२०७२, वैशाख १२ गते। समय ११ः५६।
भुइँचालोको झट्काले गाउँ मच्चिँदा सिन्धुपाल्चोकका कृष्णबहादुर माझी रूखको टुप्पामा थिए।
वस्तुभाउलाई सोत्तर काट्न उक्लिएका मेलम्चीका कृष्णबहादुरले अन्ततः गाउँ नै सोत्तर भएको त्यही रुखबाट कहालिँदै हेरे।
'भुइँचालो जाँदा रूख चढेको थिएँ। हल्लाउन थालिहाल्यो। झरेर भागौं कि, हाँगा समातेर बसौं, सोच्दासोच्दै यता घरहरू लडेर धुँवाधुँवा भए। कोही रुवाबासी गर्न थाले। कोही बालबच्चा खोज्न थाले,' त्यो दिनको त्रासदी सम्झिँदै उनी भन्छन्, 'श्रीमतीको खुट्टामा चोट लाग्यो, भाइको जहान र चार वर्षकी छोरी घरभित्रै पुरिएर मरे। आफन्तभित्र नै पाँच जना परे।'
फट्केश्वर–मेलम्चीको सडकखण्डमा टिपर चलाउँदै आएका सञ्जय माझी त्यस दिन घरै थिए। खाना खाएर टहलिन पनि भ्याएका थिएनन्, घर्याकघुरूक्क आवाजसाथ घर हल्लिन थाल्यो। जीवनमा त्यस्तो कम्पन नबेहोरेका उनी आफ्नो घर ढल्दाको साक्षी आफैं भए।
घर मात्रै ढलेन, परिवार पनि पुरिए। भाग्न सक्ने ठाउँमा भएकाहरू भागे। नातिनी लिन आत्तिँदै दौडिएका उनका बाबु भत्किएको घरमै परे। सञ्जयकी छोरी बाँचिन्, बुवालाई भुइँचालोले लग्यो। प्रकृति र आफ्नै जीवनमा एकसाथ आएको महाप्रलय सम्झँदा सञ्जयलाई अहिले पनि सपनाजस्तो लाग्छ।
'घर मात्रै भत्किएन, बुवा पनि पर्नुभयो। बंगुरबाख्रा, अन्न–खाद्य सबै पुरियो। एकाएक हामी बगरमा आइपुगेका थियौं,' २६ वर्षीय सञ्जय त्यो दिनको घटना सम्झँदै विस्तार लगाउँछन्।
कुहिरीमण्डल धूलो। सबै घर ढलेका। अन्नपात माटोमा मिलेका, वस्तुभाउ छटपटाउँदै मरेका। जताततै चित्कार र रोदन।
२०७२ वैशाख २९ गते फेरि झट्का बेहोरेपछि सिन्धुपाल्चोक पूर्णतः खण्डहर बन्यो। सदरमुकाम र बजारमा एकाध घरमात्रै सग्ला देखिए। अधिकांश स्कुल, स्वास्थ्य–उपस्वास्थ्य चौकी, सामुदायिक भवन, गाविस भवन माटो भए।
तीन-चार पुस्ताको कमाइ बनेर उभिएको घर एकै झट्कामा धूलोमाटो हुँदा स्थानीयको बिल्लीवाठ भइहाल्यो।
सञ्जय भुइँचालोपछिको अवस्था चित्रण गर्दै भन्छन्, 'मलाई त फेरि घर बनाउन सकिएला, गाउँमा मान्छे पक्की घरमा बस्लान् भन्ने लागेकै थिएन। सबै एकैनासे पालमा थिए।'
देशै आपतमा परेकाले सहयोगी हात बढे। अन्न समेत गुमाएका सिन्धुपाल्चोकवासीले पनि उद्धार र राहत पाए।
अर्को मुख्य आवश्यकता थियो, बास।
सुरूमा संघसंस्थाले पाल मात्र मिलाइदिएका थिए। पछि स्रोत र सामर्थ्य भएका संस्थाले आवासकै अवधारणा अघि सारे। सरकारले पनि पुनर्निर्माण प्राधिकरणको अवधारणा ल्यायो। संविधान निर्माण समय भएकाले त्यही बेला ऐन जारी हुन सकेन। यसको झन्डै डेढ वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भयो।
त्यसअघि संघसंस्थाहरूको पहलमा भुइँचालो पीडितका केही आवास बन्न थालिसकेको थियो। सिन्धुपाल्चोक इन्द्रावती किनारका विपन्न माझी समुदायका लागि 'थाइ नेपाली समाज' सहयोगी बन्यो। समाजले ४६ धुरी बनाइदियो, जसलाई माझी समुदाय जिल्लाकै नमूना र एकीकृत आवासको दर्जा दिन्छन्।
भुइँचालोलगत्तै कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले पनि आवास निर्माणको पहल गरे। उनीहरूको पहलमा काभ्रेको डाँडागाउँमा २० घर पहरी समुदायका लागि आवास बन्यो। योसँगै उनीहरूले एकीकृत (नमुना) बस्ती विकासको अवधारणा अघि सारे।
कट्टेल दम्पत्तिले सिन्धुपाल्चोकै गिरानचौरमा दोस्रो सामूहिक बस्ती बनाए। धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा बनेको एकीकृत बस्तीबाट ५४ घर विपन्न तामाङ समुदाय लाभान्वित भए।
गिरानचौरमा ३ कोठे पक्की घरहरू, सामुदायिक भवन, केटाकेटीका लागि खेलस्थल छ। एक घरको करिब आठ लाख लागत परेको स्थानीय बताउँछन्।
