सडक किनार र पानी जम्ने घोलाहरूमा लामालामा पात र डाँठ सहितको अग्लो वनस्पति ‘नर्कट’ देख्नुभएको छ ?
पानी जमेको र चिसो स्थानमा हर्लक्कै हुर्किने नर्कट गाईवस्तुबाट खेतिपाती जोगाउन किसानहरूले खेतबारीको बारको रूपमा पनि लगाउने गर्छन्।
सानो बिरूवा हेर्दा राम्रै घाँसजस्तो देखिने गरे पनि हुर्किंदै गएपछि यसको पात र डाँठ खस्रो हुँदै जाने भएकाले यसलाई गाईवस्तुले पनि खाँदैनन्।
पात र डाँठ खस्रो हुने भएकाले गाईवस्तुले नखाने भएपछि खेतबारीको बारमा लगाएको नर्कटलाई कसैले काटेर समेत लैजाँदैनन्।
तर रुपन्देहीको सैनामैना नगरपालिकामा भने यही नर्कटको प्रयोगबाट प्राकृतिक रूपमै ढलको फोहोर पानी प्रशोधन भइरहेको छ।
जिल्लाका पुराना र ठूला पालिकाहरूलाई बजारको ढल व्यवस्थापन चुनौती बनिरहेको समयमा सैनामैनामा भने नर्कटको माध्यमबाट प्राकृतिक रूपमा ढल प्रशोधन गर्ने विधि अपनाउँदै आएको छ।
पहिलो पटक २०६९ सालमा सैनामैनाको वडा नं. ३ रामबस्तीमा नमूनाको रूपमा सञ्चालन गरिएको ढल प्रशोधन केन्द्रमा सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीसहित १ सय घरधुरीको ढल प्रशोधन गरी व्यवस्थित गरिँदै आएको छ।
यस्तो योजना नेपालमा नै नौलो भएकोले मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा परीक्षणको रूपमा १ सय घर परिवारको ढल संकलन गरी प्रशोधन गर्ने योजना सुरू गरेको थियो।
चार करोड रुपैयाँको लागतमा २०७४ सालमा निर्माण सम्पन्न गरिएको पहिलो योजना सफल भएपछि संस्थाले दोस्रो योजनाको रूपमा वडा नं. ४ को अस्नैंया डाँडामा करिब ५ सय घर परिवारको ढल प्रशोधन केन्द्र निर्माण गरी प्रशोधन गर्न सुरू गरिसकेको छ।
यो योजना निर्माणको लागि पनि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ६ करोड रुपैयाँ लगानी भएको छ।
दुइटै योजनामा खानेपानी संस्था र नगरपालिकाको ३० लाख मात्रै लगानी छ।
दुइटै योजना सफल भएपछि खानेपानी संस्थाले आफ्ना ३ हजार बढी उपभोक्ता सबैको घरबाट निस्किने ढल व्यवस्थापन गर्ने
सोच बनाएको संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताए।
तेस्रो योजनाअन्तर्गत वडा नं. ३ र २ का ७ सय बढी परिवारको ढल व्यवस्थापन गर्ने योजना बनाइएको भण्डारीले बताए। त्यसको लागि ११ करोड रुपैयाँ बढी खर्च लाग्ने अनुमान गरिएको छ।
खानेपानी संस्थाले नगरपालिकाको सहयोगमा डिपिआर तयार गरेपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट नै बजेट व्यवस्थापन हुने भण्डारीले बताए।
नगरप्रमुख चित्र बहादुर कार्की पनि नगरपालिकाले नगरका सबै खानेपानी संस्थाको सहयोगमा ढल व्यवस्थापन गर्ने लक्ष्य राखेको बताउँछन्।
८० हजार बढी जनसंख्या रहेको सैनामैना नगरपालिकामा १८ वटा खानेपानी संस्थाले उपभोक्तालाई खानेपानी वितरण गरिरहेका छन्।
अन्य खानेपानी तथा सरसफाइ संस्थाहरूलाई समेत ढल प्रशोधन केन्द्र निर्माणको लागि पहल गर्न नगरपालिकाले आग्रह गरेको छ।
यसका लागि संघीय र प्रदेश सरकारले पनि सहयोग गर्न आवश्यक रहेको नगरप्रमुख कार्की बताउँछन्।
मानिसहरूले घरमा दैनिक उपयोग गर्ने पानीको ८५ प्रतिशत हिस्सा विभिन्न माध्यमबाट पुन जमिनमा नै विसर्जन हुने विज्ञहरू बताउँछन्।
यसरी विसर्जन भएको सबै पानी हानीकारक नभए पनि बाथरूम र भान्साबाट निस्किएको पानीले बाहिर फोहोर देखिने मात्र होइन दुषित समेत हुने गर्छ।
