हिमालपारि मुस्ताङको जोमसोम पार गरेर अघि बढेपछि विचित्रको भूगोलमा पुगिन्छ।
जोमसोमको तल्लो भेगमा डाँडापाखाभरि देखिने बोटबिरूवा र जंगल उपल्लो मुस्ताङमा देखिँदैनन्। त्यहाँको विचित्र भूगोल र पहाडमा देखिने प्वालहरू आदिमकालका मानव बस्तीका अवशेष हुन् भन्ने अनुमान गर्न सकिन्छ।
जोमसोमबाट अलिक परको कागबेनी पार गरेपछि माटोको पहाड फेला पर्छ। माटोका ठूल्ठूला थुप्राजस्ता देखिने यस्ता पहाड चट्टानजस्ता बनेका छन्।
समाजशास्त्री रामचन्द्र बरालका अनुसार माटोले बनेका चट्टाने पहाडमा देखिने प्वालहरू कुनै बेला मानिसले खोपेका थिए। मानव बस्ती विकासको प्रारम्भिक चरणमा यसो गरिएको उनको अनुमान छ।
‘हिमालपारि माटोका पहाड खोपेर मानिसले बसोबास गरेको देखिन्छ। यसको विस्तृत अध्ययन त भएको छैन, तर प्वालभित्र हेर्दा कुनै युगमा मानिसले बसोबासका लागि गुफा निर्माण गरेको हुनुपर्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ,’ उनले भने।
उपल्लो मुस्ताङमा हालसम्म भेटिएका गुफामध्ये सबभन्दा ठूलो लोमान्थाङ गाउँपालिका–१, छोसेरको ‘सिजा झोङ’ हो। स्थानीय भाषामा ‘झोङ’ भनेको गुफा हो।चीनको सीमानातर्फ मुस्ताङको अन्तिम गाउँ रहेको छोसेर समुद्री सतहबाट तीन हजार ७८५ मिटर उचाइमा छ। माटोको पहाड खोपेर बनाइएको सिजा गुफा पाँच तलाको छ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरूङका अनुसार गुफाभित्र साना ठूला गरी कम्तिमा ६० वटा कोठा छन्। गाउँपालिकाले केही संरक्षण गर्नुका साथ उक्त गुफालाई पर्यटकीय क्षेत्र मानेको छ। लोमान्थाङ पुग्ने अधिकांश पर्यटक सिजा गुफा पुग्छन्। पहाड खोपेर भित्रभित्रै पाँच तलासम्म कोठाहरू बनाएको देख्दा आश्चर्यमा नपर्ने कोही हुँदैन।
गाउँपालिकाले गुफाभित्र तल्लो तलाबाट माथिल्लो तलासम्म जान काठको भर्याङ राखिदिएको छ। गुफा घुम्न प्रवेश शुल्क तिर्नुपर्छ। आगन्तुकलाई गुफाबारे जानकारी गराउँछन्, ६४ वर्षीय मिङमार भोटे गुरूङ।
उनी तोकिएको शुल्क लिएर प्रवेश पास दिन्छन्, आगन्तुकहरूका साथ भित्र जान्छन् र गुफाबारे वर्णन सुरू गर्छन्।
‘हाम्रो पालामा होइन, उहिले बाजेको पनि बाजेको पालामा खोपेर गुफा बनाइएको हो भनिन्छ। धेरै पछि रूख रोपेर गाउँलेले घर बनाको भन्छन्। हामीले सुनेको मात्र हो,’ उनले सेतोपाटीसँग भने।
