कथा–कहानी भन्ने सबभन्दा सशक्त माध्यम हो सिनेमा। यसमा मान्छेका पाँचै इन्द्रीय जगाउने र कथा जीवन्त बनाउने शक्ति छ। हरेक दर्शकले पर्दामा देखिने कहानीमा आफ्नो निजी सम्बन्ध खोज्छ र भेट्छ।
यस्तै विशेषताबाट प्रभावित बलिउड निर्देशक प्रकाश झाले वृत्तचित्र र सिनेमामार्फत कहानी भन्न थालेको ४५ वर्ष भयो। 'हिपहिप हुर्रे', 'दामुल', 'परिणति', 'मृत्युदण्ड', 'गंगाजल', 'आरक्षण', 'राजनीति'जस्ता सिनेमाबाट उनले प्रशंसा र पुरस्कार पाएका छन्। यो उनका कहानी दर्शक-समीक्षकले रुचाएका प्रमाण हुन्।
कहानी सुनाउन हुरूक्कै हुने झाको संघर्ष, सोच र काम गर्ने शैली आफैं कहानीभन्दा कम छैन। १३ देखि १७ फेब्रुअरीसम्म सञ्चालन भइरहेको नेपाल इन्टरनेसनल फिल्म फेस्टिबल (निफ) ले प्रकाश झाका कहानीलाई काठमाडौंमै प्रत्यक्ष सुन्ने मौका जुराइदियो।
४० देशका ८० सिनेमा प्रदर्शन हुने महोत्सवमा उनी निर्णायक(जुरी)को भूमिकामा काठमाडौं आइपुगेका हुन्।
र्याडिसन होटलमा भएको भेटमा काठमाडौं घुमाइको अनुभव साट्दै झाले भने, 'सोचेको थिइनँ, काठमाडौं यति घना र ठूलो सहर होला। सानो ठाउँ सोचेको थिएँ, महानगर रहेछ।'
पहिलो पटक काठमाडौं आएका झाले पशुपतिनाथ र बौद्धलगायत ठाउँ घुम्न भ्याइसकेछन्। ती ठाउँ घुम्दा मान्छेको धर्म-परम्पराप्रतिको बलियो आस्था महशुस गरेको अनुभूति साटे।
काठमाडौं पहिलो पटक आए पनि झा बाल्यकालदेखि नै नेपाल र नेपालीसँग परिचित छन्। उनको जन्मस्थल चम्पारन, बेतिया गाउँ नेपाल सीमानजिकै पर्छ। खुला सीमा भएकाले सानोमा भैंसी, बाख्रा चराउन धेरै पटक सीमा वारपार गरेको बताए।
भने, 'धेरै पटक कलम वा क्यामराजस्ता चाइनिज सामान किन्न वीरगञ्ज गइन्थ्यो।' उनको गाउँ बेतिया त्यही ठाउँ हो, जहाँ विपी कोइरालाले आफ्नो निर्वासनको केही समय बिताएको 'आत्मवृतान्त'मा लेखेका छन्।
'दामुल'जस्तो गम्भीर सिनेमामा दर्शक कम भए पनि 'गंगाजल', 'आरक्षण' र 'राजनीति' हेरेर नेपाली दर्शकले आफूलाई चिनेकोमा उनी मख्ख देखिन्थे।
उनी के कम, निफमा समावेश केही नेपाली सिनेमा हेरेपछि थोरबहुत भन्नसक्ने भइसकेका छन्। 'छक्का-पन्जा'ले १५ करोड कमाएकोदेखि नेपालमा वर्षमा सयभन्दा बढी सिनेमा बन्ने तर थोरैले लगानी उठाउने कुरा सुनाउँदै भने, 'हैन त?'
