चार महिना अगाडिसम्म किरण दाहालको दैनिकी 'एक्सन' र 'कट' भन्दैमा जान्थ्यो। लकडाउनले द्वन्द्व निर्देशक किरणको जीवनशैली फेरिदियो। उनी आजकल अनामनगर, भाटभटेनीको सडकछेउमा तरकारीको भाउ भन्दै गरेकी भेटिन्छिन्।
तीन वटा फिल्ममा द्वन्द्व निर्देशन र दर्जन हाराहारीमा सहायक निर्देशक भइसकेकी किरणले केही समयदेखि ठूला चलचित्र पाएकी थिइनन्। छोटा फिल्मबाटै जसोतसो गर्जो टार्दै थिइन्।
चैत ११ गते लकडाउन भएपछि उनको आम्दानीको सबै श्रोत रोकियो। बचत धेरै थिएन, अलिअलि भएको पैसा सकिँदै गयो।
'एक महिना त कोठामै बसेँ। कोठा भाडा त परै जाओस्, रासन किन्न पनि मुश्किल पर्न थाल्यो,' किरणले भनिन्, 'जागिर खोज्ने पनि सोचेँ। तर त्यस्तो समयमा कता खोज्न जानु, कसले दिने!'
पहिले कलाकारहरूलाई लड्न सिकाउने किरण आफ्नै जीवनसँग लड्न थालिन्।
त्यो समयमा खाद्यान्न, तरकारी लगायत पसललाई प्रहरीले रोकतोक नगरेको उनले याद गरेकी थिइन्। उनलाई फुटपाथमा तरकारी व्यापार गर्न सकिन्छ कि भन्ने लाग्यो।
साथीसंगीसँग सल्लाह लिइन्। चिनजानका सबैले 'हामी तरकारी किन्दिन्छौं, गर्ने भए गर' भनेपछि उनको आत्मबल बढ्यो। तर सानै व्यापार गर्न उनीसँग लगानी थिएन। जोहो गर्न धेरै साथीलाई फोन गरिन्। सहयोग भने नपाएको उनी बताउँछिन्।
'पैसा माग्छ भन्ठानेर होला कसैले फोन नउठाउने। कसैले फोन नम्बरै ब्लक लिस्टमा राख्नुभयो। कतिले म्यासेन्जरमा पनि ब्लक गर्नु भएछ,' उनले भनिन्, 'अनि पहिले खाजा खाने गरेको होटलकी गीता पाण्डे दिदीले पैसा त लकडाउनमा हामीसँग पनि छैन, तिमी काम गर्ने भए ४-५ सय भए पनि सहयोग गरौंला भनेपछि आँटे।'
किरणले गीतासँग ४ सय लिइन्। तीनकुने गएर साग, फर्सीका मुन्टा लगायत केही तरकारी ल्याएर बेच्न थालिन्। सापट लिएको पैसा, तरकारी नबिके कसरी तिर्ने भन्ने डर मनमा थियो।
'सुरूमा त यति महंगो तरकारी कसले किन्छ होला भन्ने लागेको थियो। तर सबै तरकारी त्यही दिन सकियो,' किरण सम्झिन्छिन्।
उनले ४ सयको तरकारीबाट त्यो दिन थप ४ सय कमाइन्। भोलिपल्ट आठ सयकै किनिन्। त्यो बेचिसक्दा उनको पुँजी ११ सय पुग्यो। कहिलेकाहीँ नबिकेर फाल्नुपर्दा घाटा पनि भयो। तर उनले पछि नसरी यसरी नै व्यापार बढाउँदै गइन्।
किरणको हार नमान्ने स्वभाव अहिलेदेखिको होइन। २०४५ सालमा रामेछाप पवरवासमा जन्मिएकी उनको परिवार उनी सानै हुँदा सलार्ही सर्यो। आमाबुवाका ८ सन्तानमध्ये जेठी किरण सानैदेखि अलि हक्की थिइन्।
'कसैले केही गर्यो भने गएर थर्काइहाल्थेँ। गाउँका केटीहरूलाई अर्को गाउँका केटाकेटीले दुःख दिए भने गएर पिटिहाल्थेँ,' उनी पुराना दिन सम्झिन्छिन्, 'तर घरमा बुबाआमाले भने मेरो छुच्चो स्वाभाव मन पराउनु हुन्थेन।'
उनी १२-१३ वर्षकी हुँदाताका गाउँकै सन्त लामाले केटाकेटीलाई कराते सिकाउँथे। उनी हेर्न जान्थिन्, 'अरूले खेलेको हेर्दा साह्रै खेल्न मन लाग्थ्यो। तर त्यहाँ कोही पनि केटी मान्छे थिएन।'
एकदिन उनले 'दाइ, म पनि कराते सिक्छु नि' भनेर आग्रह गरिछन्। किरणको कुरा सुनेर सन्तले हाँस्दै भनेछन्- केटी भएर पनि कराते खेल्ने!
