मिथिला नगरपालिका–६ स्थित ढल्केवरका प्रमोद साहको घर धुलाम्मे छ। दिनको चार-पाँचपटक बढार्नुपर्छ। बढारेको केही बेरमै घरआँगन खरानीले ढाकिन्छ।
धोएर सुकाएका कपडा खरानीले छपक्कै छोपिन्छन्।
यसका कारण हो उनको घरसँगै रहेको 'पशुपति प्लाई उद्योग'। यो उद्योगबाट निस्किने धुवाँ, धूलो र खरानीले प्रमोदको परिवार हैरान छ।
'उद्योग रातदिन चल्छ। धुवाँ र धूलोले सास फेर्न पनि गाह्रो हुन्छ। प्रदूषणले परिवारका मान्छे बिरामी परिरहन्छन्। छिमेकीहरू पनि रोगी हुन थाले,' प्रमोदले भने, 'यो उद्योगले धेरैलाई रोजगारी दिएको छ। बन्द होस् भन्ने चाहेको होइन तर धुवाँधूलो नियन्त्रण गर्नुपर्यो।'
पशुपति प्लाईका सञ्चालकसँग प्रदूषण नियन्त्रणका लागि कयौंपटक आग्रह गर्दा पनि वास्ता नगरेको उनको भनाइ छ।
'मान्छेको ज्यानको पनि वास्तै गर्दैनन्। जति अनुरोध गरे पनि हुँदैन। हामी हैरान छौं,' प्रमोदले भने।
उनका अनुसार प्लाई उद्योगबाट धुवाँधूलो मात्रै आउने होइन, दुर्गन्ध पनि आउँछ। बालीनालीमा पनि असर परेको छ।
'अक्सिजनसँगै हामी दिनरात धुवाँ र धूलो पनि निलिरहेका छौं। खरानीले बोटबिरूवा ढाक्छ, फूल राम्रो लाग्दैन, फल लाग्दैन,' उनी भन्छन्।
स्थानीयवासीहरूका अनुसार यो प्लाई उद्योगको प्रदूषणबाट मिथिला नगरपालिका वडा नम्बर ६ र ७ का कम्तीमा दुई सय घरधुरीलाई असर परेको छ। उद्योगनजिकै रहेको ढल्केवर एकेडमी स्कुल पनि यो प्रदूषणको मारमा परेको छ। यहाँका करिब चार सय विद्यार्थी र शिक्षक प्लाई उद्योगको धुवाँधूलोबाट पीडित छन्।
शिक्षक रूद्रप्रसाद घिमिरेले उद्योगबाट निस्केको धुवाँधूलोबाट विद्यार्थीले धेरै हैरानी खेप्नुपरेको बताए।
'धुवाँ त सधैं आइरहेकै हुन्छ, कहिलेकाहीँ भने धेरै नै आउँछ। धूलो र खराब गन्ध पनि आउँछ। स्कुल परिसरमा सास फेर्नै गाह्रो हुन्छ,' उनले भने।
प्रदूषण नियन्त्रणका लागि आफूहरूले धेरैपटक उद्योगमा पुगेर आग्रह गरेको तर सञ्चालकले वास्ता नगरेको उनको पनि भनाइ छ।
'यहाँका बासिन्दाहरूले पनि प्रदूषण नियन्त्रण गर्न आग्रह गरेका छन्, हामीले पनि धेरैपटक भनिसक्यौं,' उनले भने, 'सञ्चालकले आश्वासन मात्रै दिन्छन्। हामी त भन्दा भन्दा थाकिसक्यौं।'
दुई वर्षयता स्थानीयवासीले प्लाई उद्योगको प्रदूषण नियन्त्रणका लागि आवाज उठाउँदै आएका छन्। एक वर्षअघि मिथिला उद्योग वाणिज्य संघले उद्योग कार्यालय, नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालय, जिल्ला प्रशासन कार्यालय आदि निकायमा ज्ञापनपत्र बुझाएको थियो।
स्थानीयवासीले संघीय उद्योग मन्त्रालयमा उजुरी गरेका छन् तर कतैबाट सुनुवाइ नभएको उनीहरू बताउँछन्।
प्रदूषण नियन्त्रणका लागि कतैबाट सुनुवाइ नहुँदा आफूहरूको धैर्यको सीमा टुटेको प्रमोदले बताए। अब प्रदूषण नियन्त्रण नगरे उद्योगमा तालाबन्दी गर्ने चेतावनी पनि उनले दिए।
'प्रशासनिक निकायहरू पैसाको प्रलोभनमा परी प्रदूषण नियन्त्रणमा चासो नदेखाएको हाम्रो आशंका छ। नत्र त हामीले यति धेरैपटक भनेपछि केही चासो देखाउनुपर्ने हो,' उनले भने, 'उद्योग नै मापदण्ड विपरीत चलेको छ। उद्योग वडा नम्बर ५ मा दर्ता छ तर वडा नम्बर ६ मा चलेको छ।'
मापदण्डअनुसार बस्तीबाट उद्योग कम्तीमा पाँच सय मिटर टाढा हुनुपर्ने व्यवस्था छ। तर पशुपति प्लाई उद्योग बस्तीको बीचमै छ। घरहरू उद्योगसँग जोडिएका छन्। उद्योगबाट निस्किने फोहोर पानी सडकमै बग्छ। दुर्गन्धित पानीको व्यवस्थापन छैन।
यसबारे हामीले उद्योगसँग पनि कुरा गर्यौं। उद्योगका उच्च तहका कर्मचारी दिलीप थापाले प्रदूषण नियन्त्रणका लागि प्रयास गरिरहेको बताए।
'उद्योगमा दाउरा बल्दा धुवाँ आउँछ तर पहिलेभन्दा कम भएको छ। फोहोर पानीले दुर्गन्ध फैलिएको भन्ने गुनासो आएपछि व्यवस्थापन गर्ने तयारी गरेका छौं,' उनले भने, 'धुवाँ नियन्त्रणको काम गर्ने मान्छे बाहिर छन्, आएपछि समस्या समाधान हुन्छ।'
बस्तीबीच उद्योग चलाएको भन्ने कुरा उनले अस्वीकार गरे।
'उद्योग सञ्चालन हुँदा नजिकमा बस्ती थिएन। पछि आडैमा आइपुग्यो,' उनले भने।
उद्योग मापदण्ड र नियमकानून पालना गरेरै चलेको दाबी उनको छ। त्यस्तै केही वर्षपछि उद्योग सार्ने सम्भावना रहेको पनि थापाले बताए।
'बस्ती विस्तारले गर्दा अब उद्योग मुख्य सहभित्रै पर्ने देखिएको छ। चार-पाँच वर्षपछि उद्योग नै यहाँबाट सार्नु पर्ने स्थिति आउन सक्छ,' उनले भने।
घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका प्रमुख किशोरीशरण यादवले उद्योगबाट निस्किने धुवाँधूलोले स्थानीयवासीलाई समस्या भएको भन्ने गुनासो आएपछि अनुमगन गरेको र प्रदूषण नियन्त्रणका लागि उद्योगलाई निर्देशन दिएको बताए।
'उद्योगले धुवाँ केही कम गरिएको भनेको छ। एक महिनाभित्र प्रदूषण नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ। त्यति समयभित्र नगरे हामी आवश्यक पहल गर्छौं,' यादवले भने।
पीडित स्थानीयवासीहरू भने सरकारी निकायले नै बेवास्ता गरेको आरोप लगाउँछन्। बस्तीबाट उद्योग जतिसक्दो चाँडो सार्नुपर्ने उनीहरूको मुख्य माग हो।