धुलाम्मे बर्दघाट-चोरमारा सडकखण्ड
देशकै सबभन्दा महत्वपूर्ण पूर्वपश्चिम राजमार्गको बर्दघाटदेखि चोरमारासम्मको सडकखण्ड पछिल्लो एक वर्षयता धुलाम्मे बनेको छ।
तर अहिले भने सडकमा उडेको धुलोको कारण सडकयात्रु मात्र होइन सडकको छेउछाउमा बसोबास गर्नेहरूलाई सास्ती भएको छ। वर्षाभरि हिलाम्मे बनेको सडक पानी पर्न छोडेपछि धुलाम्मे बनेको छ।
दाउन्नेको बजारदेखि नै सुरू भएको सडकको धुलोले चोरमारा बजारसम्मका बासिन्दालाई सास्ती दिएको छ।
सडकमा उड्ने धुलोका कारण सबभन्दा बढी सास्ती मोटरसाइकल र साना सवारी साधनका यात्रुले पाउने गरेका छन्। धुलोका कारण दिउँसै पनि सडक अन्धकार देखिने गरेको छ। दाउन्नेको जंगलसमेत धुलाम्मे हुने गरेको छ।
देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको बीच भागमा पर्ने यो सडकखण्ड हुँदै देशका अधिकांश स्थानमा दैनिक हजारौं सवारी साधन ओहोरदोहोर गर्छन्। नारायणगढ पश्चिमदेखि काठमाडौं आउने एकमात्र सडक समेत यही हो।
तर वर्षौंदेखि सडक मर्मतसम्भार नहुँदा अहिले सडक खण्डहर बनेको छ। सडकमा बर्दघाटदेखि दुम्किबाससम्मको १२ किलोमिटर सडकखण्ड सबभन्दा बढी खण्डहर बनेको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि नारायणगढ सम्मको १ सय १३ किलोमिटरको यो सडकखण्ड सन् १९७२ सालमा निर्माण गरिएको थियो। त्यसयता सडकमा परेका खाडल पटक/पटक पुर्ने र मर्मत गर्ने गरिए पनि पछिल्ला चार/पाँच वर्षयता भने यो सडकखण्ड मर्मत समेत गरिएको छैन।
अहिले सडकमा गरिएको कालोपत्रे उप्किएर सबै ग्राभेलमा परिणत भएको छ। कालोपत्रे उप्किएको र धुलाम्मे सडकमा मालवाहक ठूला ट्रकसँगै खानीबाट उत्खनन् गरिएको सामान बोकेर सयौं टिपरहरू दैनिक गुड्ने गर्छन्।
धुलाम्मे सडकमा मालवाहक साधन र सवारी साधनसँगै गुड्दा दुर्घटनाको अत्यधिक जोखिम बढेको छ।
धुलोले गर्दा सडक पूरै ढाकिएपछि सवारी साधनले दिउँसै बत्ती बालेर हिँड्ने गरेका छन्। सडकमा एकफिटसम्म धुलो थुप्रिएको छ।
सडक क्षेत्र निरन्तर धुलाम्मे भएकै कारण चियापसलमा खाजा खाने पाहुनाहरू आउन छाडेको उनीहरूको गुनासो छ।
दुम्किबासमा चियापसल सञ्चालन गरेका जित बहादुर गुरुङले धुलोको कारण चिया पसल समेत बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए।
‘चियाखाजा खान आउनेहरू समेत धुलोले बस्ने ठाउँ नभएपछि आउन छोडेका छन्, भान्सामा पकाएको खानामा समेत धुलोले ढाकिने गरेको छ,’ उनले भने।
सडक किनारका घरमा मात्र होइन सडकमा उडेको धुलोले घर खेतबारी समेत धुलाम्मे बनेको छ। स्थानीय मनमाया गुरुङले धुलोको कारण महिनौंदेखि कपडा धुन र सुकाउन समेत समस्या भएको बताइन्।
‘कपडा धोएर सुकाएर आयो, उठाउन जाँदा धुलोले ढाकिएको हुन्छ, के धुनु,’ उनले भनिन्।
डिभिजन सडक कार्यालय पूर्वी नवलपरासीका साइड इन्जिनियर कृष्ण प्रसाद आचार्यले भत्किएर र स्तरोन्नति कारण नभई माथिबाट झरेको पहिरोले सडक धुलाम्मे भएको बताए।
सडकभन्दा माथि गत वर्ष विद्युतको ट्रान्समिसन लाइन विस्तार गर्दा सडक खनिएको र त्यही सडकबाट बगेको पहिरो र माटोले सडक धुलाम्मे बनेको उनले बताए।
ट्रान्समिसन लाइनको लागि सामान लैजान खनिएको कच्ची सडकबाट वर्षायाममा लेदो माटो सहितको पहिरो बगेको र अहिले त्यो धुलोमा परिणत भएको उनले बताए।
हाल दुई लेनमा रहेको यो सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्ने गरी २०७५ सालमै चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले सम्झौता गरिसकेको छ।
गैंडाकोटदेखि बुटवलसम्मको १ सय १३ किलोमिटर सडक स्तरोन्नतिको लागि १७ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो।
कूल लागतमध्ये एसियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी रहेको छ। एडिबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो।
तर ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि न त सडक मर्मत गरिएको छ न त सडक स्तरोन्नतिको काम नै सुरू गरिएको छ।
उक्त कम्पनीले साढे तीन वर्षमा निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता गरे पनि दाउन्ने पश्चिमतर्फको सडकमा कुनै काम हुन सकेको छैन।
पूर्वतर्फको सडक किनारमा सम्याउने र रूख कटानको काम सुरू गरिए पनि सडक निर्माणको काम भने सुरू हुन सकेको छैन।
सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले दिनहुँ पानी हालेर धुलोमुक्त गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले वेवास्ता गरेको दुम्किबासकी आदिमाया गुरूङले गुनासो गरिन्।
सडकबाट उड्ने धुलोकै कारण श्वासप्रश्वास र छालाको रोगी बन्न थालेको उनले बताइन्।
‘सडक छेउछाउका हामीलाई कोरोना महामारी भन्दा धुलोले सास्ती दिएको छ’, उनले भनिन्, ‘कोरोनाले भन्दा धुलो खाएर मर्ने भइयो, रुघाखोकी कहिल्यै छुट्दैन।’