गुफाको प्रवेशद्वार जमिनको सतहबाट केही फिट माथि छ। प्रवेशद्वारामा पुग्न गाउँपालिकाले सिँढी बनाएको छ। छोसेरको सिजा गुफाबाट सिधै अगाडि पनि माटोको अर्को थुम्को देखिन्छ। थुम्कोका ठाउँठाउँमा साना–ठूला प्वाल देखिन्छन्। मिङमारका अनुसार त्यहाँ पनि गुफा छन्। लोमान्थाङकै चराङ गाउँमा पनि यस्ता गुफा छन्। सबभन्दा ठूलो चाहिँ सिजा गुफा नै हो।
सिजा गुफाभित्र काठ र माटोले बनेका केही भाँडाकुँडा र अन्य सामान देखिन्छन्। ती सामग्री गुफाको एउटा कोठामा सिसाभित्र सुरक्षित राखिएका छन्। पुराना ढाँचाका केही कपडा पनि छन्। लोमान्थाङका भोटेले छ्याङ (जाँड) राख्न प्रयोग गर्ने काठको भाँडा पनि छ, जसलाई स्थानीय भाषामा ‘केरे’ भनिँदो रहेछ।
त्यस्तै, सिकार खेल्न प्रयोग हुने सामान र धागो बुन्ने सामान छन्। चिया पकाउने माटोका भाँडा, चिया खाने कप र घ्यू राख्ने भाँडा पनि छन्। जुत्ता समेत देखिन्छन्।गुफाभित्र केही कोठाको भित्तो कालो देखिन्छ। मिङमारका अनुसार भित्ताको कालो कुनै अरू चिज होइन, मान्छे बसेका बेला बालेको आगोको धुवाँ र ध्वाँसो हो।
‘बाजेका पालामा गुफामा आगो बाल्दा धुँवाले भित्ता कालो भएको हो, अरू केही होइन,’ उनले भने।
हामीले भेट्दा मिङमार गुफा हेर्न आउने पर्यटकलाई प्रवेश पास दिन र उनीहरूसँग गुफाभित्र जान हतारमा देखिन्थे। उनलाई गुफाका कोठाचोटा छिटो देखाएर फर्कनु थियो। उनी कोठाहरूको उपयोगबारे पनि जानकारी गराउँथे। आगन्तुकले बढी अलमल गरे भने हतार लगाउँथे।
पर्यटकहरू भने उनको कुरा सुन्दै गुफा घुम्दा झन् रोमाञ्चित देखिन्थे। यति ठूलो गुफा मान्छेले कसरी खोपे होलान्? कोठाहरू कसरी बनाए होलान्? तलाहरू कसरी बनाए होलान्?
मिङमारलाई यस्ता प्रश्नमा घोत्लिने समय थिएन। सायद सबैको जवाफ पनि थिएन। उनी पर्यटकहरूले सोध्ने अनेक प्रश्नबाट दिक्क मानेजस्ता पनि देखिन्थे र भन्थे – कति कुरा सोधेको हो!
लोमान्थाङका बासिन्दा इन्द्रधारा बिष्टको अनुमानअनुसार यी गुफा कम्तीमा दुई हजार वर्ष पुराना हुनुपर्छ। सिजा गुफाबारे गहन अध्ययन भएको छैन, तर त्यसले लोमान्थाङको बस्ती विकासको पुरातात्विक र ऐतिहासिक प्रमाण दिनसक्छ।
‘सिजा गुफा मुस्ताङको राजतन्त्रभन्दा पुरानो बस्तीको अवशेष हो। जंगली र ढुंगे युगबाट मानिसमा चेतनाको विकास भएसँगै सामूहिक रूपमा बसोबास सुरू भएको प्रमाण हो,’ बिष्टले भने, ‘लोमान्थाङको राजतन्त्र साढे सात सय वर्ष चल्यो। बस्ती विकास गरेर राज्य निर्माण हुनुअघि नै गुफा बनाएर मान्छे बसेको देखिन्छ।’
