कोरोना संक्रमितको उपचारका लागि २० करोड रुपैयाँ विनियोजन गरेको लुम्बिनी प्रदेश सरकारले १२ वटा जिल्लामा जम्मा ७ वटा भेन्टिलेटर थपेको छ।
रुपन्देहीका दुई तथा बाँके र दाङका एक-एक गरी ४ वटा अस्पतालमा ३४ बेडको आइसियू संचालन गरिएको छ।
देशभर लक्षणसहितका तथा गम्भिर अवस्थाका संक्रमित थपिँदै गर्दा आइसोलेसनसँगै आइसियू र भेन्टिलेटर अभाव भइरहेको छ। तर प्रदेश सरकारले आइसियू र भेन्टिलेटर थप गर्ने तर्फ कुनै तयारी गरेको छैन।
गत चैत १० गते बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले बुटवल, भैरहवा, दाङ र नेपालगञ्जका ४ वटा अस्पतालमा भेन्टिलेटर र आइसियू सहितको आइसोलेसन तयार गर्ने निर्णय गरेको थियो।
सोही अनुसार आइसोलेसन अस्पताल निर्माणको लागि बजेट विनियोजन गरिएको थियो। बजेट बिनियोजन भए पनि लकडाउनलाई कारण देखाउँदै भेन्टिलेटर खरिद गरिएन।
बुटवल धागो कारखानास्थित आइसोलेसन अस्पताललाई गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सापटीको रुपमा चारवटा भेन्टिलेटर र ८ वटा आइसियू बेड उपलब्ध गराएपछि सेवा शुरु गरिएको थियो।
तर गम्भिर अवस्थाका कोरोना संक्रमित थपिँदै जाँदा समेत आइसियू र भेन्टिलेटर खरिद गर्नेतर्फ अस्पताल र सरकारले समेत चासो दिएका छैनन्।
प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले कोरोना संक्रमणपछि सरकारले चारवटा अस्पतालमा १२ वटा भेन्टिलेटरसहित ३४ बेडको आइसियू संचालन गरेको बताए।
उनले भेन्टिलेर थपेको दावी गरिरहँदा बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालले नै सापटीको भेन्टिलेटर चलाइरहेको छ। संक्रमण फैलिएको सात महिना पुग्दा पनि अस्पतालले भेन्टिलेटर खरिद गर्ने कुनै तयारी गरेको छैन ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको ५ बेडको आईसियूमा यसअघिकै जम्मा २ वटा मात्रै भेन्टिलेटर छन्।
भैरहवास्थित भिम अस्पतालमा पनि एउटा भेन्टिलेटर सहित ५ बेडको आइसियू र २२ बेडको आइसोलेसन मात्रै संचालनमा छ।
साविक लुम्बिनी अञ्चलका ६ जिल्लाको साथै प्यूठान र पूर्वी नवलपरासीका गम्भिर संक्रमित उपचारको लागि आउने रुपन्देहीमा प्रदेश सरकारले एउटा मात्रै भेन्टिलेटर उपलब्ध गराएको छ।
नेपालगञ्जको भेरी अस्पतालमा एउटा भेन्टिलेटर र ८ बेडको आइसियू सहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा छ। प्रदेश सरकारले यसअघि कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन गरेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका आइसियू र भेन्टिलेटर भेरी अस्पतालमा सारिएको हो।
त्यस्तै दाङको बेलझुण्डीमा रहेको कोरोना अस्पतालमा ५ वटा भेन्टिलेटर सहितको आइसियू बेड संचालनमा छ। प्रदेश सरकारले चैत महिनामा नै दुईवटा भेन्टिलेटर, ५ बेडको आइसियू कक्ष संचालन गरे पनि जनशक्ति अभाव हुँदा आइसियू संचालन हुन सकेको थिएन।
विगत एकमहिनादेखि भने संघीय सरकारले जनशक्तिको व्यवस्था गरेपछि राप्ती प्रादेशिक अस्पतालबाट समेत तीन वटा भेन्टिलेटर थपेर पाँचवटा संचालनमा आएको अस्पतालका कोरोना फोकल पर्सन डा. प्रवेश शर्माले जानकारी दिए।
प्रदेश सरकारले कोरोना संक्रमितको उपचारको लागि २० करोड रुपैयाँ विनियोजन गरेको भए पनि पर्याप्त आइसियू र भेन्टिलेटर नहुँदा गम्भिर अवस्थाका कोरोना संक्रमितलाई आइसोलेसनमै उपचार गर्न बाध्य भएको चिकित्सकहरु बताउँछन्।
बुटवल कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले थप आइसोलेसनका लागि पनि स्रोत साधनको अभाव भइरहेको बताए ।
गम्भिर अवस्थाका संक्रमितको चाप बढ्दै गएपनि प्रदेशका अस्पतालमा पूर्वाधार र उपकरण थपिएका छैनन्। रुपन्देहीमा भेन्टिलेटर अभाव भएपछि बाहिरका जिल्लामा लैजाँदै गर्दा संक्रमितहरुको बाटोमै मृत्यु हुने गरेको छ।
डा. थापाका अनुसार बुटवलमा बनाइएको आइसियूमा हालसम्म करिब १ सय ५० जना कोरोना संक्रमितले उपचार सेवा लिइसकेका छन्।
तीमध्ये १६ जना अहिले पनि उपचाररत छन् भने २८ जनाको मृत्यु भइसकेको छ। आइसियूमा सेवा लिएका करिब १ सय जनाले कोरोना जितेर घर फर्किएका छन्। त्यस्तै २६ जनाको भेन्टिलेटरमा उपचार गरिएको छ। तीमध्ये पनि दुईजना निको भएर घर फर्किएको थापाले जानकारी दिए।