केही दिनअघि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो ट्विटरमा एउटा भिडिओ पोस्ट गरे। भिडिओमा माथि ठूलो पंखा घुमिरहेको, तल ड्रममा पानी भरिइरहेको दृश्य देख्न सकिन्छ।
त्यो नेपालमै पहिलो पटक निर्माण भएको हावाबाट पानी तान्ने पम्पले काम गरिरहेको भिडिओ थियो। करिब ४० वर्षपहिले अमेरिकन प्रविधि प्रयोग गरी व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)ले उक्त टर्बाइन र पम्प जडान गरेको अध्यक्ष पुनले जानकारी दिए।
'सन् १९८० मा नमूना परीक्षणका लागि निर्माण भएको रहेछ,' पुनले भने, 'यसबारे धेरैलाई थाहा छैन। वर्षौंदेखि पंखामात्रै उभिएको थियो। कस बसिसकेको पंखा आविष्कार केन्द्रका स्वयंसेवकले मर्मत गरेर चल्ने बनाएका छन्।'
केन्द्रका स्वयंसेवक ओम रोकाको टिमले पम्प मर्मतसम्भारको पाटो सम्हालेका हुन्। कोरोना महामारी बेला पिपिई बनाउन अविष्कार केन्द्र आएका थिए ओम। यो गत असार–साउनको कुरा हो।
केन्द्र नजिकै भए पनि स्वयंसेवकले हावाबाट पानी तान्ने प्रविधिबारे जान्न पाएका थिएनन्। पम्पलाई अरू नै केही सोचेर बसेका थिए।
'हामीले पम्पको माथिल्लो टर्बाइन मात्र देखेर हावाबाट बिजुली निकाल्ने प्रविधि हो कि भन्नेसम्म अनुमान गरेका थियौं,' रोकाले भने, 'खास वास्ता गरेनौं। कोरोनाको चटारो पनि थियो। त्यतै व्यस्त भयौं।'
गत असोज अन्तिम साता दुई युवा आविष्कार केन्द्र आए। तीमध्ये एक वातावरण अध्ययनका विद्यार्थी रहेछन्। उनीहरूले नै उक्त पानी तान्ने पम्पबारे केन्द्रलाई जानकारी दिए। र, आफ्नो अध्ययनमा सहयोग गर्न अनुरोध गरे।
आफ्नै आँगनमा रहेको पम्पबारे खोजी गर्न केन्द्रले नाइँनास्ती गर्ने कुरा भएन। ओम रोकासहित दाजाम्बो शेर्पा, भरत डाँगी, भरत बुढा मिलेर हावाबाट पानी तान्ने सो पम्प बनाउने जुटे।
'पम्पबारे जानकारी भइसकेपछि केन्द्रमा सल्लाह भयो। त्यसपछि पो थाहा पायौं, यो त हावाबाट पानी तान्ने पम्प रहेछ। ४० वर्ष पुरानो,' ओमले अचम्म मान्दै भने, 'केन्द्रको आँगनमै भएको यति राम्रो प्रविधिबारे हामी अनविज्ञ थियौं। त्यसपछि यसको मर्मतसम्भार र प्रविधिबारे झनै रूचि बढ्यो।'
मर्मतका लागि आविष्कार केन्द्रले रिकास्टसँग छलफल गर्यो। रिकास्ट सहमत भयो। मर्मतपछि पम्पबाट आएको पानी केन्द्रले नै प्रयोग गर्ने सहमति भएको ओमले जानकारी दिए।
'सम्झौतापछि सफाइमा लाग्यौं। बाहिरबाट हेर्दा झाडी मात्रै थियो। त्यहाँ त आठ फिट गहिरो इनार पनि रहेछ,' ओमले भने, 'घरायसी फोहोर, सिसाका टुक्राले इनार भरिएको थियो। सफा गर्नै एक महिना लाग्यो।'
उनले अगाडि भने, 'त्रिभुवन विश्वविद्यालयले सन् १९८६ तिर प्रयोगशाला परीक्षण गर्न राखेको लामखुट्टे र साङ्लाको नमूना पनि थियो।'
यसबाट अनुमान लगाउन सकिन्छ, नमूना परीक्षणकै लागि बनाइएको उक्त टर्बाइन मुश्किलले ६–७ वर्ष चल्यो। यसको उपयोगिता कत्तिको भयो, यकिन छैन। तर केही वर्षमै यो विस्तारै डम्पिङ साइटमा परिणत हुँदै गएको धेरैको अनुमान छ।
गत कात्तिकबाट सफाइ सुरू गरेका टिमले तीन महिना लगाएर इनार, पंखा, पानी तान्ने पाइप चुस्त दुरूस्त पारे। पुरानो प्रविधि उस्तै बनाइराख्ने उद्देश्यले काम गर्दा धेरै समय लागेको ओमले बताए।