बिष्ट गण्डकी प्रदेशका पूर्वसांसद र लोमान्थाङ राजाका सल्लाहकार पनि हुन्।
छोसेर, लोमान्थाङ, चराङ लगायत गाउँमा पानीको उपलब्धता राम्रै छ। बस्तीहरू ‘भोटे पिपल’ भनिने रूखहरूले हरियाली बनाएका छन्। स्थानीयवासीका अनुसार यी रूख चिस्यान भएको जमिनमा मात्र हुर्किन्छन्। बस्ती बसेका ठाउँमा हिमाली क्षेत्रमा हुने खेती पनि छ, तर आँखाले भ्याउनेसम्म ठूलो भू-भाग उजाड देखिन्छ।
भूगोलविदहरूले उपल्लो मुस्ताङलाई ‘चिसो मरूभूमि’ भनेका छन्। बिरूवाका नाममा काँडायुक्त बुट्यान–झार देखिन्छ। यसबाहेक अन्य बिरूवा देखिँदैनन्।बस्ती आसपासका भोटे पिपल स्थानीयवासीले काठ र दाउराका लागि प्रयोग गर्छन्। यो रूखले हिमालपारि चल्ने हावाहुरीको असर कम गर्न पनि मद्दत गर्छ।
पूर्वसांसद बिष्टका अनुसार अहिले पानीको स्रोत वरिपरि बस्ती बनाएका उपल्लो मुस्ताङवासीहरू गुफाबाट सिधै आएका होइनन्। उनीहरू गुफा छाडेर डाँडाको टुप्पातिर गए। ती ठाउँमा अहिले पनि बस्तीका भग्नावशेष भेटिन्छन्।
‘गुफाबाट हाम्रा पुर्खाले डाँडाहरूमा बस्ती बसाएको देखिन्छ। त्यति बेलाका घर, गाउँ र दरबारका भग्नावशेष अहिले पनि छन्,’ उनले भने, ‘डाँडामा पनि सात–आठ सय वर्ष जति बसेको देखिन्छ। त्यसपछि मात्र अहिलेका ठाउँमा बसाइँ सरेको हुनुपर्छ।’
डाँडामा चल्ने तीव्र वेगको हावाबाट जोगिने र पानी पाउने उपाय खोजी गर्दै बसाइँ सरेको उनको अनुमान छ।
‘जीवनका लागि सबभन्दा महत्वपूर्ण पानी हो। डाँडामा पानीको धेरै दुःख भयो होला अनि पानी खोज्दै अलिक तलतिर आएर बसे होलान्,’ उनले भने।
उनको विचारमा गुफाबाट डाँडामा बस्ती बसेपछि राज्यको अवधारणा सुरू भएको हुन सक्छ। गुफामा राजा बस्ने ठाउँ प्रस्ट छैन, तर डाँडाका बस्तीमा पुरानो दरबारको भग्नावशेष देखिन्छ। बिष्ट लोमान्थाङ बस्ती तिब्बतको सभ्यताभन्दा पुरानो मान्छन्। पश्चिम तिब्बतमा मानिस बस्न बनेका यस्ता गुफा देखिए पनि लोमान्थाङको जति पुराना नरहेको उनको भनाइ छ।
‘उपल्लो मुस्ताङका बासिन्दा गुफामा बस्न थाल्दा तिब्बतमा त्यस्तो देखिँदैन, पश्चिम तिब्बतमा मात्र यस्ता गुफा छन्,’ उनले भने, ‘यसरी हेर्दा हाम्रो बस्ती विकास तिब्बतको सभ्यताभन्दा पुरानो देखिन्छ।’
उपल्लो मुस्ताङको अनौठो भूगोलको कथा पनि रोचक छ।
करिब ६ करोड वर्षअघि पृथ्वीमा भएको हलचलले हालको एसिया महादेश बनेको भूगर्भविदहरूले बताउने गरेका छन्। भूगर्भविद् कृष्ण केसीका अनुसार त्यही हलचलको प्रक्रियाअन्तर्गत समुद्रको पिँध उठेर लोमान्थाङ बनेको हो।
