शनिबार अमेरिकाको मिसिगनमा एउटा सानो जहाज दुर्घटनामा पर्यो। बिभर टापूमा रहेको विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त जहाज दुर्घटना भएको थियो।
जहाजमा पाइलटसहित पाँच जना थिए। चार जनाले ज्यान गुमाए। एक जना यात्रुको मात्र सकुशल उद्धार भयो।
ती यात्रु हुन् गेलर्डकी बासिन्दा ११ वर्षीया लेनी।
उनी आफ्ना बुवासँगै जहाजमा थिइन्। उनका बुवा माइक परडुको पनि दुर्घटनामा निधन भयो।
सिएनएनका अनुसार घाइते लेनीलाई जहाज दुर्घटनाबारे केही याद छैन।
उनको दिमागमा सम्झना रहेको कुरा एउटै हो- जहाज घत्र्याङघुत्रुङ हुन थालेपछि बुवाले उनलाई अँगालोमा बेस्सरी च्यापे। आफ्नो शरीरले सकेसम्म उनलाई ढाक्न खोजे। चोट नलागोस् भने जोगाउने कोशिस गरे।
लेनीले आफूलाई बुवाले बचाएको मात्र बताएकी छन्।
'दुर्घटनाबारे मेरी छोरीको सम्झनामा रहेको एउटै कुरा त्यही मात्र हो,' माइककी श्रीमती क्रिस्टिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उसलाई बुवाले लपेटेर आफूलाई जोगाएकोबाहेक अरू याद छैन। मेरा श्रीमानको निधनले मर्माहत बनाएको छ।'
परडु दम्पतीका चार सन्तान छन्।
माइक आफू बाँच्न नसके पनि आफ्नी जेठी छोरीलाई जोगाउन सफल भएको उनका साथी र्यान वोजनले पनि बताएका छन्।
र्यानले बताएअनुसार माइकले लेनीलाई अँगालो मार्दा जतापट्टि छोरीको शरीरको भाग ढाकिएको थियो, त्यहाँ कुनै चोट लागेको छैन। तर जता खुला भयो, त्यता नराम्ररी घाउ भएको छ।
'माइकले छोरीलाई अँगालोमा बेरेको थियो,' र्यानका भनाइ उद्धृत गर्दै सिएनएन लेख्छ, 'छोरीलाई त अरू केही कुरा याद छैन। उनका बुवाले बेस्सरी अँगालोमा च्यापेको मात्र सम्झिन्छिन्।'
र्यान आफैं पनि माइकभन्दा तीन घन्टाअघि मात्र त्यही जहाजमा बिभर गएका थिए। र्यान परडु परिवारकै नजिकका साथी र व्यावसायिक साझेदार पनि हुन्।
उनका अनुसार माइककी श्रीमती क्रिस्टिनाले एक बाबुले छोरीलाई कसरी जोगाए भन्नेबारे अरूलाई पनि थाहा होस् भन्ने चाहेकी थिइन्। त्यसैले उनीहरूले आफ्नो कथा सार्वजनिक गरेका हुन्।
घाइते लेनी अहिले अस्पतालमै छिन्। उनका धेरै हड्डीहरू भाँचिएका छन् र दुइटा शल्यक्रिया भइसकेको छ। उनको ज्यान जोखिममा पार्ने समस्या भने नभएको र्यानले जानकारी दिएका छन्।
'माइक त्यागी थियो, सधैं,' र्यानले भनेका छन्।
जहाज दुर्घटनामा मृत्यु भएका अन्य दुई व्यक्ति, केट लिज र एडम केन्डल हुन्। यी दम्पती आफ्ना दुइटा कुकुर लिएर भेट डाक्टरकहाँ जाँदै थिए। ती कुकुरको पनि दुर्घटनामा मृत्यु भएको छ। पाइलटको भने पहिचान खुलाइएको छैन।
सिएनएनका अनुसार जहाज किन दुर्घटना भयो भन्नेबारे छानबिन भइरहेको छ।