मेघौली विमानस्थल अगाडिको जानकी माध्यमिक विद्यालयको आसपासमा भेटिएका प्रायः किशोर, किशारी, बालबालिकाको अनुहारमा गोहीको चित्र कोरिएको थियो। शनिबार मध्यान्न त्यहाँ पुग्दा केही किशोरीहरू अरूको गालामा रंग पोतेर गोहीको आकार निकाल्दै थिए भने यसका लागि लाइनमा बस्नेको संख्या पनि ठूलै थियो।
मेघौलीमै घर भएकी एलिना कुमालले पनि आँखाको छेउमा मगर गोही बनाउन लगाइन्। फोटो खिचाएपछि दंग पर्दै सोधिन्, ‘यो गोहीलाई जोगायो भने के हुन्छ?’
विद्यालयमा शनिबार दिनभर भएको गतिविधिपछि बल्ल उनले विश्वमै दुर्लभ मानिने संकटापन्न अवस्थाका गोही उनको घर नजिकै बस्दा रहेछन् भन्ने कुरा थाहा पाइन्।
‘यहीँ भएर पनि जंगल, खोलातिर जान पाएको थिइन। आज बल्ल घडियाल र मगर गोहीको बारेमा थाहा पाएँ,’ कुमालले भनिन्, ‘अब यसको संरक्षण गर्नुपर्छ भनेर गाउँतिर पनि सिकाउँछु।’
जानकी माविको प्रांगणमा नेपालमै पहिलो पटक ‘गोही संरक्षण मेला’ गरिएको थियो। वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने युवाहरूको संस्था केयर फर नेचरले पर्यटकीय क्षेत्र मेघौलीमा मेला आयोजना गरेको थियो। मेलाको उद्देश्य थियो स्थानीयबासीलाई गोही संरक्षणका लागि प्ररित गर्ने र विद्यार्थी, बालबालिकालाई गोहीको बिषयमा जानकारी गराउने। यही मेलामा आएर एलिना जस्ता अन्य धेरै किशोर, किशोरी, बालबालिकाले पनि आफ्नो घर नजिकै बासस्थान भएका लोपोन्मुख घडियाल र मगर गोहीका बारेमा जान्ने अवसर पाएका थिए।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग जोडिएको मेघौलीमा दुई दिन गरिएको यो मेलामा संकटापन्न अवस्थामा रहेका घडियाल र मगर गोही संरक्षणका विषयमा विभिन्न कार्यक्रमहरु भए। आयोजक संस्था केयर फर नेचरका अध्यक्ष रन्जना भट्टले गोही संरक्षण गर्न सके यसको माध्यमबाट विदेशी पर्यटकहरू भित्र्याएर फाइदा लिनसक्ने विषयमा स्थानीयलाई जानकारी गराउने काम मेलामार्फत गरिएको बताइन्।
मेलाको अवसरमा मेघौली क्षेत्रका १० वटा विद्यालयहरूमा निबन्ध, चित्रकला, बक्तृत्वकला, नृत्यलगायतका प्रतियोगिता गरिएको थियो। साथै घडियाल गोहीको प्रमुख बासस्थान मानिने राप्ती नदीको सहायक खोला बेतरी खोलाको सरसफाई गरिएको मेघौलीका संरक्षणकर्मी मनेषकुमार लिम्बुले बताए। मेलामा चितवन, काठमाडौं, उदयपुर, मकवानपुरमा वन विज्ञान तथा वातावरण विषय अध्ययन गर्ने दर्जनौं विद्यार्थीहरु सहभागी थिए। उनीहरुले गोही संरक्षणका विषयमा विभिन्न सामग्रीहरु तयार पारेर प्रदर्शन गरेका थिए। मेलामा गोही संरक्षण बारे नाटक तथा गीतहरु पनि प्रदर्शन गरिएको लिम्बुले बताए।