लोमान्थाङमा देखिएको माटोको पहाडमा समुद्रको पिँधको पाँगो माटो पाइन्छ भने तलतिर देखिएको बलौटो पहाड पनि समुद्रकै अंश हो।
‘हाल एसिया महादेश भएको भू-भागमा करिब ६ करोड वर्षअघि टेथिस सागर थियो। त्यति बेला इन्डो–अस्ट्रेलियन प्लेट र युरेसियन प्लेट जुध्दै थिए,’ पृथ्वीनारायण क्याम्पस, पोखराको भूगर्भ विभागका पूर्वप्रमुख केसीले भने, ‘युरेसियन प्लेटभित्र इन्डो–अस्ट्रेलियन प्लेट घुस्न थालेपछि उत्पन्न भएको भौगोर्भिक हलचलले टेथिस सागरको गहिराइ उचालिएर हिमशृंखला र पहाडहरू बने।’
युरेसियन प्लेट इन्डो–अस्ट्रेलियन प्लेटमा घुस्ने क्रम रोकिएको छैन। त्यही प्रक्रियाअन्तर्गत बेलाबखत भूकम्प आउने गरेको केसीले बताए।
समाजशास्त्री रामचन्द्र बरालका विचारमा लोमान्थाङमा मानिसको बसोबास औषधिका लागि जडिबुटी खोजी गर्ने र भेडा चराउने क्रममा सुरू भएको हुन सक्छ। तिब्बती भूगोलबाट भेडा चराउँदै आएर लोमान्थाङमा बस्ती बसाएको हुन सक्ने उनी बताउँछन्।
उनका अनुसार उहिले लोमान्थाङ नभनेर ‘मेन्थाङ’ मात्रै भनिन्थ्यो। स्थानीय भाषामा ‘मेन’ भनेको ‘औषधि’ र ‘थाङ’ भनेको चउर हो। औषधि पाउने चउरका रूपमा मेन्थाङ भनियो र कालान्तरमा लोमान्थाङ भनिएको उनी अनुमान गर्छन्।
‘स्थानीय बासिन्दाले लोमान्थाङलाई बुटीको उर्वर मैदानका रूपमा बुझ्छन्,’ उनले भने, ‘जडिबुटीकै कारण लोमान्थाङ क्षेत्रमा बस्ती विकास भएको मानिन्छ।’
लोमान्थाङ क्षेत्र बसोबासका लागि उपयुक्त देखिएपछि समुद्री पाँगो माटोबाट बनेको पहाड खोपेर गुफामा बस्ती बसाएको अनुमान बरालको छ। गुफाभित्र बस्दा लुटेरा समूहबाट जोगिन र ध्यान-साधना गर्न सजिलो हुन्थ्यो। गुफाको बसाइ खुला ठाउँको प्राकृतिक प्रकोपबाट जोगिने उपाय पनि हुन सक्थ्यो।
‘लोमान्थाङमा मान्छेको सामाजिक उद्विकासबारे विस्तृत अनुसन्धान आवश्यक छ,’ बरालले भने, ‘गुफा युगदेखि राज्य निर्माणको युगसम्म अध्ययन गर्न लोमान्थाङ उपयुक्त थलो हुन सक्छ। त्यहाँ अनेक प्रमाण भेटिन सक्छन्।’
पश्चिमा लेखकहरूले लोमान्थाङलाई तिब्बतको ‘लुकेको भूमि’ भनेका छन्। भाषा, संस्कृति, धर्म, रहनसहन, भूगोल लगायत विविध पक्ष तिब्बतसँग मिल्ने भएकाले पश्चिमा लेखक तथा अनुसन्धाताले लोमान्थाङलाई तिब्बतकै अंशका रूपमा मानेको हुन सक्ने सामाजशास्त्री बरालको भनाइ छ।
तर पश्चिमा लेखकले दाबी गरेजस्तो लोमान्थाङ तिब्बतको अंश होइन।
