त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र-समाजशास्त्र केन्द्रीय विभाग एक महिनायता हेरूँहेरूँ लाग्ने भएको छ। मानवशास्त्रका विभागीय प्रमुख डम्बर चेम्जोङ र समाजशास्त्रका प्रमुख टीकाराम गौतम यहाँको प्राज्ञिक र भौतिक सुधार गर्न दत्तचित्त छन्।
उनीहरू दुईको प्रयासमा विभागको रूपरङ फेरिइसकेको छ। कक्षाकोठा रङरोगन, आरामदायी डेस्कबेन्च, व्यवस्थित पुस्तकालय र पठनसामग्री, सफा र सुविधायुक्त शौचालय, बगैंचा सौन्दर्यीकरणदेखि पूरा विभाग परिसर सरसफाइ भइसक्यो।
विद्याआर्जन गर्ने ठाउँको वातावरण सुन्दर बनाउँदै जाने यो प्रयासमा विभागले अर्को इँटा थपेको छ, चराघर।
हो, यहाँ चराचुरूंगीका लागि चराघर बनाइएको छ, जुन 'आइडिया' प्राध्यापक चेम्जोङको हो।
'झलक्क हेर्दा रूखमा चराघर बनाएर त्रिवि परिसरलाई थप सुन्दर बनाउन खोजिएको हो,' चेम्जोङले भने, 'अर्को अर्थमा विश्वविद्यालय परिसर चराचुरूंगीको पनि हो। उसलाई पनि स्थान दिनुपर्यो नि।'
त्रिवि परिसर त्यसै पनि हरियाली छ। यहाँ थरिथरिका चरा पाइन्छन्। यी चराचुरूंगी आफ्नो घर आफैं बनाउन सक्छन्। मान्छेले बनाइदिएका कृत्रिम घरमा नबस्न पनि सक्छन्। तै पनि यो ठाउँ चराको पनि उत्तिकै हो भन्ने बुझाउन रूखमै सुरक्षित 'घर' बनाइदिन खोजेको उनले बताए।
'त्रिविका धेरै भवनमा चराका गुँड छन्। चरा हाम्रो घरमा बसेर फोहोर नपारिदिऊन्, रूखैमा फर्किऊन् भनेर घर नै बनाइदिएका हौं,' उनले भने, 'रूखमा घर नै किन बनाइदिएको वा घर बनाएपछि रूखमा किन राखिदिएको, मान्छेले आ-आफ्नो अर्थ लगाउन सक्छन्।'
मान्छेका घरजस्तै शैलीका साना रंगीबिरंगी यी घरमा चरा बस्छन् नै भन्ने छैन। उनीहरूले आफ्ना लागि आफैं गुँड बनाउन सक्छन्। त्यसो भयो भने मान्छेले पनि आफ्नो घर आफैं बनाउनुपर्छ भन्ने सन्देश जाने चेम्जोङ बताउँछन्।
चराघर राखेको केही दिन बितिसक्यो। चरा बसेका छैनन्। घरमा लगाइएको रङको गन्ध वा आकारप्रकारले पनि हुनसक्छ।
'हामीले राखिदिएर मात्र कहाँ भयो र, चरालाई पनि भरपर्दो लाग्नपर्यो। नत्र पासो पो थापिएको हो कि, चरालाई के थाहा,' चेम्जोङ भन्छन्, 'जाँचबुझ गर्न, पर्खन, हेर्न आदि चराबाट सिक्नुपर्ने यस्ता धेरै कुरा हुन सक्छन्।'
त्रिवि भवनमा परेवाले पनि धेरै गुँड बनाएका छन्। बिस्टाले फोहोर बनाएको छ। हामीले पालेका प्रायः परेवा यस्तै चराघरमा हुन्छन्। त्यसैले परेवालाई घर हुने, बिस्टाबाट पनि छुटकारा हुने आशाले चेम्जोङले चराघर बनाउने उपाय लगाएका थिए। तर परेवा मान्छेकै वरिपरि बस्न रुचाउने उनले चाल पाए। त्यसैले यी चराघर अन्य चराका लागि रूखमा झुन्ड्याइएका छन्।
अहिले नै चरा बस्न नआए पनि १३ वटा रातो छानो भएका सेता चराघरले मानवशास्त्र–समाजशास्त्र विभाग परिसर थप सुन्दर बनाएको छ।
