
‘टाउको मुनिपट्टि थियो। बाहिरबाट थोरै खुट्टामात्र देखिएको थियो। म डराएर चिच्याएँ। वरिपरिका सबै भेला भएर बच्चा निकाले,’ उनले भनिन्।
उनका अनुसार त्यतिबेला रोहनको सास थोरथोरै चलेको थियो। परिवारजनले तत्कालै लोहना बजारस्थित एउटा क्लिनिकमा लगे। त्यहाँ रहेका स्वास्थ्यकर्मीले तुरून्तै अस्पताल लैजान भने। अस्पताल लैजाँदै गर्दा बाटोमै रोहनको मृत्यु भयो।
रोहनका बुवा रोजगारीको क्रममा कतारमा छन्।
घटनापछि केउटानी टोलका बासिन्दा शोकमा छन्। सडकमा जताततै खुला चेम्बर छन्। यस्तो अवस्थाले उनीहरू आक्रोशित छन्।
आर्थिक वर्ष २०७७/७८ मै बनेको सडकमा बनाइएको चेम्बरको खाल्डोमा ढक्कन लगाइएको छैन। सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रम अन्तर्गत साढे तीन सय मिटर सडक ढलान गरिएको थियो।
उक्त सडक संघीय आयोजना कार्यान्वयन एकाइ धनुषाको कार्यालयबाट ५० लाख रुपैयाँ बजेटमा ढलान भएको थियो। चेम्बरसहित १६ फिट चौडाइ र साढे तीन सय मिटर लम्बाइ भएको उक्त सडक निर्माण गर्न स्थानीय बासिन्दा शम्भु मण्डलको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको थियो।
उपभोक्ता समितिले ठेकेदारमार्फत काम गराएको थियो। समितिका अध्यक्ष शम्भुका भाइ इन्जिनियर अजित मण्डलले ठेक्का लिएका थिए। आफूले ठेक्का लिएर काम गरेको स्वीकार गरे पनि कति रूपैयाँमा लिएको भन्ने खुलाउन चाहेनन्। उपभोक्ता समितिले आफैंले काम गर्नुपर्ने, कुनै ठेकेदार वा निर्माण कम्पनीलाई ठेक्का दिन नपाइने नियम छ।
समितिका कोषाध्यक्ष अनुप मण्डलका अनुसार बजेट दिने कार्यालयले भुक्तानीमा साढे दुई लाख रूपैयाँ कम गरेपछि ठेकेदारले चेम्बरमा ढक्कन नलगाई छाडेको हो।
‘सडक निर्माणमा धेरै लापरबाही भयो। ढक्कन नलगाएर ठूलो गल्ती भयो। यो गल्ती सुरूमै गरियो,’ उनले भने, ‘मैले पढलेख गरेको छैन। केही पनि बुझ्दिनँ। अध्यक्ष र ठेकेदारले भनेको ठाउँमा सहीछाप गरिदिएँ।’
संघीय आयोजना कार्यान्वयन एकाइ धनुषाका अनुसार सडक ढलान र चेम्बरको ५१ वटा ढक्कनबापतको भुक्तानी भएको छ। उक्त सडकका साइट सबइन्जिनियर मनोज मण्डलका अनुसार ढक्कनसमेत लगाएपछि योजनाको भन्डै ४७ लाख रूपैयाँ भुक्तान भएको हो।
उनले भने, ‘उपभोक्ता समितिमा विवाद भयो। विवादले गर्दा ढक्कन निकालेर घरमा लगेको होला। काम भइसकेपछि मात्रै सबै भुक्तानी दिइएको हो।’
टोलबासीका अनुसार चेम्बरमा कहिल्यै ढक्कन लगाइएको छैन। सुरूदेखि नै सबै चेम्बर खुला छन्। ठेकेदारले सबै ढक्कन दुई वर्षदेखि आफ्नै घरको छतमा राखेका छन्। दाजुभाइ रहेका उपभोक्ता समितिका अध्यक्ष र ठेकेदारले आफ्ना घरअगाडि तीन वटा चेम्बरमा ढक्कन लगाएका छन्। अरू चेम्बर खुलै छाडेका छन्। ठेकेदार अजितका अनुसार उपभोक्ता समितिका सल्लाहकार रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का स्थानीय नेता कौशल चौधरीले ढक्कन लगाउने पैसा आफूसँग राखेर काम नगरेका हुन्।
‘मैले ३० वटा ढक्कन किनें तर कौशलले पैसा दिएनन्। त्यसैले ढक्कन आफ्नो घरमा राखेको हुँ। साढे तीन लाखभन्दा धेरै पैसा उनैले राखेका छन्,’ उनले भने, ‘कौशलले पैसा नदिएपछि गाउँमा पञ्चायती (छलफल) बस्यो। उनले एक–डेढ महिनाभित्र सबै काम सक्ने र पैसा पनि दिने भनेर विश्वास दिलाए तर पैसा दिएनन्।’
यस सम्बन्धमा कुरा गर्दा कौशलले आफूले लिएको पैसा ढक्कनको नभई मजदूरलाई दिनुपर्ने र माटो भराइ बापतको रहेको र ठेकेदार अजितले आफूलाई दिएको जिकिर गरे। उनका अनुसार ढक्कन लगाउने जिम्मेवारी ठेकेदारकै हो, यसमा उनी जिम्मेवार छैनन्।
सडकको काममा भएको लापरबाहीले टोलमा कयौं पटक साइकल, मोटरसाइकल र टेम्पो दुर्घटनामा परेको स्थानीयवासीको भनाइ छ। दुई साताअघि स्थानीय भोला मण्डल यस्तै खाल्डोमा खसेका थिए।
चेम्बरको खाल्डोमा पोहोर साल तीन वर्ष उमेर अदिश ठाकुर पनि खसेका थिए तर परिवारजनले तुरून्तै देखेका हुनाले उनी सकुशल रहे।
‘हामीले ढक्कन नलगाएसम्म ढलान गर्न दिँदैनौं भनेर विरोध गरेका थियौँ तर ठेकेदार र गाउँकै केही नेताहरूले जबर्जस्ती गरे। धेरै नबोल भनेर धम्क्याए,’ अदिशका बाजे दिप्लु ठाकुरले भने, ‘यहाँ गरिब मान्छेको केही चल्दैन। वडाध्यक्षलाई पनि भनेका हौं तर कुरा सुनेनन्।’
वडा नम्बर २५ का वडाध्यक्ष चन्देश्वर साहले पूर्ववडाध्यक्ष उमेश यादवको कार्यकालमा काम भएकाले यसबारे आफूलाई केही थाहा नभएको बताए।
उनले लापरबाहीका कारण बालकको ज्यान गएकोले तुरून्तै ढक्कन लगाउन आफूले पहल गर्ने बताए।
‘सडक बनाउने बेलै ढक्कन लगाउनुपर्थ्यो। मलाई कसैले भनेन। मैले थाहा पाएको भए असारमै ढक्कन लगाउन बजेट राखिदिन्थें,’ उनले भने, ‘यो सब कसले गरेको छ, मलाई थाहा भएन।’
जनकपुरधाममा करिब आधा दर्जन ठाउँमा बनाइएका सडकमा नालीका चेम्बर खुलै छन्। उपमहानगरपालिकाको बेवास्ताका कारण बासिन्दाहरू जोखिम छन्।