जिल्ला अदालत धादिङमा सबभन्दा धेरै पारिवारिक विवादका मुद्दा दर्ता भएको छ।
उक्त विवादका ६३६ मध्ये ३६३ थान मुद्दा फछ्र्योट गरिएको छ।
आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म सम्बन्ध बिच्छेदका ४२८ मुद्दामध्ये २८५, अंशबण्डाका १७२ मध्ये ७०, सम्पत्तिसम्बन्धी १६२ मध्ये ७२, बालबालिकासम्बन्धी ४१ मध्ये १७ र विवाहसम्बन्धी २०मध्ये दुइटा फछ्र्योट भएको छ।
मुद्दाका प्रकृतिअनुसार फछ्र्योट गर्ने गरिएको र तीमध्ये पारिवारिक विवादका धेरै रहेको स्रेस्तेदार खुमप्रसाद भण्डारीले बताए।
जिम्मेवारी सरी आएका र नयाँ गरी एक हजार ४५१ थान मुद्दामध्ये ६९६ फछ्र्योट भएको ७५५ थान फछ्र्योट गर्न बाँकी रहेको उनको भनाइ थियो।
आर्थिक वर्ष ०७५/७६ मा ७२४, ०७६/७७ मा ९५३ र ०७७/७८ मा एक हजार ४५१ थान मुद्दा दर्ता भएकाले तीन वर्षयता मुद्दा दायर गर्ने क्रम बढ्दै गएको देखिएको छ।
दुई वर्ष नाघेका ८२ थान मुद्दा बाँकी रहेको र २०५२ सालदेखिका २८ थान मुद्दा मुल्तबीमा रहेको बताइएको छ। रासस