काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा ढल व्यवस्थापन मुख्य समस्या बन्दै छ। नदी तथा पर्यावरण प्रदूषित बनाउने मात्र होइन सहरी सौन्दर्यमा यसले कमी ल्याएको छ।
ढल मिसिएकै कारण बागमती लगायत नदी 'ढलमती' बनिरहेको हामीले देखेकै छौं। यस्तो अवस्थामा समाधान के होला भन्ने प्रश्न उठ्छ।
काठमाडौं, रत्नपार्कको सार्वजनिक शौचालयले यसको जवाफ दिइरहेको छ।
केही समयअघि सार्वजनिक शौचालय भनेपछि मान्छेहरू परैबाट नाक थुन्थे। त्यसमाथि रत्नपार्क क्षेत्रमा शौचालय कता छ भनेर त गन्धबाटै थाहा हुन्थ्यो। अहिले यहाँका शौचालय सफा छन्। महिला र अपांगता भएकाहरूका निम्ति अलि सहज छन्। व्यवस्थित पनि देखिन्छन्।
'हामीले केही रसायन प्रयोग नगरी नै शौचालय सफा राख्ने प्रयास गरेका छौं,' तीन वर्षदेखि शौचालय रेखदेख गर्दै आएकी मनमाया खत्रीले सेतोपाटीसँग भनिन्, 'शौचपछि पानी र साबुनको व्यवस्था छ।'
वीर अस्पतालको पूर्वपट्टिको यो शौचालय दुई वर्षअघिसम्म दिसाको थुप्रै थियो। छेउछाउ हिँड्नै नसकिने। परपरसम्म दुर्गन्ध पुग्थ्यो। काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय स्तरोउन्नतिको कदम चालेसँगै रत्नपार्क आसपासका शौचालय व्यवस्थित बनेका हुन्।
अहिले मनमायाले भनेजस्तै शौचालय सफा देखिन्छ। शौचालयको भित्तामा तीन वर्ष पहिलेको फोहोरी अवस्था र सुधार भएपछिको अवस्था झल्किनेगरी तस्वीर समेत देख्न सकिन्छ।
अपांगता भएकाहरूले सकस बिनै शौचालय प्रयोग गर्न सक्छन् भने महिलाहरूले अचानक महिनावारी भइहाले कता जाने, कसो गर्ने भनेर छटपटिन पर्दैन। शौच गरेपछि पैसा बुझाउने ठाउँमै प्याड बेच्न राखिएको छ।
महानगरपालिका, रत्नपार्क गुठी संस्था र एरोसान क्यानडाको आर्थिक र प्राविधिक सहयोगमा यो शौचालय सुधार भएको हो।
पुरानो बसपार्क आडैमा रहेको शौचालयको छानामा हावा सफा राख्न 'टर्बो फ्यान' घुमिरहन्छ। यसले दुर्गन्ध सजिलै हटाउने गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य बताउँछन्। भेन्टिलेसन, स्वचालित बत्ती, पानी, ऐना लगायत सुविधा मिलाएकोले प्रयोगकर्ता बढेका छन्। अझ महिलाको संख्या उल्लेख्य रहेको उनले बताए।
'शारीरिक सरसफाइमा पानी धेरै खर्च हुने कारण देखाएर महिला शौचालय फोहोरै राखिने र प्रयोगविहीन पाइयो,' अमात्यले भने, 'प्रयोग भएको प्याड राख्ने भाँडो, नयाँ प्याड, पानी, ऐना राखेपछि महिला प्रयोगकर्ता ४६ प्रतिशत पुगेका छन्।'
विद्यार्थी, सर्वसाधारण, फुटपाथ व्यापारी, ट्याक्सी चालक, भरिया आदि शौचालय प्रयोगकर्ता भएको मनमायाले बताइन्। अहिले दैनिक एक हजार जनाभन्दा बढिले सो शौचालय प्रयोग गर्दै आएका छन्।
यति व्यवस्थापन मात्रै सुधारको संकेत भने होइन। शौचालयमा परीक्षण भइरहेको बायोग्यास प्रविधि पनि विशेष छ। यही परीक्षणको नतिजाले यसलाई अन्य सार्वजनिक शौचालयभन्दा राम्रो र पर्यावरणमैत्री बनाएको सल्लाहकार अमात्य बताउँछन्।
मानव मलमूत्रबाट मात्रै ग्यास उत्पादन हुने यो नेपालकै पहिलो शौचालय भएको उनको दाबी छ।
'मानव मलमूत्रबाट मात्रै ग्यास उत्पादन सम्भव छैन भनेर धेरैले हतोत्साहित गरेका थिए। तर हामीले त्यसको जवाफ दिएका छौं,' सल्लाहकार अमात्यले भने, 'यसरी ग्यास उत्पादन हुने यो नेपालकै पहिलो नमूना र वातावरणमैत्री शौचालय हो।'
उनका अनुसार बटुवालाई समेत दिक्क पार्ने दुर्गन्ध इन्धनमा रूपान्तरण भएको छ। शौचालयबाट जाने दिशा र पिसाब नै ग्यास उत्पादनको श्रोत हो। शौचालयको मलमुत्रबाट अहिले मासिक २ सिलिन्डर बराबर ग्यास उत्पादन भइरहेको अमात्यले जानकारी दिए।
उत्पादित ग्यास के गरिन्छ?