मैघौली नजिकै पर्ने राप्ती र नारायणी नदीको दोभान गोलाघाट क्षेत्र नेपाल र भारतमा मात्रै पाइने घडियाल गोही धेरै भेटिने ठाउँ हो। अध्यक्ष भट्टले यहाँका स्थानीय बासिन्दामा संरक्षण सम्बन्धी चेतनाको विकास गर्नसक्दा गोहीमा आधारित पर्यटनको विकास गर्न सकिने बताइन्।
‘मान्छेहरुले तत्कालका फाइदाका लागि खोला, नदीमा माछा मार्न जाने, गिटी, बालुवा झिक्ने, फोहोर फाल्ने गर्नाले गोहीहरु संकटमा छन्। यी कामहरु रोक्न सकियो भने संसारबाटै लोप हुन लागेको गोही हेर्न धेरै पर्यटक यहाँ आउँछन्। यसबाट स्थानीयले धेरै फाइदा लिन सक्छन् भनेर बुझाउने प्रयास मेलामार्फत गर्यौँ,’ उनले भनिन्। उनले चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका विद्यालयमा पढ्ने बालबालिकामार्फत गोही संरक्षणसम्बन्धी जानकारी अभिभावक समक्ष पुर्याउने प्रयास गरिएको उनले बताइन्।
‘गोहीको संरक्षणका लागि एक दुई जनाको प्रयास पर्याप्त हुँदैन। स्थानीय जनतालाई नै समावेश गर्न सक्नुपर्छ भनेर मेला आयोजना गरिएको हो,’ अध्यक्ष भट्टले भनिन्।
अहिले विश्वमा पाइने २९ प्रजातिका गोहीहरू मध्ये २ प्रजाति नेपालमा पाइन्छन्। २ प्रजाति मध्येमा पनि घडियाल गोही बढी संकटमा रहेको देखिन्छ। घडियाल गोहीको संरक्षणका लागि भनेर ४३ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल गोही संरक्षण तथा प्रजनन् केन्द्र स्थापना गरिएको थियो। अहिले नेपालमा देखिने अधिकांश गोहीहरू यही प्रजनन् केन्द्रमा जन्मिएका हुन्।
लामो समयसम्म गोही प्रजनन् केन्द्रमा काम गरेका चितवन राष्ट्रिय निकुञ्जका पूर्व सहायक संरक्षण अधिकृत बेदबहादुर खड्का धेरै मान्छेलाई गैंडा र बाघमात्रै संरक्षण गर्नुपर्ने वन्यजन्तु हुन् भन्ने परेको बताउँछन्। ‘तर पानी हुँदै मान्छेसँग सम्बन्ध जोडिएको गोही पनि बाघ, गैंडा जस्तै महत्वपूर्ण हुन् भन्ने कुरा धेरैले बुझेका छैनन्,’ उनी भन्छन्, ‘गोही संकटमा पर्नु भनेको जलीय पारिस्थितीय प्रणाली धरापमा पर्नु हो। यसको प्रत्यक्ष सम्बन्ध मान्छेसँग जोडिएको हुन्छ।’
जलीय पारिस्थितिकी प्रणाली धरापमा पर्दा उक्त जलाधार क्षेत्रसँग आश्रित समुदाय स्वच्छ पानीको प्रयोग गर्नबाट बञ्चित हुन्छन् ।
खड्काले गोही संरक्षण मेलाले खोला, नदी, जंगल आसपासमा बसोबास गर्नेहरुलाई संकटापन्न वन्यजन्तुको संरक्षणको विषयमा सचेत बनाउन भूमिका खेल्ने बताए।
