जनकपुरधामस्थित भ्रमपुरा चोकबाट एक किलोमिटर पश्चिममा अर्को एउटा चोक आउँछ। त्यहाँबाट दक्षिणतर्फ हेर्दा चारैतिर ठूल्ठूला भवनको बीचमा केही झुपडीसमतको एउटा टोल छ। टोलको नाम हो विशालनगर।
सिंगो टोल विशालनगर भनिए पनि त्यहीँका झुपडीहरूको बस्तीको नाम अर्कै छ। अर्थात् ठूलो टोलभित्र अर्को सानो टोल छ जसको नाम हो मुसहरी। ती ठूला पक्की घरहरूले घेरिएका झुपडीको बस्ती मुसहर समुदायको हो अनि नाम रह्यो मुसहरी।
विशालनगरका बासिन्दा रामबाबु मण्डल भन्छन्, ‘यो पूरै टोलको नाम विशालनगर हो। यहीँ हामी मुसहर बस्ने ठाउँलाई चाहिँ मानिसहरू मुसहरी भन्छन्।’
मुसहर जातीय समुदाय हो। विशालनगरमा धेरै जसो सदा थरका मुसहरको बसोवास छ।
‘यो टोल त विशालनगर हो नि। हाम्रो बस्तीलाई हेला गरेर मुसहरी भनेका हुन्। एउटै टोलभित्र पनि जातकै नाम किटेर सानो टोल बनाइदिँदा हाम्रो मन दुखेको छ,’ ६५ वर्षीय मंगल सदा भन्छन्, ‘कतिलाई भन्नु! कतिसँग झगडा गर्नु!’
मंगललाई ठूलो जातका हौँ भन्नेहरूले मुसहरहरूलाई हेपेका हुन् भन्ने लाग्छ।
‘हामीलाई सबैले सानो जातको भनेर हेप्छन्। विरोध गर्दा तिमीहरू बढी नबोल भन्छन्। पिटाइ खाने डर हुन्छ,’ उनी भन्छन्, ‘हामीसँग पैसा छैन। पढेलेखेको पनि कोही छैन। राजनीतिम हाम्रो मान्छे छैन। हामीले अधिकारको कुरा गर्यौं भने टोलमा दुश्मनी हुन्छ।’
मंगलले आफू सानो छँदादेखि नै आफ्नो टोलको नाम मुसहरी भनेको सुनेका हुन्। उनी हालको जनकपुरधाम उपमहानगरपालिका–७ मा पर्ने जानकीनगरमा जन्मेका हुन्। त्यहाँ पनि जानकीनगर टोलभित्र मुसहरी थियो।
‘मेरा बाजेका पालादेखि नै मुसहरी भनेका हुन्। मैले पनि त्यही सुनें। मेरा छोराछोरी र नातिनातिनाले पनि त्यही सुनेका छन्,’ मंगल निराश सुनिन्छन्, ‘खोइ, हाम्रो त भाग्य नै यस्तै होला। ऊ बेला (बाजेका पालामा) पनि हामी खरको झुपडीमा बस्थ्यौं, आज पनि झुपडीमै बस्छौं।’
जानकीनगरमा मंगलको जम्मा दुई धुर जमिन थियो। त्यतिमा बसाइ नहुने भएपछि त्यो बेचेर विशालनगरमा चार धुर किने। त्यहाँ उनले खरको छाना लगाएर सानो घर बनाएका छन्। परिवारमा तीन जोडी छोराबुहारी र नातिनातिना छन्। सबै एउटै घरमा बस्छन्।
परिवारमा लेखपढ गरेका र गर्ने कोही पनि छैनन्। आम्दानीको स्रोत दैनिक ज्याला मजदुरी हो। त्यो समय स्कुल धेरै थिएनन् तैपनि बुबाले मंगललाई स्कुल पठाएका थिए तर उनको पढाइ अघि बढेन। स्कुलमा ‘छोइन्छ’ भनेर अरूले सँगै बस्न दिएनन्। उनलाई नरमाइलो लाग्यो। दुईचार दिन गए अनि छोडिदिए।