मानव मलमूत्रबाट उत्पादित ग्यास चिया पकाउन खपत भइरहेको अमात्य बताउँछन्। शौचालय व्यस्थापनका साथै बायो ग्यासको जिम्मा पनि मनमाया खत्रीकै दम्पतीले लिएका छन्।
'दुई वर्षदेखि हामी यो ग्यास चलाइरहेका छौं,' मनमायाले भनिन्, 'बिहान-बेलुका गरेर २ सय कप चिया पकाइरहेको छु। धेरैजसो चिया यही ग्यासबाटै पाक्छ।'
उनका अनुसार जाडो याममा घाम नलाग्दा दिनमा 'पावर' अलि कम हुन्छ। गर्मी महिनाभरी मनग्य बल्छ।
मलमूत्रलाई ग्यासमा परिणत कसरी गरिन्छ?
यसमा सेप्टिक ट्यांकीभित्र रहेका असंख्य किराको मुख्य भूमिका रहन्छ। बायोग्यास निकाल्ने प्रविधिमा शौचालयमा किटनाशक रसायन, फिनाइल, हर्पिक, साबुन पानी जस्ता पदार्थ हालेर सफा गर्न हुँदैन। कडा रसायनले मात्र होइन, चुरोट, खरानी र सुर्तीले समेत ट्यांकीका ती किटाणु नष्ट गर्छ। यसले ग्यास उत्पादनमा असर पुर्याउँछ।
रसायन लगायतका कुरा आफूहरूले निषेध गरे पनि शौचालयभित्र चुरोट र सुर्ती रोक्न नसकेको खत्री गुनासो गर्छिन्।
'चुरोट-सुर्तीले किटाणु मारिरहेको हुन्छ, जुन ग्यास निकाल्न चाहिन्छ। तर शौचालय भित्र ती कुरा पूर्ण निषेध गर्न सकिरहेका छैनौं। नत्र ग्यास अझै धेरै बल्न सक्थ्यो,' उनले भनिन्।
रत्नपार्क आसपास चार वटा सार्वजनिक शौचालय छन्। तर 'एरोसान हब' नामको विधि प्रयोग गरिएको एक मात्र बायोग्यास उत्पादन गर्ने शौचालय भएको गुठीका प्राविधिक सल्लाहकार अमात्यले बताए।
यो विधिलाई संस्थाले सफल परीक्षणका रूपमा लिएको छ। यसमा अझै सुधारेर स्मार्ट शौचालयका रूपमा विकास गर्दै लैजाने योजना रहेको उनी बताउँछन्।
'सामान्य सुधार गर्दा मात्रै धेरैपक्षलाई फाइदा पुग्ने रहेछ। एउटा शौचालय परिवर्तनको उदाहरण बनेको छ,' अमात्यले भने, 'यस किसिमको योजना अन्त पनि अघि सारेका छौं। जानकारी आएअनुसार लगनखेल र मंगलबजारमा पनि बन्दै छ।'
'सहरी सेवा केन्द्र'का रूपमा सञ्चालित शौचालयमा महिला, पुरुष र अपांगतामैत्री समेत गरी जम्मा आठ कोठा छन्। २०७४, मंसिर ४ गते काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले ग्यास उत्पादन प्रविधि उद्घाटन गरेका थिए।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी