आकाशमा आज पूर्ण चन्द्रमा नियाल्दै गर्दा नेवार समुदायले मठमन्दिर, चैत्यअगाडि चन्द्रमाजस्तै चम्किला अन्नका कलाकृति पस्किए।
कोरोनाका प्रभाव नहुँदो हो त अन्नका ठूला कलाकृति नै देख्न पाइन्थ्यो। कोरोनाका कारण स-साना कलाकृति मात्रै केही पाटी र चोकहरूमा बनाइएका भेटिए।
आज सकिमिला पुन्ही। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमा (कछलाथ्व पुन्ही) लाई उपत्यकाका नेवार समुदाय सकिमिला पुन्हीका रूपमा मनाउँछन्। यसलाई 'हलिमली पुन्ही' पनि भनिन्छ। विशेषगरी काठमाडौं उपत्यकामा मनाइने यो पर्व बाहिर पनि केही ठाउँमा मनाउने चलन छ।
नेपाल सम्बतको पहिलो महिनामा पर्ने यो बेला अन्नबाली घर भित्र्याउने काम सम्पन्न भइसकेको हुन्छ। अन्नका सृष्टिकर्ता धर्ती मातालाई सम्मान र धन्यवाद दिन उनीहरू साँझदेखि टोलटोलमा बाजागाजाका साथ निस्कन्छन्। भुटेको गेडागुडीले विभिन्न देवीदेवता र मन्दिरको आकृति बनाई रमाइलो गर्छन्। यसलाई 'हलिमली ब्वयेगु' भनिन्छ। अन्तिममा यी सबै अन्न प्रसादका रूपमा बाँड्ने चलन छ।
पिँडालु, तरूल आदि उसिनेर खानु नै यो पर्वको विशेषता हो। ‘सकि’ भनेको पिँडालु र ‘मना’ भनेको उसिन्नु हो। त्यही भएर यो पर्वलाई 'सकिमना पुन्ही' पनि भनिन्छ।
‘यो पर्वमा घर–घरमा मकै, भटमास, केराउ, बकुल्ला लगायत अन्न भुटेर खाने गरिन्छ,’ काठमाडौंका स्थानीय सन्दिप महर्जनले भने।
अन्नबाली भित्र्याएपछिको फुर्सद हुने समयमा मनाइने यो पर्वलाई चखः अर्थात् सानो पर्वका रूपमा लिइन्छ। महर्जनका अनुसार यो दिन उपत्यकाको प्राचीन मन्दिर चाँगुनारायण परिसरमा श्रीगरूडको महास्नान गराई भव्य पूजा हुन्छ। आजै बलम्बु क्षेत्रमा श्री महालक्ष्मीको जात्रा हुन्छ।
यसै पूर्णिमाको दिनदेखि च्वबहाः (चोभार) को एकमहिने मेला सम्पन्न हुन्छ। आश्विन पूर्णिमादेखि सुरू गरिने आकाश दिप पनि आज अन्तिम बत्ती दिएर समापन गरिन्छ। मठ–मन्दिरहरू अगाडि उठाइएका काठको खाँबो आज मध्यरातमा निकाल्ने परम्परा छ।
‘उपत्यकाको बज्रयान बौद्ध धर्मअनुसार नागार्जुन पर्वतमा ध्यान बसेका तथागत बुद्धले आजकै दिन ध्यानबाट उठेर तत्कालीन समयमा दह रहेको उपत्यकामा कमलको बीउ छरेको मान्यता छ। त्यसैले यो दिनलाई स्वयम्भू सेवाका रूपमा लिइन्छ,’ महर्जनले भने।
धार्मिक मान्यताअनुसार मनाइने यस पर्वमा जीवनका विभिन्न दर्शन पनि समेटिएका छन्। समयअनुसार अन्न खाएर पर्व मनाउनुले जीवनलाई सहज रूपमा अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिन्छ।
‘विभिन्न अन्नद्वारा कलाकृति बनाउनुले हामीभित्र लुकेको सीप, कौशल र जाँगरिलोपन उजागर गर्छ,’ उनले भने, ‘आजको दिन अन्नदान गरे आफ्नो घरमा कहिल्यै अन्न अभाव नहुने र खेतबारीमा बाँझोपनले नसताउने जनविश्वास पाइन्छ।’
असनको अजिमा मन्दिरमा रहेको शिलालेखअनुसार हालिमली गर्ने परम्परा करिब तीन सय वर्ष पुरानो हो। संस्कृतिविदहरू भने त्योभन्दा पुरानो हुनसक्ने अनुमान गर्छन्।
संस्कृति अध्येता रास जोशीका अनुसार आजको दिन पृथ्वी र चन्द्रमाबीच नजिकको दुरी हुन्छ। त्यसो हुँदा मानिस र अन्नमा सकारात्मक ऊर्जा पुग्छ भन्ने विश्वास छ।
‘यही सकारात्मक ऊर्जा उपभोग गर्ने मनसायका साथ मानिसहहरू रातभर मन्दिर आसपास बाजागाजा बजाएर जाग्राम बस्ने चलन छ,’ उनले भने, ‘कोजाग्रत पूर्णिमादेखि आ-आफ्नो टोलको गणेश, महादेव लगायत देवीदेवताको मन्दिरमा बजाइने भजनकीर्तन आज समापन हुन्छ।’
संस्कृतिविद् ओम धौभडेल किसानले आफूभित्र लुकेको कलालाई अन्नमार्फत् प्रस्तुत गर्ने दुर्लभ परम्पराका रूपमा यो पर्व मान्छन्। प्रतिस्पर्धा नभए पनि एउटा कलाकारले अर्को कलाकारसम्म आफू बढी सक्षम भएको साबित गर्ने अवसर हो।
स्वास्थ्यको दृष्टिले पनि यो पर्व महत्वपूर्ण रहेको धौभडेल बताउँछन्, ‘दसैं-तिहारपछि काठमाडौं उपत्यकामा जाडो याम सुरू हुन्छ। पिँडालु उसिनेर खाँदा शरीरमा ताप तथा ऊर्जा हुने आधारले यो पर्व मनाउन थालेको हुनुपर्छ।’