‘तिब्बतका राजासँग लोमान्थाङका राजाले छोरी मागेको इतिहास छ। लोमान्थाङ राज्यले तिब्बत मात्र होइन, लद्दाखसँग पनि सम्बन्ध राखेको देखिन्छ,’ लोमान्थाङको राजतन्त्र र स्थानीय समाज व्यवस्थाका विषयमा अनुसन्धान गरेका बरालले भने, ‘भाषा, संस्कृति र भूगोल मिल्दैमा लोमान्थाङलाई तिब्बत राज्यको अंश मान्न सकिँदैन।’
उनका अनुसार लोमान्थाङमा तिब्बती लामा संस्कृति भित्रनुमा तिब्बतका राजा स्रङ-चङ-गम्पोको भूमिका छ। उनले नेपालकी लिच्छवि राजकुमारी भृकुटीसँग बिहे गरेका थिए। त्यसपछि तिब्बती राजाले लोमान्थाङमा लामाहरू पठाएर बौद्ध लामा परम्परा चलाए।
लोमान्थाङका बासिन्दा बिष्ट भने राज्यको अवधारणा आउनुअघि लोमान्थाङलाई तिब्बतकै अंशका रूपमा बुझ्न सकिने मान्छन्। उनको विचारमा राज्यहरू बन्न थालेपछि लोमान्थाङ छुट्टै राज्यका रूपमा स्थापित भयो।लोमान्थाङका राजाले लद्दाखका राजालाई छोरी दिएको र लद्दाखका राजाकी छोरी तिब्बतका राजाले बिहे गरेको इतिहास छ।
अनुसन्धाता रमेश ढुंगेलको पुस्तक ‘अ किङडम आफ लो मुस्ताङ ः अ हिस्टोरिकल स्टडी’ मा उल्लेख भएअनुसार बाइसे, चौबीसे राज्यसँगै मुस्ताङ राज्यको स्थापना भएको थियो। मुस्ताङका पहिलो राजा आमेपाल थिए। उनको राज्य पश्चिममा गुगे पुराङ र डोल्पा, दक्षिणमा थाकखोलासम्म थियो।
सोह्रौं शताब्दीको मध्यतिर मुस्ताङ राज्यलाई जुम्ला राज्यले आफ्नो अधिनस्थ गर्यो। जुम्लाबाट स्वतन्त्र भएपछि मुस्ताङ राज्य २४० वर्ष स्वतन्त्र रहेको उनले लेखेका छन्। मुस्ताङ राज्य अठारौं शताब्दीमा नेपालमा गाभिएको हो। नेपालमा गाभिँदा पनि लोमान्थाङका राजालाई ‘सांस्कृतिक राजा’ को दर्जा दिइएको थियो। गणतन्त्र स्थापनापछि नेपाल सरकारले उक्त दर्जा खारेज गरेको थियो।
तत्कालीन गृहमन्त्री वामदेव गौतम सांस्कृतिक राजाको पदवी हटाएको जानकारी दिन र नेपाल सरकारले मुस्ताङका राजालाई दिएको श्रीपेच फिर्ता लिन लोमान्थाङ पुगेका थिए।
लोमान्थाङ राजाका सल्लाहकार बिष्टका अनुसार नेपालका तत्कालीन राजा सुरेन्द्र विक्रम शाहसँगको सहमतिमा लोमान्थाङ नेपालमा गाभिएको हो।
‘लोमान्थाङ र नेपालबीच लडाइँ भएर गाभिएको होइन। लोमान्थाङका राजालाई सांस्कृतिक राजाको अधिकार दिएर सहमतिमै गाभिएको थियो,’ उनले भने।
नेपालले सांस्कृतिक राजाको पदवी हटाए पनि उपल्लो मुस्ताङवासीले राजाकै रूपमा मान्ने भनेपछि गौतम श्रीपेच नलिई फर्केका थिए।