'घर नै बनाइदिएपछि परेवाको समस्या समाधान र व्यवस्थापन दुवै होला भनेर उपाय लगाएको। परेवाको खोपी (गुँड) गाउँघरमा जसरी बनाउनपर्ने रहेछ,' उनले भने, 'यो पनि एक किसिमको सिकाइ भयो। यसरी नै त हामीले धेरै कुरा जान्ने बुझ्ने हौं।'
प्राध्यापक चेम्जोङ पछिल्लो समय विभाग सुधारका विभिन्न उपाय लगाइरहेका छन्। यहाँका पूर्वाधार समयअनुसार परिमार्जन र परिस्कृत हुन जरूरी भएको उनको बुझाइ छ।
त्रिवि देशकै जेठो र ठूलो विश्वविद्यालय मात्र होइन, हाम्रो प्राज्ञिक क्षेत्र कस्तो छ भनेर हेर्न आउनेलाई देखाउने थलो पनि हो। यसको भौतिक सुधार जिम्मा स्वयं विश्वविद्यालय र मातहतका विभागको हो। पठनपाठन, पाठ्यक्रम विकास, जनशक्ति निर्माण लगायत विभागीय जिम्मेवारीभित्रै पर्छ।
यही मध्यनजर गर्दै विभागमा बगैंचा, बोटबिरुवा संरक्षणदेखि घाँस काट्ने, बर्खाको पानी कटाउन नाला र कक्षाकोठासम्म पुग्ने बाटो निर्माणाधीन छ। सवारी पार्किङ र साइकल स्ट्यान्ड व्यवस्था गरिएको छ। स्वच्छ खानेपानी उपलब्ध छ। कक्षाकोठामा फेरिएका डेस्कबेन्च लोभैलाग्दा छन्। झ्यालका पर्दा नयाँ छन्। जाडोमा न्यानो र गर्मीमा शितल वातावरण तयार हुँदैछ।
प्राविधिक र इन्टरनेटमा आधारित पढाइसमेत हुन थालेको चेम्जोङले बताए।
'पाँच हजार थेसिस संकलन र संरक्षण गरिरहेका छौं। दुवै विभाग लक्षित बृहत् पुस्तकालय, इ–लाइब्रेरी हब, पढ्ने, छलफल गर्ने ठाउँ बनिरहेको छ,' फेरिँदै गएको विभागीय परिपाटी बताउँदै प्राध्यापक चेम्जोङ भन्छन्, 'विद्यार्थी आएर पढ्न, हेर्न, पेपर तयार गर्न पाउँछन्। अन्तर्राष्ट्रिय जर्नल अनलाइनमै हेर्नेछन्। पठन सामग्री खोज्न विद्यार्थी परिसरबाहिर जानु नपरोस् भन्ने हाम्रो योजना छ।'
विश्वविद्यालयको शैक्षिक अवस्था बुझ्न बाह्य आवरणको भूमिका उल्लेख्य हुन्छ। ज्ञान निर्माण, वितरण र सिक्ने, सिकाउने थलो स्वच्छ, सफा, रमणीय, हराभरा हुनु अत्यावश्यक छ। जबसम्म बाहिरी परिवेश आकर्षक हुँदैन, तबसम्म ज्ञान निर्माण, उत्पादन र वितरण अपूरो हुन्छ। दिनेले दिए पनि लिनेले लिन सक्दैन।
समाजशास्त्र–मानवशास्त्र विभागले थालेका कामबारे अरू विभागलाई पनि जानकारी छ। उनीहरूमध्ये कसैबाट सुधारको प्रयास भने भएको छैन।
त्यसो त यी दुई विभागले मिलेर काम गर्न बाँकी विभागलाई निम्तो दिएका पनि छैनन्। न कसरी राम्रो पार्न सकिएला भनेर सुझावै लिएका छन्। बरू आफ्नो श्रोत र साधनले भ्याएसम्म आफैं खटिएका छन्।
आफू बसेको घरआँगन आफैं सफा राख्नुपर्ने प्राध्यापक चेम्जोङ बताउँछन्। कसरी सफा गरौं भनेर कसैलाई सोध्न उनी आवश्यक ठान्दैनन्।
'वरिपरिको वातावरण आफैं सफा गर्ने हो। सबैले आफ्नो विभाग आफैं व्यवस्थित गरे राम्रो सन्देश जान्छ,' चेम्जोङ आशा गर्छन्, 'अन्य विभागले पनि सफा गरेर समग्र त्रिवि सुधारिएको हेर्न मन छ। अब वातावरण यस्तो पारौं कसैलाई बिगार्न, फोहोर पार्न लाज लागोस्।'
यो पनि पढ्नुस्ः हेरूँ हेरूँ लाग्ने भयो त्रिविको विभाग