तर त्यही पानीलाई व्यवस्थित रूपमा प्रशोधन गर्न सकिए गाईवस्तुलाई खुवाउन र सिँचाइका लागि प्रयोग गर्न सकिन्छ।
मूर्गिया खानेपानी संस्थाका अध्यक्ष भण्डारीले सैनामैनाबाट ढललाई पनि प्रशोधन गरेपछि पुनः प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको बताउँछन्।
अहिले सञ्चालन भइरहेका ढल प्रशोधन केन्द्रमा घरको फोहोर पानी ल्याउनका लागि मूर्गिया बजारदेखि घमाहा खोलासम्म करिब ४ हजार मिटर लम्बाइको ढल निर्माण गरिएको छ।
त्यही ढलमार्फत् घर-घरको भान्सा कोठा, बाथरूमको पानी प्रशोधन केन्द्रमा ल्याइन्छ। केन्द्रमा ढलसँगै बगेर आएको ठोस वस्तु छान्न दुई तीन वटा च्याम्बर बनाइएको छ।
ढलको अन्तिम निकाससँगै बनाइएको पहिलो च्याम्बरमा ठोस वस्तु छानिएर रहन्छन् भने तरल वस्तु अगाडिको च्याम्बरतर्फ पठाइन्छ।
जहाँ ठूलो र बन्द च्याम्बर निर्माण गरिएको छ। त्यो च्याम्बरबाट ग्यास समेत उत्पादन गर्न सकिने भए पनि अहिले सुरू गरिएको छैन।
उक्त च्याम्बरमा ढलको पानी थिग्रिँदै नर्कट रोपिएको च्याम्बरमा पुग्छ।
नर्कट रोपिएको च्याम्बरमा विभिन्न साइजका गिट्टी र बालुवाको तह मिलाइएको छ।
ढलको पानीमा भएको सबै फोहोर र दुषित पदार्थ सोही च्याम्बरमै रहन्छ भने सफा पानीमात्र अगाडिको च्याम्बरमार्फत् सिधै खोलामा पठाउने गरिएको छ।
नगरप्रमुख कार्कीका अनुसार विभिन्न साइजको गिट्टी र बालुवाले ठोस वस्तुलाई माथिल्लो तहमै रोकेर राख्छ भने तरल रूपमै रहेको दुषित पदार्थलाई नर्कटको जराले सोसेर लिन्छ।
यसरी प्रशोधन भएर खोलामा पठाइएको पानीलाई लुगा धुन, गाईवस्तुलाई खुवाउन, खेतबारीमा सिँचाइ गर्न लगायतका काममा प्रयोग गर्न मिल्ने कार्कीको भनाइ छ।
ग्रामीण क्षेत्रमा पनि सहर बस्दै जाँदा प्रदूषणसँगै पानीको अभाव समेत पूर्ति गर्न ढल प्रशोधन केन्द्र निर्माण गरिएको नगर प्रमुख कार्कीले बताए।
‘बजारीकरण हुँदै जाँदा एकातिर पानीको अभाव बढेको छ, अर्कोतर्फ घरबाट निस्कने फोहोर पानी व्यवस्थापन समस्याका रूपमा छ, यी दुइटै समस्या समाधानको लागि ढल प्रशोधन केन्द्र निर्माण गरिएको हो,’ उनले भने।
नगरप्रमुख कार्कीकै अगुवाइमा ६९ सालमै तत्कालीन जलस्रोत मन्त्री तथा रुपन्देहीबाट निर्वाचित सांसद विष्णु पौडेलको सहयोगमा ढल प्रशोधनको योजना अगाडि बढाइएको थियो।
संयोग नै मान्नुपर्छ योजना सुरू हुँदा पौडेलको स्वकीय सचिव रहेका कार्की नगरप्रमुख भएपछि योजना कार्यान्वयनमा ल्याइएको छ।
अहिले ढल प्रशोधन गरी पुनः खोलामा मिसाउन थालेपछि खोलाको पानी सफा हुनुको साथै हिउँद याममा सुख्खा रहने घमाहा खोला पनि रिचार्ज हुन थालेको छ।
ढल व्यवस्थित भएपछि घर वरिपरि फोहोर हुने समस्या समेत हटेको उपभोक्ताको भनाइ छ।
मुर्गियाकी सावित्री शर्माले पहिले बाथरूमबाट निस्किएको पानीले घर वरिपरि हिलाम्मै हुने गरेकोमा अहिले भने सफा रहने गरेको बताइन्।
प्रशोधन केन्द्र निर्माणको लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले लगानी गरे पनि त्यसको नियमित सञ्चालन तथा मर्मतको लागि खानेपानी उपभोक्ता संस्था आफैंले गर्दै आएको छ।
संस्थाले मर्मत सम्भार तथा व्यवस्थापनको लागि भन्दै ढल व्यवस्थापन भएको घरबाट खानेपानीको महसुल उठेको रकमको २० प्रतिशत अतिरिक्त शुल्क लिने गरेको छ।
संस्थाका अध्यक्ष भण्डारीले त्यही शुल्कबाट ढल तथा च्याम्बरको सरसफाइ लगायतको काम गर्दै आएको बताए।