घडियाल गोही सफा र बग्ने पानीमा मात्रै बस्ने गर्छ। संरक्षणकर्मीहरु घडियाललाई पानीको स्वच्छता मापन गर्ने जीवकोरूपमा बुझ्ने गर्छन्। चितवनको राप्ती र नारायणी नदीमा अहिले २ सय ४० वटा घडियाल गोही रहेको अनुमान चितवन निकुञ्जको छ। चितवनका खोला, नदीबाहेक बबई, कर्णाली र कोसीमा थप ५० वटा जति गोही रहेको अनुमान निकुञ्जको छ। मगर गोही भने सन् २०१६ यता गणना गरिएको छैन। त्यतिखेरको गणनामा नेपालमा ६ सय ७७ वटा मगर गोही रहेको भेटिएको थियो। मगर गोही खोला, नदीका अलावा ताल, घोलतिर पनि बाँच्न सक्छन्। मान्छे माथि आक्रमण गर्ने र मानव निर्मित पोखरीका माछा पनि खाइदिने भएकाले मगर गोही र मान्छेबीचको द्वन्द्व देखिन्छ।
चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलकाअनुसार अहिले भेटिने अधिकांश घडियाल गोहीहरु प्रजनन् केन्द्रकै उपज हुन्। ‘प्रजनन् केन्द्रमा हुर्किएका गोहीहरु प्रकृया पुर्याएर देशका विभिन्न खोला, नदीहरूमा छाडिन्छ, ती अधिकांश नदीको बहावसँगै बगेर भारत पुग्ने गरेका छन्,’ पौडेलले भने, ‘भएका गोहीहरू पनि नदीमा बढ्दो मानव चहलपहलका कारण संकटको अवस्थामा छन्।’
उनले बालबालिकाबाटै यसको संरक्षणसम्बन्धी चेतना फैलाउन सक्दा प्रभावकारी हुन् बताए।
१४ वर्षदेखि घडियाल संरक्षणका लागि सचेतनामूलक अभियानमा सकृय युवा संरक्षणकर्मी विकास पाठक मध्यवर्ती क्षेत्र र सामुदायिक वन अस्थित्वमा आएसँगै गोही संरक्षण केही प्रभावकारी भए पनि सचेतनामूलक कार्यक्रमको आवश्यकता अझै रहेको बताए। उनकाअनुसार मध्यवर्ती क्षेत्र स्थापना हुनुअघि गरिएको सर्वेक्षणमा निकुञ्जको कसरादेखि गोलाघाटको २२ किलोमिटर क्षेत्रमा मानव उपस्थिति एक दिनमा ९ सय जनासम्म देखिएकोमा अहिले करिब दुई दर्जनमात्रै देखिने गरेको छ।
‘यसले संरक्षण अभियान विगतको भन्दा राम्रो भएको त देखाउँछ तर प्राकृतिकरुपमा गोहीलाई बचाउनु अझै चुनौतीपूर्ण छ,’ सन् २०१३ को अब्राहम संरक्षण अवार्ड विजेता पाठक भन्छन्, ‘यत्रो वर्ष रिभर रेन्जरकोरुपमा काम गर्दा मैले प्राकृतिक बासस्थानमै जन्मिएर हुर्केबढेको एउटा गोही पनि देखेको छैन। जति देखेको छु प्रजनन् केन्द्रबाटै छाडिएका र तिनले जन्माएका नै छन्।’
उनले भएका गोहीहरुको संरक्षणका लागि दिगो कार्यक्रम आवश्यक पर्ने र समुदायमा सचेतना अभियानलाई व्यापक बनाउनुपर्ने बताए। मेलामा आइपुगेका वन विज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले गोही संरक्षणबारे सचेतना गाउँ–गाउँमा फैलाउने बताए। उदयपुरको कटारीस्थित क्याम्पसमा वन विज्ञान विषय पढ्दै गरेकी निशा अधिकारीले गोहीको विषयमा कितावमा पढेपनि यस विषयमा धेरै कुरा चितवनमा आएर जानेको बताइन्।
‘यहाँ आएपछि नै गोही पनि देख्न पाइयो,’ उनले भनिन्, ‘अब यसको संरक्षणका विषयमा बोल्न थप सहज भएको छ।’