किरणले जिद्दी गरेपछि उनी सिकाउन राजी भए। तर पाँच महिनामै उनले कराते सिक्न छाड्नुपर्यो, 'घरमा थाहा पाउनुभयो। आमाबुवाले नखेल भनेपछि छाड्न बाध्य भएँ।'
उनी एसएलसी सकेर काठमाडौं आइन्, योजनाबिनै। कहाँ बस्ने, के काम गर्ने, केही टुंगो थिएन। आइपुग्ने बित्तिकै झोला बोकेरै कोठा खोज्न हिँडिन्। त्यही दिन उनले कोठा मात्र होइन, फिल्मी शैलीमै साथी पनि पाइन्।
कोठा खोज्दै हिँडिरहेका बेला बाटामा एक युवतीलाई 'बानेश्वर भन्ने कहाँ पर्छ' भनेर सोधिछन्।
ती युवतीले 'तपाईं कहाँ जान लाग्नुभयो' भनिन्।
किरणले भनिछन्, 'म त आजै गाउँबाट आएको, काठमाडौंका बारेमा केही थाहा छैन। कोठा खोज्न हिँडेको।'
'अहिले कहाँ बस्नु हुन्छ त,' युवतीले सोधिन्।
'पाएसम्म कोठा नै खोज्ने आज। नपाए चाबहिलको गंगाहिटी भन्ने ठाउँमा सानुममीको घर छ रे। देखेको त छैन, त्यतै जान्छु होला,' किरणले त्यो बेला भनेको सम्झिइन्।
उनले यति भनेपछि ती युवतीले भनिछन्, 'मेरो नाम सुनिता हो, घर पनौती। म पनि भर्खरै कोठाको बैना दिएर आएकी हुँ। दुई जना मिलेर बस्ने त?'
किरणलाई त ढुंगा खोज्दा देउता भेटिएझैं भयो। केही बेरअघि अन्जान दुई जना त्यो संवादपछि २ वर्षसम्म सँगै मिलेर बसेको किरण बताउँछिन्।
आएको एक महिनापछि गाउँकै दिदी पर्नेका छोराले उनलाई मोबाइल मर्मत गर्ने ठाउँमा महिनाको ३ हजार पाइने जागिर पनि खोजिदिए। काम पाए पनि उनको मन शान्त थिएन। गाउँ छाडेर आएदेखि नै उनलाई एउटै ध्याउन्न थियो- कराते कहाँ सिकाउँछ? कति पैसा तिर्नुपर्छ?
संयोगवस उनले काम गर्ने ठाउँनेरको एउटा रेस्टुरेन्टका बाउन्सर रंगशालामा कराते सिकाउँदा रहेछन्। एकपटक उनले करातेकै ड्रेस लगाएर रेस्टुरेन्ट आएको देखेपछि किरणले उनीसँग करातेबारे जानकारी लिइन्।
'ती दाइले रंगशालामा सिकाइन्छ, महिलालाई पैसा पर्दैन। तर ड्रेस र बेल्ट टेस्ट गर्ने बेलामा पैसा पर्छ, तिमी खेल्ने भए म सबै चाँजोपाजो मिलाइदिन्छु भनेपछि म तयार भएँ,' किरणले सम्झिइन्।
गाउँमा अधुरै छाडेको सपना बोकेर उनी रंगशालामा भर्ना भइन्। दुई वर्षमा ब्ल्याक बेल्ट पनि पाइन्। किरणका अनुसार रंगशालामा द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, खलनायक भूमिकामा चिनिएका मुकुन्दराज थापा कराते सिकाउन आउँथे।
किरणलाई कसैले 'यी गुरूहरू फिल्ममा खलनायकको भूमिका निर्वाह गर्छन् नि' भनेर सुनाइदियो। यो सुनेपछि उनलाई पनि फिल्ममा काम गर्न मन लाग्यो।
'एकदिन योगेन्द्र श्रेष्ठलाई हजुरजस्तै फिल्ममा काम गर्न के गर्न पर्छ भनेर सोधेँ। उहाँले मेरो स्टार एकेडेमी भन्ने ट्रेनिङ सेन्टर छ। त्यहाँ फिल्मी फाइट सिक। त्यो सिकेपछि फिल्ममा जान पाइन्छ भन्नुभयो,' किरणले योगेन्द्रका भनाइ उद्धृत गर्दै सुनाइन्।