'सकेसम्म पुरानै समानले काम चलाउने सम्झौता थियो। अत्यावश्यक बाहेक अरू सामान फेरिएको छैन,' ओमले भने, 'टर्बाइनका पंखा खिया लागेका, टुक्रिएका थिए। पहिलेको सामग्री केही चलाएनौं। थप्नुपर्ने जति मात्रै राखेर जोडजाड गर्यौं। रङ लगायौं र राख्यौं।'
पहिले ८ फिट मात्रै भएको इनार अहिले २० फिट गहिरो पारिएको उनले बताए। इँटाको ठाउँमा भने कंक्रिट रिङ राखिएको छ। कीर्तिपुर डाँडामा ८ फिट गहिराइमै पानी आउनु ठूलो कुरा भएको ओम बताउँछन्।
'रिकास्टका अनुसार पहिले यहाँ पानी भए नभएको, हावाको गति पुग्ने नपुग्ने आदि भौगोलिक अध्ययन गरेर टर्बाइन राखिएको थियो। तर यसको लिखित अभिलेख पाएका छैनौं,' ओमले भने, 'नयाँ बनाउने योजना हुन्थ्यो भने डिजाइनअनुसार काम गरिन्थ्यो। पुरानो प्रविधि नबिगारी पुरानै हिसाबले बनाउन हामीलाई गाह्रो भयो। तर सफल भयौं।'
पम्पबाट एक महिनायता हावा चल्न थालेपछि स्वचालित रूपमा पानी आउँछ। नयाँ खनिएको इनार भएकाले पानी केही धमिलो भएको ओमले जानकारी दिए। उनका अनुसार पुरानै ट्यांकी प्रयोग गरी पानी जम्मा गर्ने साथै प्रशोधन गरी पिउनयोग्य बनाइने छ।
एकपटक पम्प गर्दा पाँच लिटरसम्म पानी आउने अनुमान छ।
'हिँउदमा यति पानी आउनु धेरै राम्रो हो। बर्खा लागेपछि अझै धेरै आउँछ,' ओमले भने, '२० फिट इनारमा जम्मा भएको पानी आधा घन्टामा पम्पले तानिसक्छ। फेरि जम्मा भयो भने हावा चल्नासाथ पानी आउँँछ।'
प्रविधिबारे अझै अध्ययन हुन बाँकी रहेको उनले बताए।
४० वर्षपहिले नै आविष्कार भएको प्रविधि पछिल्लो पुस्तामा हस्तान्तरण नगरिएकोमा दुःख लागेको पनि उनी बताउँछन्।
'प्रविधि विकासका लागि हामी रातदिन नयाँ–नयाँ खोजमा छौं। तर आविष्कार केन्द्रको आँगनमै भएको प्रविधि हामीले आज मात्रै थाहा पाउँदैछौं,' उनी भन्छन्, 'यस्तो कुरा थाहा नपाउनु वा सुचना लुकाउनु भनेको हामी ४० वर्षपछि पर्नु हो।'
उनी थप्छन्, 'यस्तो उचाइमा पनि ८ फिटमा पानी आउनेबारे आजसम्म थाहा भएन। यो ज्ञान थाहा नहुँदा आफू ४० वर्षपछि परेको, अँध्यारोमा बसिरहेको भान हुन्छ।'
प्रविधिबारे जानकारी नहुँदा बाँकी कुरा थाहा पाउन नसकेको पनि उनले बताए। तराइका फाँटहरू जहाँ निरन्तर हावा चलिरहन्छ तर सिँचाइ अभाव छ, त्यस्तो स्थानमा यो प्रविधि बरदान सावित हुने उनी अनुमान गर्छन्।
साथै यस प्रविधिसँग सम्बन्धित कोही ज्ञाता भए आविष्कार केन्द्रको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन्।
'पहिले अध्ययन गर्दा हावाबाट पानी तान्ने प्रविधि देशका विभिन्न भागमा उपयुक्त देखिएको रहेछ,' उनले भने, 'तर हामीसँग विस्तृत विवरण छैन। कसैसँग छ भने उपलब्ध गराइदिनु होला।'
पछिल्लो समय नेपालमा हावाबाट बिजुली उत्पादन गर्ने भनाइ निकै चलेको छ। हावाबाट बिजुली निकालेर फेरि बिजुली प्रयोग गरी पानी तान्नुभन्दा उपयुक्त हुने ठाउँमा सिधै हावाबाट पानी तान्ने प्रविधि सजिलो हुने रोका बताउँछन्।
'अबका दिनमा चौतर्फी सोच्नुपर्ने रहेछ,' उनी भन्छन्, 'देश वर्षौं पहिलेदेखि विकसित हुन थालेको रहेछ। अब गति दिलाउनुपर्छ।'