आफ्नो धार्मिक संस्कार अनुसार बुवाको दाहसंस्कार गर्ने भन्दै दुई दिनसम्म शव डुलाउँदै हिँडेका अर्घाखाँचीका बाबुराम खनालले साढे चार महिनापछि बुवाको हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरेका छन्।
बाबुरामका बुवा ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। ३० गते नेपाली सेनाले घर नजिकैको ठूलढुंगा क्षेत्रमा लगेर उनको शव गाडेको थियो। रोजगारीका लागि भारतको मुम्बई गएका यमप्रसाद कोरोना संक्रमणको महामारीपछि जेठ दोस्रो साता गाउँ फर्किएका थिए।
गाउँ फर्किएका उनी बडाचौरस्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका थिए।
पहिलेदेखि नै दमका रोगी यमप्रसादलाई क्वारेन्टिनमै स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि बुटवल ल्याइएको थियो। बुटवलमा उपचार गरी फर्किंदै गर्दा उनको अर्घाखाँचीको ठाडास्थित कोन्द्रेखोला पुग्दा मृत्यु भएको थियो।
क्वारेन्टिनमै रहँदा जेठ २३ गते कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको भए पनि स्वाब हराएको भन्दै मृत्युपछि २८ गते नै दोस्रो पटक स्वाब संकलन गरिएको थियो।
दोस्रो पटक संकलन गरिएको स्वाबको रिपोर्ट नआउँदासम्म परिवारका सदस्य र आफन्तले नै शव कुरेर बसेका थिए। ३० गते कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयवासीको अवरोध र विवादबीच नेपाली सेनाको टोलीले नै शव व्यवस्थापन गरेको थियो।
मृतकका छोरा बाबुरामले शव गाड्नकै लागि समेत बुवाको शव बोकेर तीन-चार ठाँउ पुग्नु परेको स्मरण गरे। दुःखको बेला समेत स्थानीयको अवरोधका कारण घर नजिकै ल्याएर शव गाड्नु परेको उनले बताए।
मृतकका आफन्त प्रकाश खनालले सुरूमा जालकाँडा नजिकैको सल्लेरी वन र रातुकामा गाड्ने भनेर लगिए पनि स्थानीयले अवरोध गरेपछि घरनजिकै रहेको ठूलढुंगा नजिकै ल्याएर गाडिएको बताए।
‘मृत्यु पछि पनि शव गाड्न लागि अवरोध भयो, स्थानीयले नदिएपछि घर नजिकै ल्याएर गाडिएकोले घरपरिवारलाई सधैँ पीडा बल्झिरहेपछि उत्खनन् गरेर भए पनि दाहसंस्कार गर्ने निर्णय गरेका हौं,’ उनले भने।
बाबुरामले दुई महिना पहिले नै शव निकालेर दाहसंस्कार गर्ने तयारी गरेको भए पनि वर्षा र चाडपर्वका कारण अलि ढिलो दाहसंस्कार गरिएको बताए।
‘तीजको दरखाने दिन नै शव उत्खनन् गर्ने तयारी थियो, ठूलो पानी परेकोले निकाल्न सकिएन। अहिले पनि ५ घन्टा लगाएर शव निकालेर दाहसंस्कार गर्यौं,’ उनले भने।
घरपरिवार, आफन्त तथा छिमेकी गरी २४ जना मलामीसहित कात्तिक १५ गते गुल्मीको रिडी ल्याएर दाहसंस्कार गरिएको बाबुरामले सेतोपाटीलाई बताए।
‘दुई-तीन ठाउँ डुलाउँदै घरनजिकै ल्याएर शव गाड्नु पर्दा बुवाको आत्माले पनि शान्ति पाएको थिएन, हामीलाई पनि घर वरिपरि हिँड्डुल गर्दासमेत मानसिक पीडा भइरहेको थियो, अब त बुवाको आत्माले शान्ति पनि पाउला,’ उनले भने।
हिन्दु संस्कारअनुसार कपाल र दारी मुण्डन गरी दाहसंस्कारपछि काजक्रिया गर्नु पर्ने भए पनि दाहसंस्कार गर्न नपाएपछि काजक्रिया मात्र गरिएको थियो। अहिले भने कपाल र दारी मुण्डन गरेर दाहसंस्कार गरे पनि काजक्रिया भने नबसिएको बाबुरामले बताए।
बाबुरामले बुवाको पहिलो स्वाब हराएको भनी दोस्रो पटक परीक्षण गर्दा कोरोना पोजिटिभ भनिए पनि कोरोना पोजिटिभ हुन नसक्ने दाबी गरे। आफूले नै बुवा बिरामी भएर बुटवल लैजाने, ल्याउने र शव बोकेर डुलाइरहने गरेपनि आफू र अरू कसैलाई पोजिटिभ नदेखिएकोले बुवालाई पनि पोजिटिभ हुन नसक्ने बताए।
‘अस्पताल लैजाँदा-ल्याउँदा मेरै काखमा राखेर लैजाने ल्याउने गरेको हो, मेरै काखमा मृत्यु भयो बुवालाई कोरोना भएको भए मलाई पनि सर्नु पर्ने, खै त?’ उनको प्रश्न छ।
यसअघि कोरोना संक्रमण भन्दै गाडिएको शव उत्खनन् गरी पुनः दाहसंस्कार गरिए पनि स्थानीय पालिका र प्रशासन भने वेखबर बनेको छ। मालारानी गाउँपालिकाका प्रवक्ता बालकृष्ण आचार्यले गाडिएको शव उत्खनन् गरी दाहसंस्कार गरिएकोबारे आफूलाई जानकारी नभएको बताए।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले समाचार आएपछि मात्र आफूले घटनाबारे जानकारी पाएको र बुझ्न पठाएको बताए।
सुरू-सुरूमा कोरोना संक्रमणका कारण मृत्यु भएकाहरूको शव नेपाली सेनाले व्यवस्थापन गर्ने गर्थ्यो। काठमाडौंमा विद्युतीय शवदाह गृहमा जलाउने बाहेक बाहिरतिर सबै धर्मालम्बीहरू शव सेनाले गाडिदिन्थ्यो। आफन्तले अन्तिम विदाइ त परको कुरा शव छुनसमेत पाउँदैनथे।
पछिल्लो समय भने सरकारले नियम परिवर्तन गरेको छ- कोरोना संक्रमितको मृत्यु भए पनि परिवारले आफैं अन्तिम संस्कार गर्न सक्छन्।