कोरोना जोखिम भत्ता नपाएको भन्दै बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमा अनुपस्थित भएपछि अस्पतालको सेवा प्रभावित बनेको छ।
कोरोना महामारी फैलिएसँगै सञ्चालन गरिएको अस्पतालको सेवा प्रवाहका लागि लुम्बिनी प्रादेशिक अस्पतालले सात जना मेडिकल अफिसरलाई गत साउनदेखि करार सेवामा नियुक्त गरेको थियो।
तर सातै जना चिकित्सक कोरोना जोखिम भत्ता नपाएको भन्दै बुधबारदेखि सेवामा नफर्किएपछि अस्पतालमा कार्यरत कन्सल्टेन्ट र नर्सिङ स्टाफहरू खटाएर भए पनि अस्पतालमा सेवा प्रदान गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले सातै जना चिकित्सकले कोरोना जोखिमभत्ता नपाए सेवामा नआउने भन्दै मंगलबार मात्रै अल्टिमेटम दिएको र बुधबारदेखि नै काममा नआएको बताए।
डा. खनालले करार सेवाका चिकित्सकहरूले मंगलबार दिएको निवेदनपछि सामाजिक विकासमन्त्री र मन्त्रालयका सचिवसँग छलफल गरी प्रक्रिया पूरा गरी तिहार पछि जोखिमभत्ता उपलब्ध गराउने सहमति समेत भएको बताए।
उनले कोरोनाजस्तो महामारीको समयमा भत्तालाई बहाना बनाएर सेवा प्रभावित बनाउन खोज्नु चिकित्सकीय मर्यादा र आचरण विरूद्धको काम भएको बताए।
‘यो जोखिम भत्तासँगको विषय मात्र होइन, मानिसको जीवनसँग जोडिएको विषय हो,’ उनले भने, ‘जटिल अवस्थामा आइसियूमा खटाइएको चिकित्सक बिनाजानकारी आफ्नो ड्युटीमा अनुपस्थित हुनु भनेको चिकित्सकीय मर्यादा र आचरण विरूद्धको कुरा हो।’
डा. खनालले आफू प्रशासन प्रमुख भए पनि स्वयं चिकित्सक भएको र चिकित्सकको अप्ठ्यारो समस्या बुझेर जोखिम भत्ता उपलब्ध गराउने प्रयास गरिरहँदा आफूमाथि पनि विश्वास नगरेको बताए।
‘म मेसुसँगै चिकित्सक पनि हुँ, मेसुमात्र बोलेको थिइन, जोखिम भत्ताको लागि पहल भइरहेको छ भन्दा पनि विश्वास गरिएन,’ सेतोपाटीसँग भने।
कोरोना महामारीपछि साउन महिनामा करार सेवामा नियुक्ति भएका चिकित्सकको करार अवधि असोज महिनामा सकिए पनि तीन महिना थप गरी पुस महिनासम्म पुर्याइएको थियो।
अस्पतालले मेडिकल अफिसरहरू विशाल झा, कल्याण रेग्मी, प्रतिमा भण्डारी, पूजन ज्ञवाली, राजेश लिम्बू, सविता अर्याल र एलिसा सिंहलाई करार सेवामा भर्ना गरेको थियो।
डा. खनालले अस्पतालले मानिसको जीवनसँग नै खेलवाड गर्ने कुनै पनि कर्मचारीको विकल्प खोज्नुपर्ने बताए।
‘कुनै उद्योग र कलकारखाना र व्यवसायमा जस्तो मन लाग्दा जाने र मन लागेन नजाने गर्न अस्पतालमा मिल्दैन, आइसियूमा खटाएको चिकित्सक बिना जानकारी अनुपस्थित हुन्छ भने भोलिका दिनमा कसरी विश्वास गर्ने?,’ उनले भने।
डा. खनालले अस्पतालले व्यवस्था गरेको होटलमा बसेर अस्पतालकै सेवा प्रभावित पार्ने गरी काम नगर्न पनि चिकित्सकहरूलाई आग्रह गरे।
‘हड्ताल गर्ने हो भने अस्पतालले राखेको होटलमा बसेर होइन बाहिर निस्किएर गर्ने हो, होटलमा बसेर हड्ताल गर्न पाइँदैन,’उनले भने।
करार सेवाका चिकित्सक सेवामा नआएपछि अहिले कन्सल्टेन्टहरू प्रशान्त गुप्ता, सुदर्शन थापा लगायतका चिकित्सक र नर्सिङ स्टाफहरूले कोरोना विशेष अस्पतालको आइसोलेसन र आइसियूमा सेवा प्रदान गरिरहेका छन्।
विगत सात महिनादेखि सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत स्थायी सेवाका चिकित्सक तथा नर्सिङ स्टाफले समेत कोरोना जोखिम भत्ता पाएका छैनन्।