उनका हजुरबा र बुबा माटो खन्ने काम गर्थे। मंगल पनि त्यसमै लागे। उनले त्यो समय सम्झे, ‘छोइन्छ भनेर बस्नै दिएन अनि स्कुल गइनँ। माटो खन्ने काममा लागें। मेरा छोराछोरीलाई पनि पढाउन सकिनँ।’
उनलाई टोलका मान्छेले ‘मुसहर बा’ भनेर बोलाउँछन्। उनलाई ‘मंगल’ भनेको राम्रो लाग्छ तर धेरैले मुसहर बा नै भनिदिन्छन्।
मंगल भन्छन्, ‘मान्छेले बोलाउँदा त मेरा नाम नै भने हुन्थ्यो नि, भन्दैन। मुसहर बा भन्छ। बा भने पनि मुसहर जोडेपछि हेपेको जस्तो लाग्छ। हामी अरू (जात) लाई हप्दैनौं तर अरूले हामीलाई हेप्छन्।’
जनकीनगर र विशालनगरभित्रका मुसहरी प्रतिनिधि स्थान हुन्, मंगल प्रतिनिधि पात्र हुन्। मधेश प्रदेशमा मुसहर, चमार, दुसाध, मलाह लगायतका सीमान्तकृत समुदायका बस्तीको नाम तिनका जातसँगै जोडिएको हुन्छ; मुसहरी, चमार टोल, दुसाद टोल, मलाह टोल इत्यादि।
यी समुदायका सदस्यहरूलाई ‘सानो जात’ भनेर हेपेरै अरूले जातसँग जोडेर टोलको नाम राखेका भन्ने उनीहरूलाई लाग्छ।
महोत्तरीको रामगोपालपुर–४ का सवीन्द्र महराका अनुसार उनको घर रामगोपालपुरमा छ तर उनीहरूको समुदायको बस्तीलाई मानिसहरू ‘चमर टोली’ भन्छन्।
‘जहाँ गुवार, कोइरी, सुडी तेली, धानुख बस्छन् त्यहाँ अरू (उच्च भनिने) जातका मानिसले तिनको जातसँगै जोडेर टोलको नाम राखिदिन्छन्,’ उनी भन्छन्, ‘दलित भनिएका जातको बस्तीमा मात्रै यस्तो नाम हुन्छ। हेला गरेर यस्तो नाम राखिदिएका हुन्।’
सवीन्द्रका अनुसार रामगोपालपुर नगरपालिका–४ को ‘चमरी टोली’ मा ८० घर परिवार छन्। धेरै घरका युवाहरू वैदेशिक राजेगारी गए। केही पैसा कमाए। अलिक ठूला घर बनाए। बस्तीमा राम्रो बाटो पनि छन्। बासिन्दाको स्तर पनि बढेको छ। परिस्थिति धेरै बदलियो तर पनि बस्तीका नाम उही छन्।
स्थानीय बासिन्दा तुल्फीदेवी महराका ह ‘ठूलो जात’ का हुँ भन्ने मानिसहरूको विचार बदलिएको छैन। अहिले पनि उनीहरू ‘छोइन्छ’ भनेर तर्किन्छन्।
‘हाम्रा बाजेबज्यै हिँड्दा छोइन्छ भन्थे, आज हामी हिँड्दा पनि छोइन्छ भन्छन्,’ तुल्फीदेवी हाँस्दै व्यंग्य गर्छिन्, ‘राम्रा स्कुल हामी भन्दा उनीहरू नै जान्छन्, धेरै कुरा हामीलाई भन्दा उनीहरूलाई नै थाहा छ। राजनीति र कानुन उनीहरू नै जान्दछन् तर मान्छे बराबर हो भन्ने चाँही सिकेनन्। समय बदलियो ठूला जातका मान्छे हौँ भन्नेहरूको चेतना बढेन। हाम्रो पनि त पहिले भन्दा कति धेरै फरक भयो तर हामीमाथि विभेद हटेको छैन। आफूलाई ठूला विभेद छँदैछ, हटेको छैन।’