विनोद पौडेल निर्देशित 'बुलबुल'लाई उनी 'कम्पिटेन्ट' फिल्म भन्छन्।
नेपालका केही किस्सा सुनाइसेकपछि उनी आफ्नै जीवनमा फर्किए, 'सानैदेखि केही फरक गर्नुपर्छ भन्ने सोच थियो, आज पनि त्यही सोचेर हिँडिरहेको छु। मजा आइरहेछ।'
बिहारको ग्रामीण परिवेशमा जन्मेका र सैनिक स्कुल पढेका झाको कला र सिनेमासँग कुनै साइनो थिएन। औपचारिक पढाइ सकेर बिहारका धेरै युवा झैं उनका आमाबुवामा पनि छोराले सरकारी सेवा प्रवेश गरोस् भन्ने चाहना थियो। तर दिल्ली युनिभर्सिटीमा फिजिक्स बिएससी पढ्दापढ्दै उनलाई पेन्टिङ पढ्ने धून पलायो। उनी जेजे स्कुल अफ आर्टसमा भर्ना हुन मुम्बई पुगे।
संयोगले 'धर्मा' (सन् १९७३) को सुटिङस्थल पुगे। उनको रहरले फेरि काँचुली फेर्यो। निर्देशक चाँदको सिनेमा 'धर्मा'मा रेखा, नवीन निश्चल, प्राणजस्ता कलाकारलाई नजिकै देखेपछि उनी हेरेको-हेर्यै भए।
'झन्डै पचास वर्ष पुरानो त्यो माहोल आज पनि भुल्न सकेको छुइनँ।'
त्यो रात उनले अबेरसम्म मुम्बई, जुहुको सन एन्ड स्यान्ड होटलमा भएको छायांकन हेरे। उनी भन्छन्, 'त्यहीँ मैले निर्णय गरेँ, अब पेन्टिङ हैन फिल्ममा लाग्छु।'
'अचानक त्यस्तो के भयो त?'
'सिनेमामा पेन्टिङ, नाटक, ध्वनि, संगीत, पहिरनदेखि प्रविधि र विज्ञान सबै मिसिएको महशुस गरेँ, पूर्ण लाग्यो,' उनले भने।
उनको रूचिका कारण केही दिन सहायकको काम पनि पाए। तर त्यहाँ दस वर्षभन्दा पुराना सहायक देखेपछि त्यहीँ फस्ने डरले उम्किए। उनलाई अरूको अधीनमा होइन, आफैं केही गर्नु थियो। उनका पाइला पुनेस्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटतिर मोडिए।
सन् १९७३-७४ को समय हो। डेबिड धवन, विनोद प्रधान, विधु विनोद चोपडा, नसरूद्दीन शाह, ओम पुरी, केतन मेहता, कुन्दन शाह, सइद मिर्जाजस्ता विद्यार्थी भएको उनको ब्याच एफटिटीआइकै सर्वोत्कृष्ट मानिन्छ। उनीहरूमध्ये कोही अभिनय, कोही क्यामरा, कोही निर्देशनतिर थिए।
झाले भने फिल्म सम्पादन विधि अध्ययन गरे। दृश्य भाषाको व्याकरण, प्रविधि र त्यसलाई अभिव्यक्त गर्ने तरिकाको यो उनको पहिलो सिकाइ थियो।
त्यसपछि जीविका चलाउन र काम सिक्न उनले वृत्तचित्र बनाए। 'अन्डर द ब्लु (१९७५)' उनको पहिलो वृत्तचित्र हो। १९८१ सम्म उनले धेरै ठाउँ यात्रा गरेर वृत्तचित्र बनाए। यसक्रममा भारतका गाउँ सहरबाहेक उनी जर्मनी, फ्रान्स, बेलायत, रुससम्मै पुगे। स्वतन्त्र रूपमा क्यामरा र कलम चलाउँदा विषयवस्तु र सामाजिक मुद्दालाई हेर्ने उनको दृष्टिकोण तिखारियो।
