गुरूङ समुदायले मंगलबार पोखरामा घरेलु हतियारसहित र्याली निकाले। र्यालीमा सहभागी कसैले साँस्कृतिक बाजागाजा बजाएका थिए भने कसैले परम्परागत रूपमा गाउँ, समुदायमा प्रयोग गरिने सामग्री बोकेका थिए।
ताङतिङबाट पोखरा झरेकी ६१ वर्षीय बालकुमारी गुरूङले गाउँमा काम गर्दा घाम र पानीबाट जोगिन प्रयोग गरिने स्याखु ओढेकी थिइन्। उनले डोकोमा टुसासहित घरेलु सामग्री बोकेकी थिइन्।
यसरी पोखराको फूलबारीबाट सुरू भएको र्याली महेन्द्रपुल हुँदै नयाँबजारको तमु धिंको प्राङ्गणमा साँस्कृतिक कार्यक्रमसहित टुङ्ग्याएका थिए। गुरूङ समुदायले आफ्नो राज्य शत्रुबाट जोगाउन गरेको अभ्यास अहिले आएर ट्होंटे पर्वमा रूपान्तरित भएको तमु धिंका संस्थापक कर्मा गुरूङले बताइन्।
उनका अनुसार गुरूङ जातिले वर्षमा दुई पटक ट्होंटे पर्व मनाउँछन्।
गाउँघर र समुदायमा चैत र साउनको पहिलो मंगलबार ट्होंटे पर्व मनाउँछन्। पोखरामा तमु धिंको आयोजनामा अन्तिम मंगलबार यस पर्व मनाउने गरिएको गुरूङले बताइन्।
‘चैत र साउनको जुनसुकै मंगलबार पनि यो पर्व मनाउन सकिन्छ, हामीले २०५२ सालदेखि पोखरामा सामूहिक रूपमा यो पर्व मनाउन थालेका हौं,’ उनले भनिन्, ‘गाउँघर र समुदायमा ट्होंटे मनाएपछि सामूहिक रूपमा मनाउन समय मिलोस् भनेर हामीले अन्तिम मंगलबार रोज्यौं।’
गुरूङ जातिले मनाउने ट्होंटे पर्वको ऐतिहासिकता बाइसे चौबिसे राज्यसम्म पुग्ने अध्यक्ष गुरूङले बताइन्। त्यतिबेला गुरूङ जातिको आफ्नै राज्य थियो। हालको कास्की, लमजुङ लगायतका ठाउँमा गुरूङ जातिको आफ्नै राजा थिए।
त्यतिबेला राजाले सबै जनतालाई राज्यबाट शत्रु धपाउन ‘ट्होंटे’ गर्न लगाएको उनले बताइन्।
गुरूङ भाषामा ‘ट्हों’ शब्दको अर्थ राज्य वा बस्ती हुन्छ भने ‘टे’ को अर्थ धपाउनु। राज्य वा बस्तीबाट शत्रु धपाउन त्यतिबेला पनि हातहतियार, बाजागाजा र तन्त्रमन्त्रको प्रयोग हुने गरेको उनले बताइन्।
‘हाम्रो राज्य भएका बेला शत्रु धपाउन घरमा भएका हातहतियार र बन्दुक पड्काउँथे रे,’ उनले भनिन्, ‘शत्रुबाट राज्यलाई सुरक्षित राख्न पूरै जनता एकजुट हुन्थे भन्ने इतिहास छ।’
नेपाल एकीकरणका क्रममा गुरूङ राज्य गोरखामा विलय भएपछि भने यो पर्व साँस्कृतिक रूपमा मात्र मनाउने गरिएको उनले बताइन्।
‘अब हामीले ट्होंटे पर्व हाम्रो अधिकार सुरक्षित राख्न मनाउँछौं,’ उनले भनिन्, ‘हाम्रो समाजबाट गरिबी, अशिक्षा र कुसंस्कार हटाउन पनि ट्होंटे पर्वमार्फत् अपिल गरेका छौं।’
ताङतिङकी बालकुमारीले गाउँमा मनाउने ट्होंटे पर्वमा छुट्टै रौनक हुने बताइन्।
उनका अनुसार चैत र साउनको पहिलो मंगलबार गाउँमा पैंयुको काठमा कोइलाको कालो लगाइन्छ। उक्त काठ लिएर लामा, झाँक्रीले तन्त्रमन्त्र जप्छन्।
उक्त काठ बाजागाजा बजाउँदै गाउँको छेउछाउमा राख्छन्। घरको ढोकामाथि राखेर धुप बालेर पूजा गर्ने चलन रहेको बालकुमारी बताउँछिन्।
‘गाउँघरमा ट्होंटे मनाउँदा कुखुरा काटेर भोग दिने चलन छ, यसो गर्दा भूतप्रेत आउँदैन,’ उनले भनिन्, ‘गाउँका सबै भद्रभलाद्मी जम्मा भएर यो पर्व मनाउँछन्।’
तमु धिं नेपालका साँस्कृतिक विभाग प्रमुख कृष्णकुमार गुरूङले ट्होंटे पर्वमार्फत् आफूहरूको अधिकार दाबी गर्न थालिएको बताए।
संविधानमा उल्लेख भए अनुसार अधिकार नपाएको भन्दै उनले ट्होंटे पर्व आदिबासी जनजातिको सांस्कृतिक अधिकारको आन्दोलन भएको बताए।
‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं, तर हामी आदिबासीलाई अनुभूति नै भएन,’ उनले भने, ‘अझै पनि हामीले हाम्रो सामुदायिक राज्यबारे बोल्न पाएका छैनौं।’