उता पीडितको श्रमदान र संस्थाको केही सहायतामा बनेको इन्द्रावती तटीय क्षेत्रका माझी बस्तीका घर भने एककोठे छन्। एककोठे घरमै परिवारका १० सदस्यसम्म बसेका छन्।
'हामीले त्यही वर्ष घर पायौं, यसमै गुजारा भइरहेको छ। खुसी नै छौं,' स्थानीय माझी भन्छन्।
भुइँचालोले छाडेको धूलो सिन्धुपाल्चोकबाट उड्दै गयो।
नमुना माझी गाउँ र गिरानचौर एकीकृत बस्तीकै सिको गरेर जिल्लामा धमाधम सामूहिक आवास बनिरहेका छन्। विभिन्न ठाउँमा बनेका एकीकृत बस्तीलाई वल्लोपल्लो डाँडाबाट छर्लंग देख्न र ठम्याउन सकिन्छ।
सिन्धुपाल्चोक धेरै क्षतिग्रस्त हुनु र समयमै उभिन नसक्नुको मुख्य कारण थियो, अव्यवस्थित बसोबास। डाँडा टाकुरामा छरिएका बस्ती। बाटोघाटो अभाव। भत्किएर छरिएका घरमा समयमै उद्धारकर्ता पुग्न नसक्नाले मानवीय क्षति पनि बढेको पाइएको थियो। एकीकृत बस्ती विकासका अवधारणा यस्तै समस्याले सिर्जना गरेको हो।
समुदायको निजी पहलमा गिरानचौरमै अर्को सामूहिक बस्ती ठडिँदैछ। मेलम्ची नगरपालिका–१२ बाँसबारीको थाक्लेमा पनि सामूहिक आवास बनिरहेको छ। र, निर्माण सक्ने अन्तिम चरणमा छ।
जिल्लाकै उपल्लो भेग, हेलम्बु गाउँपालिकामा, नोर्बुलिङमा एकीकृत बस्ती निर्माणाधीन छ। स्थानीयले नै पहल गरेको बस्ती निर्माणको मध्य चरणमा छ।
ढिलै भए पनि पक्की घर बन्न लागेको भन्दै ६७ वर्षीया डोल्मा ह्योल्मोले खुसी व्यक्त गरिन्। भुइँचालोले ढलाएको घर बन्ने भएपछि उनी यो उमेरमा पनि दिनरात खटिएकी छन्।
'आफू एक्लै, चार वर्षसम्म आँटै आएन,' खुसी हुँदै डोल्माले सेतोपाटीसँग भनिन् 'अहिले सबैले सघाएका छन्। घर बन्ने भयो।'
सिन्धुपाल्चोकको पुनर्निर्माणलाई जिल्लाका विभिन्न स्थानमा बनेका एकीकृत बस्तीले थप सहयोग गरेको छ। छरिएका बस्ती एकत्रित गर्ने र पूर्वाधार पुर्याउन सकिने हुँदा प्राधिकरणले एकीकृत बस्ती प्राथमिकतामा राखेको छ। निर्माणमा सहुलियत पनि दिएको छ।
गत साल हिउँदमा सिन्धुपाल्चोक खण्डहर प्रायः देखिन्थ्यो। यो वर्ष हिउँद नसकिँदै अधिकांश पीडितले सरकारसँग अनुदान लिएर घर बनाएका छन्। बन्न बाँकी रहेकाले पनि दोस्रो किस्तावापत रकम बुझिसकेका छन्।
जिल्लामा न्यून आय भएका, घरै बनाउन नसक्ने, श्रम दान गर्न नसक्ने परिवार पनि रहेको तथ्यांकले देखाएको छ। यस्तोमा प्राधिकरणले विशेष टोली खटाउने तयारी गरेको प्राधिकरण प्रमुख सुशील ज्ञवालीले जानकारी दिएका छन्।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएका प्रभावित जिल्लाका १४ परिवारका लागि विशेष सहयोगार्थ टोली परिचालन गरिँदैछ।
एकल महिला, अपांगता भएका, वृद्धवृद्धाहरूलाई प्राधिकरण आफैंले घर बनाइदिने भएपछि सिन्धुपाल्चोकमा शतप्रतिशत घर उभिने प्राधिकरणको विश्वास छ।
निजी आवास बनाउन सरकारले तीन किस्ता गरेर तीन लाख रूपैयाँ अनुदान दिन्छ। यो लागतमा सरकारी मापदण्डअनुसार घर बन्न सम्भव नभएको लाभग्राही बताउँछन्। ऋण लिएर भए पनि पीडितले आवास उभ्याएका भने छन्।
सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका– १० झ्याडीका माझी समुदायले टाउकामा चार–चार लाख ऋण बोकेर एकीकृत बस्ती बनाएका छन्। नायिका स्वेता खड्काले निर्माण घोषणा गरेको बस्तीमा माझी समुदाय बसोवास गर्न थालिसकेका छन्।
'सरकारले सहयोग गर्यो, आफ्नो पैसा पनि थपियो,' भर्खरै काम सकिएको घर देखाउँदै झ्याडी टोलका खम्बे माझीले सुनाए, 'घर बनाउन सकिएला जस्तो लागेकै थिएन। मिलेर गरे हुने रहेछ, क्षमता नै नभएकाको पनि समूहका कारण घर बनेको छ।'
पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा मात्रै ८८ हजार निजी घर भत्किएका थिए। ८४ हजार घर पुनर्निर्माण प्रक्रियामा सरिक भएकामध्ये ६८ हजार परिवार नयाँ घरमा सरिसकेका प्राधिकरणको तथ्यांक छ।
सबै तस्बिरः समीक्षा अधिकारी/सेतोपाटी