उनका अनुसार, बिहारीहरू आधारभूत रूपमै राजनीतिक विचारधारासँग नजिक हुन्छन्। उनमा पनि यो गुण थियो। विचारधारालाई दृश्य माध्यमबाट देखाउने मामिलामा उनी गम्भीर थिए। त्यो गम्भीरता उनले १९८१ मा आफ्नै राज्यमा भएको बिहारशरिफ दंगामा आधारित वृत्तचित्र 'फेसेज आफ्टर स्टर्म'बाट देखाए। केही दिन प्रतिबन्धित यो वृत्तचित्रका लागि उनले राष्ट्रिय अवार्ड जिते।
१९८४ मा 'हिपहिप हुर्रे'बाट फिचर फिल्ममा हात हालेका उनको दोस्रो सिनेमा 'दामुल'मा बिहारी समाजको सामन्ती प्रथा र जातीय दलनको विषय उठाए। 'दामुल'ले बौद्धिक समूहको प्रशंसासँगै राष्ट्रिय पुरस्कार दिलायो।
उनले चर्चा पाएपछि उनकै घरकी काम गर्ने ललिताले पनि उनको सिनेमा हेर्न उत्साहित बनिन्। सिनेमा हेरेपछि उनले दिएको प्रतिक्रियाले भने झालाई आफ्नो सिनेमा बनाउने शैलीमा हेरफेर गर्न बाध्य बनायो।
ललिताले भनेकी थिइन्, 'अर्को पटक फिल्म नै बनाउनू है।'
झाले जोड दिँदै भने, 'दामुलकै शैलीमा अडिएको भए आज यति धेरै दर्शकले सायदै मेरो सिनेमा हेरेका हुन्थे। ललिताबाइको कुरापछि मैले मनन गरेँ, प्योर आर्ट फर्मले मात्रै मेरो फिल्म धेरैले बुझ्दैनन्।'
त्यसपछि 'परिणति' हुँदै 'बन्दिश' र 'मृत्युदण्ड'सम्म आइपुग्न उनलाई केही वर्ष लाग्यो। माधुरी दीक्षितको मुख्य भूमिका भएको झाको चर्चित सिनेमा 'मृत्युदण्ड' व्यवसायिक सूत्र खोज्ने सुरूआती प्रयास थियो, जसमा उनी सफल भए। त्यसयता उनी निरन्तर आफ्नो सिनेमामा मनोरञ्जन र बौद्धिकताको सन्तुलन मिलाउन खोजिरहेका छन्।
अहिले सबै खालको फिल्म चलिरहेछ। त्यो बेला उनले आफैंलाई प्रिय लाग्ने 'दामुल' र 'परिणति'जस्ता सिनेमा र दर्शकका बुझाइ-रोजाइमा 'ग्याप' महशुस गरे।
'न्युटन', 'आँखो देखी', 'बधाइ हो', 'मसान'जस्ता फिल्मले दर्शक र समीक्षक दुवैबाट माया पाए। आयुष्मान खुराना, बिक्की कौशल, राजकुमार राव जस्ता अभिनेताको माग छ। कला र व्यवसायिक पक्षको संयोजन, विषय र प्रस्तुतिमा सन्तुलनले धेरै खाले सिनेमाले दर्शक पाइरहेका छन्। तर ८० दशक मध्यतिर झालाई आफ्नो प्रयोगका लागि पर्याप्त बजार थिएन।
उनले बजारसम्म पुग्ने र आफैंलाई परिमार्जन गर्ने जोखिम मोले। 'बन्दिश'मा असफल भए पनि 'मृत्युदण्ड'ले काम गर्यो। त्यसयता उनी निरन्तर यस्तै जोखिम मोलेर सिनेमा बनाइरहेका छन्।
उनलाई सधैं डर हुन्छ– यथार्थ घटना र पात्रमा नाटकीयपन बढी भएर 'वास्तविक तत्व' हराउने हो कि! यथार्थ बढी भएर दर्शकलाई अपाच्य हुने पो हो कि!