ट्रेनिङ सेन्टरमा मासिक एक हजार तिर्नु पर्थ्यो। उनको कमाइ ३ हजार। तै पनि जसोतसो धानिन्छु भनेर उनी भर्ना भइन्।
'डेढ वर्ष सिकेपछि मैले कलाकारहरूलाई नै सिकाउने नै काम पाएँ। पहिलो पल्ट रेस मरहट्ठा र खुश्वु न्यौपानेलाई सिकाएकी थिएँ। सुरूमा त डर पनि लाग्यो, रेस दाइलाई पहिल्यैदेखि फिल्ममा देखेको भएर होला,' किरणले अनुभव सुनाइन्।
उनका अनुसार त्यहाँ उनलाई निशा अधिकारी, नवल खड्का, सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ लगायत धेरै कलाकारलाई 'फाइट' सिकाउने अवसर मिल्यो। त्यहीँ काम गर्दैगर्दा उनले 'लुट', 'छड्के', 'पद्मिनी', 'पिपल', 'हम जाएगा', 'पुन्टे परेड' लगायत फिल्ममा सहायक द्वन्द्व निर्देशक भएर काम गरिन्। तर सहायक निर्देशनको पैसा निकै कम आउँथ्यो।
'कुनैमा पैसा पाइएन, कुनैमा जम्मा २ हजार पाएँ। सहायक निर्देशन गर्दा पाइने त्यस्तै–त्यस्तै हो,' उनले भनिन्।
फिल्मसँग जोडिएपछि उनलाई अभिनयतिर पनि चासो बढ्यो। अभिनय सिक्न भनेर निर्माता तथा निर्देशक वीरेन्द्र हमालको एकेडेमी जान थालिन्। उनले त्यहाँ कसैलाई आफूले सहायक द्वन्द्व निर्देशक भएको भनेकी थिइनन्। तर किरणले सिकाएका विद्यार्थीहरू पनि त्यहाँ जाँदा रहेछन्।
'वीरेन्द्र हमालले अभिनय भएन भनेर गाली गर्नुहुन्थ्यो। चित्त दुख्थ्यो,' किरण सम्झिन्छिन्, 'मलाई हेला गर्नुहुन्छ जस्तो लाग्थ्यो। एकदिन त कक्षामै निदाएछु। लठ्ठीले पिटौंला झैं गर्नुभयो। त्यो दिन म कक्षामै रोइदिएँ। सरले पछि फकाउनुभयो।'
उनी वीरेन्द्रका भनाइ उद्धृत गर्छिन्, 'तँ जस्तो स्ट्रङ केटी पनि रून्छन्? तैंले त अझ धेरै गर्नु छ, धेरै गर्न सक्छस्। त्यही भएर तलाईं राम्रो कलाकार बनाउन गाली गरेको हुँ। मलाई तेरा विद्यार्थीहरूले तेरो बारेमा सबै भनिसकेका थिए।'
किरणका अनुसार विद्यार्थीहरूले 'उहाँ हाम्रो गुरू हो, राम्रो सिकाउनु हुन्छ' भनेर वीरेन्द्रलाई सुनाएका रहेछन्। वीरेन्द्रले आफूले फिल्म बनाए 'ब्रेक' म दिन्छु पनि भनेछन्।
'तर मलाई विश्वास थिएन। सरले कहिले फिल्म बनाउने, कहिले काम दिने भन्ने सोचेँ र त्यसको केही दिनमा अभिनय कक्षा छाडेँ,' उनी भन्छिन्।
केही समयपछि किरणले फाइट सिकाएका निरन्जन शर्मा भेट भए। निरन्जन त्यो बेला 'सारंक' फिल्ममा आवद्ध थिए। निरन्जनले नै वीरेन्द्र हमालले उनलाई खोज्दै गरेको सुनाए।
'वीरेन्द्र सरले फिल्म बनाउँदै हुनुहुन्छ। एक पटक सरलाई भट्नु रे भन्नुभयो। के रहेछ भनेर भेट्न गएँ,' उनले भनिन्।
भेट्नेबित्तिकै वीरेन्द्रले भनेछन्, 'नानी, तँ फिल्म गर्न सक्छेस्?'