मानव अधिकार सम्बन्धी गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का मधेश प्रदेश संयोजक राजु पासवानका अनुसार हीनताबोध हुनेगरी जातकै आधारमा बस्तीको नाम राख्नु मानव अधिकार विरोधी काम हो, जातीय विभेद हो।
‘कथित उपल्लो जातका मानिस शिक्षित भए, उनीहरूले आफ्ना टोलका राम्रा नाम राखे। दलितहरू प्रायः अशिक्षित छन्। यिनले नाम राख्न जानेनन्,’ राजु भन्छन्, ‘उपल्ला जात भनिएका मानिसहरूले दलिका जातै जोडेर बस्तीका नाम राखिदिए।’
यस्तो विभेद हटाउन स्थानीय सरकारले काम गर्नुपर्छ भन्ने उनको धारणा छ। जातीय विभेद अन्त्य गर्न तीनवटै तहका सरकार गम्भीर हुनुपर्छ।
भन्छन्, ‘हेप्ने मनसायले जातसँग जोडेर नाम रादिएका बस्तीका नाम स्थानीय सरकारले फेर्नुपर्छ, नयाँ नाम राख्नुपर्छ।’
दलित समुदायको हकअधिकारका अभियानी चन्देश्वर सदाको निष्कर्षअनुसार जातसँग जोडेर बस्तीको नाम राख्नुमा जातीय विभेदले नै काम गरेको छ।
भन्छन्, ‘उपल्लो भनिने जातिका मानिसहरूले आफ्नो प्रभुत्व जमाउन र हामी ठूला हौं भन्ने देखाउन आफू बस्ने ठाउँलाई राम्रो नाम दिए। हेप्न सक्नेलाई हेय भावले जातसँग जोडेर नाम राखिदिए। अहिलेसम्म यस्तै चल्दैछ।’
उनले मानसिका नाम र बस्तीका नाम राख्ने चलनलाई वर्ण व्यवस्थासँग जोडेर हेरेका छन्। उनको ठहरअनुसार सबैभन्दा उच्च श्रेणीमा ज्ञानसूचक हुने गरी नाम राखिए। दोस्रोमा बल–शक्तिसूचक र तेस्रोमा धनसूचक नाम राखिए। चौथोमा अछुत हुने व्यवस्था गरेर हीनताबोध हुने नाम राखिए।
‘अछुत भनेर मान्छेको नाम बिल्टा, घुरना, दुखिया राखे। तिनीहरू बस्ने टोलको नाम जातसँग जोडेर राखे,’ चन्देश्वर भन्छन्, ‘गुवरटोल, सुडी टोल, तेली टोल, कोइरी टोल नाम थिए। यी जातिहरू समृद्ध हुँदै गए, टोलका नाम पनि फेरिए। दलित बस्तीका नाम कहिल्यै फेरिएनन्।’
छुवाछुत देखाउने र हेप्ने मनशायका नाम बदल्ने अभियान नै चलाउनुपर्ने उनको धारणा छ।
भन्छन्, ‘यसबारेमा राज्यले सोच्नुपर्यो। नागरिक समाज र बौद्धिक वर्गले पनि विचार गर्नुपर्यो। ब्राह्मणवादी सोच र चिन्तनले हेला गरेर राखिएका नाम हटाउन सबैको सहयोग चाहिन्छ।’
विश्लेषक रोशन जनकपुरीका विचारमा दलित समुदायका बस्तीलाई हेय भाव झल्किने नाम दिनु जातीय विभेद नै हो।
‘शैक्षिक, आर्थिक, राजनीतिक र सामाजिक विकासमा पछि परेका कारण भेदभाव भएको हो। दलित समुदायले प्रतिस्पर्धा गर्न सकेको छैन,’ उनी भन्छन्, ‘हेयको नामकरण शोषण पनि हो। यस्तो विदेश राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक विकासले मात्रै हट्छ।’