सिनेमाको अन्तर्वस्तु र प्रस्तुतिमा सन्तुलन मिलाउनुपर्छ भन्नेमा जोड दिएका उनलाई सोधियो, 'त्यसोभए तपाईंका लागि सिनेमा बिजनेस हो?'
'सिनेमा मात्रै किन, बाँच्नु पनि बिजनेस हो,' उनले भने।
यथार्थलाई आख्यानमा ढालेर 'न्यारेटिभ' बनाउनु चुनौतीपूर्ण प्रक्रिया हो, यसमा झा रमाउँछन्।
'सिनेमा आममान्छेमा पुग्ने माध्यम हो। यो माध्यमबाट तपाईंले त्यसरी नै कुरा गर्नुस् जुन सबैले बुझून्,' भने, 'यो काम सजिलो छैन। यसका लागि वर्षौं मेहनत गर्नुपर्छ।'
पटकथा आफैं लेख्ने उनलाई 'गंगाजल'को कहानी लेख्न सात वर्ष लाग्यो। 'राजनीति' लेख्न करिब पाँच वर्ष बिताए। उनी आममान्छेको जीवनमा, अन्तर्राष्ट्रियदेखि स्थानीय घटनाबीच अन्तर्सम्बन्ध देख्छन्। अर्थनीतिदेखि राजनीतिले सर्वसाधारणको जीवनमा पारेको प्रभाव केलाउँछन्, अनि कहानी बनाउँछन्। कहानी बनाउँदा मनोरञ्जन र बौद्धिक रस दुवै होस् भन्ने उनको उद्देश्य हुन्छ। यही विशेषताका कारण उनी क्लास र मास दर्शकलाई मनपर्ने सिनेमा बनाउन सफल छन्।
पटक-पटक राष्ट्रिय अवार्ड पाइसकेका अनुभवी निर्देशकले गत शनिबार राष्ट्रिय सभा गृहमा 'मास्टर क्लास' पनि दिए।
'सिनेमाले समाज बदल्दैन, बदलिइरहेको समाजको कहानी भन्छ। तपाईंहरू पनि गणतन्त्र र भूकम्पपछि मान्छेको जीवनमा पारेको प्रभावको कहानी खोज्नुस् र फिल्म बनाउनुस्,' उनले भने, 'समाजमा के परिवर्तन भइरहेछ? किन भइरहेछ? त्यसको कहानी के हो?, हो त्यही कहानी बाँड्न मलाई मजा लाग्छ।'
दजैनौं वृत्तचित्र र सिनेमा बनाइसकेका उनका लागि नयाँ कहानी खोज्ने स्रोत समाज नै हो।
'समाजसँगै कहानीको विषय बदलिन्छ, नयाँ मुद्दा आउँछ। फिल्ममेकरको काम नै नयाँ कहानी खोज्ने हो,' उनले थपे।
झामा अझै नयाँ कुरा खोज्ने गजबको हुटहुटी छ। सफल छन्, मात्तिएका छैनन्। काला जुँगा र कपाल सेतो रंगमा झन्डै बदलिइसकेको उनी यही फेब्रुअरी २७ मा ६८ वर्ष पुग्दैछन्। न आत्तिएका छन्, न थाकेका देखिन्छन्।
उल्टै सुनाए, 'हरेक सुटिङको दिन लाग्छ, मेरो पहिलो दिन हो। पात्र, संगीत, कस्ट्युम सबैबारे चिन्ता लाग्छ। डर लाग्छ, तर त्योभन्दा बढी आनन्द आउँछ। हरेक पटक जिरोबाट सुरू गरेझैं हुन्छ।'
आफ्ना फिल्मलाई समाजको प्रतिविम्ब भन्न रुचाउने उनी समाजका परिवर्तनको हिसाब-किताब राख्छन् रे। उनी यिनै कुराहरूमा कहानी देख्छन्।
उनले भने, 'मसँग समय धेरै बाँकी नहोला, तर देखाउन मन लागेका कहानी धेरै छन्।'