किरणले सक्छु भनेपछि वीरेन्द्रले फेरि जिस्क्याउँदै भनेछन्, 'फिल्म बिगारिस् भने त खर्च तैंले बेर्होदिनु पर्छ नि।'
उनले पनि ठट्टा शैलीमै भनिदिइन्, 'भै हाल्छ नि सर।'
वीरेन्द्रले भनेझैं किरणलाई 'ब्रेक' दिए।
यो २०७१ सालको कुरा हो। साउनबाट सुटिङ सुरू भयो। पहिलो पटक आफू द्वन्द्व निर्देशक भएर काम गर्दा उनलाई विश्वासै भएको थिएन रे।
'सेटमा पुगेपछि बल्ल म द्वन्द्व निर्देशक भए जस्तो लाग्यो,' किरणले भनिन्।
फिल्म 'क्लाइमेन्स'को दृष्य उनलाई अविस्मरणीय लाग्छ।
'क्लाइमेक्स सुटिङ चोभारमा थियो। त्यहीँ अर्को फिल्मको पनि सुटिङ रहेछ। त्यो फिल्मको टोली महिलाले द्वन्द्व निर्देशन गरेको छ भनेर हेर्न आउनुभएको थियो। त्यो देख्दा साह्रै खुसी लाग्यो,' उनले भनिन्।
यही फिल्म क्रममा उनले रमाइलो घटना पनि भोगेकी थिइन्। राष्ट्रिय नाचघरनजिक एउटा मान्छेलाई लखेट्ने दृष्यमा स्थानीयले साँच्चै भन्ठानेर प्रहरी नै बोलाइदिएछन्। प्रहरीलाई बुझाएपछि ढुक्क भएको उनी सम्झिन्छिन्।
द्वन्द्व निर्देशनमा आफ्नो ज्यानको खतरा हुनेबारे पनि उनले पहिलो फिल्मबाटै बुझिन्। सुटिङ नेपालगञ्जमा थियो। त्यहाँ किक सिकाउँदा उनको आखामाथि चोट लागेर तीन टाँका लगाउनु परेको उनी बताउँछिन्।
'बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सुट भ्याउनै पर्ने थियो। त्यसकारण रगतले ३-४ वटा रुमाल भिज्दा पनि मैले काम गरिरहेँ।'
'सारंक' पछि उनले अरू दुई फिल्ममा द्वन्द्व निर्देशकका रूपमा काम गरिसकेकी छन्। उनको दोस्रो फिल्म 'तरंग' नायक तथा निर्माता ओम क्षत्रीको निधन भएकाले रिलिज हुन सकेको छैन। तेस्रो 'कुइनेटो' लकडाउनका कारण रोकिएको छ।
तर फिल्मी क्षेत्रमा पुरुषवाद हावी भएको उनको बुझाइ छ। आफूलाई निक्कै पुराना वा नयाँ निर्माता-निर्देशकले काम मात्र काम दिने उनी बताउँछिन्।
'चलेका-मध्यमले त यसले गर्न सक्दैन भन्ठान्नुहुन्छ जस्तो लाग्छ। मैले राम्रो काम गर्न सके पनि यो महिला हो, फाइटको काम गर्न सक्दैन भन्ने धेरैको मानसिकता छ,' उनी भन्छिन्।
उनका अनुसार लामो समय काम नपाए पनि लकडाउनअघि ४-५ फिल्मका लागि कुरा चलिरहेको थियो। कुरा चलेर मात्रै पैसा आउने त होइन। चार महिने लकडाउनले उनको फिल्मी दृष्यमा होइन, दैनिक गुजारामा 'द्वन्द्व' सुरू भयो। तर उनी कत्ति हच्केकी छैनन्। अझ फिल्म क्षेत्रकै मान्छेले तरकारी बेचेको देखेर प्रोत्साहन गर्दा आफूले गरेको कामप्रति गर्व लाग्न थालेको बताउँछिन्।
'यो बाटो भएर कति निर्देशक, निर्माता, कलाकार र फिल्मसँग सम्बन्धित मान्छे हिँड्नुहुन्छ। सबैले मिहेनत गर्न लाज मान्नु हुँदैन, ठीक गरिरहेकी छौ भन्दा खुसी लाग्छ।'
आफू फिल्म क्षेत्रको मान्छे भएकाले तरकारी व्यवसायबाट विभिन्न कुरा बुझ्न सघाउ समेत पुगेको उनले बताइन्।
'धेरै प्रकारको मान्छे भेटिँदा रहेछन्। कोही साह्रै किच्किचे, कोही भद्र। उहाँहरूलाई हेरेर फिल्ममा कुनै पात्र बनाउन सकिने रहेछ,' किरणले तरकारी व्यापारलाई फिल्मसँग जोड्दै भनिन्।
समय सामान्य भएपछि पनि भ्याएसम्म तरकारी व्यापार नछाड्ने किरणको सोच छ। अझ लगानी भयो भने सटरै राख्ने योजना बुनेकी छन्।
भन्छिन्, 'धेरै दुःख गरेर फिल्म क्षेत्रमा जोडिएकाले त्यो छाड्ने कुरा भएन। तर त्यो सिजनल काम हो। मेरो फिल्म जतिसुकै हिट भए पनि, एक दिन मात्र फुर्सद भए पनि तरकारी भने बेच्न बस्छु।'